close

भारतमा साढे १० अर्ब रुपैयाँ कर छलीमा मुछियो साओमी, यस्तो छ कारण

टेकपाना टेकपाना

पुस २३, २०७८ १७:२८

भारतमा साढे १० अर्ब रुपैयाँ कर छलीमा मुछियो साओमी, यस्तो छ कारण

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमी भारतमा १० अर्ब भन्दा बढी कर छलीमा मुछिएको छ । 

भारतको डाइरेक्टोरेट अफ रेभिन्यू इन्टेलिजेन्स् (डीआरआई) ले गरेको अध्ययनबाट साओमी टेक्नोलोजी इन्डिया प्रा‍.लि. (साओमी इन्डिया) ले राजस्व छली गरेको फेला पारेको हो ।

भारतको अर्थ मन्त्रालयले साओमी इन्डियाले ६.५३ अर्ब भारु (१० अर्ब ४४ करोड ८० लाख रुपैयाँ) कर छली गरेको भन्दै सूचना जारी गरेको छ । यसअघि साओमी इन्डियाले भन्सार छली गरेको भनी जानकारी प्राप्त भएको भन्दै डीआरआईले अध्ययन सुरु गरेको थियो ।

साओमी इन्डियाको मुख्य कार्यालयसहितका अन्य स्थानमा छापा हानी त्यहाँबाट सङ्कलन गरिएको विभिन्न कागजातका आधारमा डीआरआईले राजश्व छली भएको सरकारी दाबी छ । 

डीआरआईका अनुसार साओमी इन्डियाले क्वाल्कम र बेइजिङस्थित साओमी मोबाइल सफ्टवेयर कम्पनीसँग भएको कारोबारमा रोयल्टी तथा अनुमति शुल्क थप नगरेको पाइएको हो ।

साओमीसँग सम्बन्धित अन्य कन्ट्याक्टर कम्पनीहरू पनि कर छलीमा मुछिएका छन् । ‘कारोबार रकममा रोयल्टी तथा अनुमति शुल्क थप नगरी सोओमीले मोबाइल तथा त्यसका लागि आवश्यक पार्टपुर्जा आयात गरिरहेको पाइएको छ,’ भारतको अर्थ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

उक्त सूचना अनुसार यो क्रम २०१७ अप्रिलदेखि नै चल्दै आएको थियो । सन् २०२२ को जुनसम्ममा साओमीले कूल ६.५३ बिलियन भारु भन्सार छलेको देखिएकाले थप कारबाही अघि बढाइएको मन्त्रालयको सूचनामा भनिएको छ । 

यो विषयमा साओमी इन्डियाले पनि सरकारले पठाएको पत्रको आधारमा आन्तरिक रुपमा अध्ययन भइरहेको जनाएको छ । साथै सरकारलाई यो अध्ययनमा थप कागजात उपलब्ध गराएर आवश्यक सहयोग समेत हुने दाबी कम्पनीले गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५