close

आगामी साता अन्तरिक्षमा जाँदै नेपालमै बनेको पहिलो स्याटलाइट

टेकपाना टेकपाना

पुस २४, २०७८ २०:१०

आगामी साता अन्तरिक्षमा जाँदै नेपालमै बनेको पहिलो स्याटलाइट

काठमाडौं । ओरियन स्पेसले नेपालमै बनाएको फुच्चो स्याटलाइट पीक्यू वान आगामी साता अन्तरिक्षमा जाने भएको छ । स्पेस एक्सको फाल्कोन–नाइन रकेटमार्फत् स्याटलाइटको प्रक्षेपण गर्ने तय भएको ओरियन स्पेसका सञ्चालक राकेशकृष्ण प्रजापतीले बताए । आगामी साता जनबरी १३ बिहीबार स्पेस एक्सको रकेटमार्फत् यो स्याटलाइट प्रक्षेपण हुने तय भएको प्रजापतीले बताए ।

पृथ्वीभन्दा ५ सय किलोमिटर माथि अन्तरिक्षमा यो स्याटलाइट अर्बिट गर्नेछ । प्रजापतीका अनुसार यो स्याटलाइटले पृथ्वीलाई एक पटक परिक्रमा गर्न ९० मिनेट लाग्छ । अन्तरिक्षमा यसको आयू २ वर्ष हुने प्रजापतीले जानकारी दिए । यो स्याटलाइट यसअघि नै स्पेनमा परीक्षण गरिसकिएको छ । 

नेपाली विद्यार्थी, इञ्जिनियर तथा अमेच्योर रेडियो अपरेटरहरुको सक्रियतामा २०१७ देखि उक्त स्याटेलाइट निर्माणको काम सुरु भएको थियो । २५० ग्राम तौल रहेको यो स्याटेलाइट एउटा हातको हत्केलामा अटाउन सक्छ । 

यसको वैकल्पिक नाम नेपाल पीक्यू वान हो । यसको लम्बाई चौडाई र उचाई समान पाँच सेन्टिमिटर रहेको छ । यस्तै यसको अर्को मिसन भनेको स्पेसको बेटागामा रेडियसन मापन गर्नु हो । यो स्याटेलाइटले अन्तरिक्षमा रहेको बेटागामा विकिरणको तिब्रता मापन गरेर पृथ्वीमा पठाउनेछ ।

यसका सम्पूर्ण हार्डवेयर र सफ्टवेयर नेपालमै डिजाइन, सोल्डर, परीक्षण तथा प्रोग्रामिङ नेपालमै भएको हो । यो स्याटेलाइटमा अनबोर्ड कम्प्युटर, विद्युतीय पावर सब सिस्टम, सञ्चार सबसिस्टम र पेलोड जडान गरिएको छ । यसमा क्यामेरा, एक्सेलेरोमिटर र जाइरस्कप जस्ता एड्भान्स पेलोड समावेश छन् ।

सोलार सेल्स २५० मोलिक्युलर वेट रहेको यो स्याटेलाइटमा ३.७ भोल्ट, ११ सय एमएएचको लिथिनियम आयन ब्याट्री राखिएको छ । यो सूर्यको प्रकाशबाट चार्ज हुन्छ । सोलार सेलबाट ब्याट्रीमा पावर ट्रान्सफरलाई म्याक्सिमाइज गर्न यसमा म्याक्सिमम पावर पोइन्ट ट्र्याकिङ प्रविधिको प्रयोग गरिएको छ । 

नेपालमै स्याटेलाइट बनाउन सुरु गर्ने र स्याटेलाइट निर्माण सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले  स्थापना भएको कम्पनीले हालसम्म नेपालमा विभिन्न इन्जिनियरिङ कलेज सहित पाकिस्तान र श्रीलंकामा समेत प्रशिक्षण दिँदै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५