close

राष्ट्रिय परिचय पत्र लिएर ई–पासपोर्ट बनाउँदा जाँदा समस्या आयो ? यस्तो छ कारण

टेकपाना टेकपाना

पुस २४, २०७८ ११:४१

राष्ट्रिय परिचय पत्र लिएर ई–पासपोर्ट बनाउँदा जाँदा समस्या आयो ? यस्तो छ कारण

काठमाडौं । सरकारले ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै अहिले जिल्ला प्रशासन कार्यालयहरूमा सेवाग्राहीको चाप बढेको छ । विशेषगरी ई–पासपोर्ट बनाउन काठमाडौं आएका सेवाग्राहीहरू अहिले राष्ट्रिय परिचयपत्रको विवरण बुझाउन जिल्ला प्रशासन कार्यालय पुगिरहेका छन् ।

ई–पासपोर्ट बनाउन काठमाडौं आउने सेवाग्राहीलाई लक्षित गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय ललितपुर र नारायणी दरबार परिसरबाट राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गरेको छ । 

विभागका अनुसार बागमती प्रदेशका भक्तपुर र ललितपुरबाहेकका सबै जिल्लाका सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट परिचयपत्र बनाउन सक्नेछन् । तर, त्यसरी बनाइएका कतिपय राष्ट्रिय परिचयपत्रको विवरण ई–पासपोर्टको सिस्टममा नमिल्दा समस्या आउने गरेको पाइएको छ ।

राष्ट्रिय परिचय पत्र बनाएर राहदानी विभाग पुग्दा परिचयपत्रमा उल्लेख भएको विवरण नमिलेको भनी धेरै सेवाग्राही फर्किनु परेको पाइएको छ । 

‘राष्ट्रिय परिचयपत्र लिन प्रक्रिया छ,’ राष्ट्रिय परिचय तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुभास ढकाल भन्छन्, ‘पहिलो व्यक्तिले अनलाइनमार्फत आफ्नो विवरण भर्नुपर्छ । उसले भरको विवरणलाई प्रिन्ट गरेर हामीले व्यक्ति स्वयंलाई भेरिफाइ गर्ने गराउँछौ ।’

यसरी भेरिफाइ गराउँदा पनि कतिपय व्यक्तिको जानकारीमा समस्याहरू आइरहेका छन् । त्यसमा कहिलेकाही भेरिफाइ भएका जानकारी दाखिल गर्ने कर्मचारीबाट पनि समस्या भएको हुन सक्ने ढकाल बताउँछन् ।

तर, धेरैजसो अवस्थामा सेवाग्राही आफैले आफ्नो विवरण गलत भर्दा यस्तो समस्या आएको उनकाे दाबी छ। समस्या आएको राष्ट्रिय परिचयपत्रको हकमा पुनः अर्को बनाउन सकिने व्यवस्था समेत रहेको ढकालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५