close

प्रोटोटाइप ब्याट्री राखिएको टेस्ला कारले सिङ्गल चार्जमै पुरा गर्‍यो १२१० किलोमिटर दूरी

टेकपाना टेकपाना

पुस २२, २०७८ १९:३४

प्रोटोटाइप ब्याट्री राखिएको टेस्ला कारले सिङ्गल चार्जमै पुरा गर्‍यो १२१० किलोमिटर दूरी

काठमाडौं । थर्डपार्टी कम्पनीको प्रोटोटाइप ब्याट्री राखिएको एउटा इलेक्ट्रिक कारले एक पटकको चार्जमा ७५२ माइल अर्थात् १२१० किलोमिटर भन्दा बढीको दूरी तय गरेको छ ।

उक्त ‘प्रुफ-अफ-कन्सेप्ट’ ब्याट्री अमेरिकामा रहेको ब्याट्री प्रविधि कम्पनी आवर नेक्स्ट इनर्जी (वन) ले तयार पारेको अटो एक्सप्रेसले उल्लेख गरेको छ । जसलाई टेस्ला मोडेल एसमा जडान गरेर परीक्षण गरिएको हो ।

अमेरिकाको सडकमा डिसेम्बर अन्तिमतिर औसत ५५ माइल प्रति घण्टा (८९ किलोमिटर प्रतिघण्टा) को स्पिडमा कुदाउँदा कारले ७५२ माइल दूरी तय गरेको बताइएको छ । वनले आफ्नो ब्याट्रीले विद्युतीय कारको रेञ्ज सम्बन्धी चिन्तालाई दूर गर्ने बताएको छ ।

कम्पनीको दाबीअनुसार हाई स्पीड ड्राइभिङ, प्रतिकूल मौसम, हिमाली भूबनोट आदिले विद्युतीय सवारीको रेञ्ज ३५ प्रतिशत कमी हुने गरेको छ । यसका लागि सार्वजनिक रूपमै चार्जिङ स्टेसन उपलब्ध हुनुको विकल्प हुँदैन ।

तर लाइनमा बस्नुपर्ने र विज्ञापन गरिएभन्दा स्लो चार्जिङ स्पिडले गर्दा ब्याट्री आंशिक रुपमा मात्रै चार्ज हुने वन कम्पनीको तर्क छ ।

हरेक २५० किलोमिटर दूरी पार गरेर ड्राइभरले रोकिनुपर्ने अवस्थामा चार्जिङ स्टेसनमा नरोकनै यात्रा पुरा गर्न लामो रेञ्ज प्रदान गर्ने ब्याट्री एकमात्र विकल्प भएको उसको विश्वास छ ।

वनका संस्थापक तथा सीईओ मुजीब इजाजले भनेका छन्, ‘हामी रेन्जको तनावलाई कम गर्दै विद्युतीय सवारी साधन अपनाउने प्रवृत्तिलाई बढावा दिन चाहन्छौँ, जसले अहिलेको अवस्थामा धेरैजसो ग्राहकलाई हिचकिचाउनुपर्ने बनाइ रहेको छ ।’

‘हामी प्रुफ-अफ-कन्सेप्ट ब्याट्रीलाई जेम्नी नामक नयाँ उत्पादनको रुपमा विकसित गर्ने विषयमा केन्द्रित छौँ । जसले सिङ्गल चार्जमै लामो दूरीको यात्रा सम्भव बनाउनेछ र दिगो सामग्रीको उपयोग हुने भएकाले मूल्य र सुरक्षामा समेत सुधार हुनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५