close

काल्पनिक संसारलाई वास्तविक जस्तै देखाउने प्रविधि- भीएफएक्स

टेकपाना टेकपाना

पुस २५, २०७८ १८:६

काल्पनिक संसारलाई वास्तविक जस्तै देखाउने प्रविधि- भीएफएक्स

काठमाडौं । भिजुअल इफेक्ट्स अर्थात् भीएफएक्स काल्पनिक संसारलाई वास्तविक संसारको रुपमा प्रस्तुत गर्न प्रयोग हुने प्रविधि हो । फिल्म निर्माणमा भिजुअल इफेक्टहरूको प्रयोग गरी वास्तविक संसारमा नभएका चिजलाई प्रस्तुत गरिन्छ ।

भीएफएक्सबाट काल्पनिक संसारलाई समेत प्रभावकारी ढंगले वास्तविकतामा ढालेर देखाउन सम्भव हुन्छ । जुन जादुमय र आकर्षक हुने गर्दछ ।

भीएफएक्स त्यो प्रक्रिया हो, जसमा डिजिटल आर्ट सफ्टवेयरलाई परम्परागत आर्टसँग मिलाएर वास्तविक संसारमा विद्यमान नरहेका घटना सिर्जना गरिन्छ ।

भीएफएक्स मार्फत् अविश्वसनीय सांसारिक चिज सिर्जना गर्न सकिन्छ । सन् १८५७ मा पहिलो पटक ओस्कार रेजल्यान्डरले ३२ वटा फरक नेगेटिभलाई एउटा इमेजमा संयोजन गरेर प्रस्तुत गर्न भीएफएक्स प्रयोग गरेका थिए ।

१८९५ मा अल्फ्रेड क्लार्कले पहिलो पटक मोशन पिक्चर स्पेशल इफेक्ट सिर्जना गरे । 

भीएफएक्सका लागि किन हरियो पर्दाको प्रयोग गरिन्छ ?

हरियो रंग कुनैपनि प्राकृतिक छालाको टोन वा कपालको रंगसँग मेल खाँदैन । जसले क्रोमा सम्पादन गर्दा अभिनयमा रहेका कलाकारको कुनै अंश/भाग काटिँदैन ।

यदि हरियो रंगमा सम्पादन गर्नुपर्‍याे भने निलो रंगको प्रयोग गरिन्छ ।

भीएफएक्सका प्रकार

भीएफएक्सलाई मुख्यगरी तीन प्रकारले विभाजन गरिएको छ । जसमा सीजीआई, कम्पोजिटिङ र मोशन क्याप्चर रहेका छन् । कम्प्युटर-जेनेरेटेड इमेजरी अर्थात सीजीआईले फिल्म र टेलिभिजनमा डिजिटल रुपमा इमेज सिर्जना गर्ने काम गर्दछ ।

सीजीआई भिएफएक्सको सहायक विधा हो । काल्पनिक फिल्म निर्माताले भौतिक वातावरणमा उपलब्ध नहुने र क्याप्चर गर्न नसकिने अवस्थिति सिर्जना गर्न अथवा हेरफेर गर्न यसको प्रयोग गर्दछन् ।

त्यसैगरी कम्पोजिटिङ भनेको छुट्टाछुट्टै स्रोतका दृश्यहरू संयोजन गरी एउटा प्रतिबिम्ब बनाउने प्रक्रिया हो ।

मोशन क्याप्चरको कुरा गर्नुपर्दा यसका विशेषज्ञले कलाकारमा सेन्सरहरू राख्दछन् । जसले कलाकारको गति तथा चालहरूको रेकर्ड राख्दछ र तिनीहरूलाई वास्तविक समयमा कम्प्युटर स्क्रिनमा भर्चुअल कंकालको रुपमा प्रस्तुत गर्न अनुमति दिन्छ ।

यो प्रविधि ठूलो स्क्रिनमा कम र खेलकुद तथा एथ्लेटिक्समा अधिकतम प्रयोग गरिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५