close

सस्तो मूल्यको इन्टरनेट प्याकेज खोज्दै हुनुहुन्छ ? यस्ता छन् मासिक १००० रुपैयाँ मुनीका विकल्प

टेकपाना टेकपाना

पुस २५, २०७८ २२:१९

सस्तो मूल्यको इन्टरनेट प्याकेज खोज्दै हुनुहुन्छ ? यस्ता छन् मासिक १००० रुपैयाँ मुनीका विकल्प

काठमाडौं । नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउन लाइसेन्स लिने कम्पनीहरूको सङ्ख्या १३४ छ । तर ५१ ओटा मात्रै सञ्चालनमा रहेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

सेवाप्रदायकको सङ्ख्या धेरै हुँदा इन्टरनेट स्पिड र मूल्य दुवैमा प्रतिस्पर्धाको स्थिति छ । यद्यपि धेरै सेवाप्रदायकबीच इन्टरनेट स्पिड, गुणस्तर र मूल्य सबै हिसाबले उपयुक्त सेवा तथा प्याकेज छनौट गर्नु ग्राहकका लागि भने चुनौतीपूर्ण नै हुन्छ ।

आज हामी वार्षिक प्याकेज लिँदा मासिक १००० रुपैयाँभन्दा कम मूल्य पर्ने सस्ता इन्टरनेट प्याकेजहरू बजारमा कुनकुन उपलब्ध छन् भन्ने विषयमा बताउँदै छौँ ।

यो सूचीमा हामीले कम्तिमा पाँच हजार घरमा प्रयोगमा रहेका इन्टरनेट सेवाप्रदायकका १७ ओटा प्याकेजलाई समावेश गरेका छौँ । 

१. सीजीनेटको ५० एमबीपीएस

हाल बजारमा उपलब्ध इन्टरनेट प्याकेजमध्ये सीजी नेटको ५० एमबीपीएस गतिको इन्टरनेट सबैभन्दा सस्तो प्याकेजको रुपमा रहेको छ ।

भ्याट बाहेक मासिक ६४९ रुपैयाँ पर्ने यो इन्टरनेट प्याकेज लिने ग्राहकले एक पटकका लागि २५०० रुपैयाँदेखि ३००० रुपैयाँ र ५०० रुपैयाँ रिफन्डेबल डिपोजिट राख्नुपर्ने हुन्छ ।

प्याकेज सस्तो भए पनि कम्पनीको सेवा हाल काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध छ । हाल सीजीनेट तपाईं रहेको स्थानमा उपलब्ध छ कि छैन भन्ने यकिन गर्न यहाँ क्लिक गर्नुहोस् । 

२. एरोनेटको ११ एमबीपीएस

सबैभन्दा सस्तो इन्टरनेट प्याकेजको दोस्रो नम्बरमा एरोनेटको ११ एमबीपीएस गतिको इन्टरनेट रहेको छ ।

वार्षिक प्याकेज लिँदा भ्याट बाहेक ६६३ रुपैयाँ पर्ने यो प्याकेज लिन चाहने ग्राहकले पहिलो पटक राउटरका लागि २५०० रुपैयाँ, सेवा शुल्क ५०० रुपैयाँ, प्रति मिटर २५ रुपैयाँ केबलका लागि र सेक्योरिटी डिपोजिट बापत १५०० रुपैयाँ (रिफन्डेबल) बुझाउनुपर्ने हुन्छ ।

यो प्याकेजमा आईपीटिभीको सुविधा छैन । 

३. वेबसर्फरको ५५ एमबीपीएस

वेबसर्फरको ५५ एमबीपीएस इन्टरनेट सस्तो प्याकेजको तेस्रो नम्बरमा छ । आईपीटिभी समेत रहेको यो प्याकेजलाई वार्षिक प्याकेज खरिद गर्दा मासिक ७१४ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ ।

पहिलो पटक जोड्दा भने राउटर, फाइबर केबल र एसटीबी एक्टिभेसनका लागि दुई हजार रुपैयाँ र १५०० रुपैयाँ डिपोजिट राख्नुपर्ने हुन्छ ।

४. लुपनेट १५ एमबीपीएस

लुपनेटको १५ एमबीपीएस इन्टरनेट वार्षिक प्याकेजमा मासिक भ्याट बाहेक ७२४ रुपैयाँ पर्न आउँछ । यदि आईपीटिभी चाहनुहुन्छ भने यो प्याकेज मासिक ८८७ रुपैयाँमा लिन पनि सक्नुहुन्छ ।

नयाँ ग्राहकले यसका लागि ५०० रुपैयाँ शुल्क र ५०० रुपैयाँ डिपोजिट राख्नुपर्ने हुन्छ । 

५. नेटम्याक्स १० एमबीपीएस

नेटम्याक्सको १० एमबीपीएस इन्टरनेट वार्षिक ग्राहकले भ्याटबाहेक मासिक ७३७ रुपैयाँमै चलाउन पाउँछन् ।

यसका लागि ५०० रुपैयाँ डिपोजिट राख्नुपर्ने हुन्छ । यो प्याकेजमा आईपीटिभीको सुविधा भने उपलब्ध छैन । 

६. नेपाल टेलिकम २५ एमबीपीएस

नेपाल टेलिकमको २५ एमबीपीएस इन्टरनेटका लागि भ्याट बाहेक मासिक ७७४ रुपैयाँ पर्न आउँछ । पहिलो पटक जडान गर्ने ग्राहकले ११६५ रुपैयाँ थप शुल्क बुझाउनुपर्ने हुन्छ ।

कम्पनीको एफटीटीएच सेवा लिन ग्राहकले सय रुपैयाँ ब्यालेन्स र तीन हजार मिनेट टकटाइम भएको ल्यान्डलाइन टेलिफोन सेवा समेत पाउँछन् । यस बाहेक मोबाइलमा प्रतिदिन ३०० एमबीपीएस डेटाको सुविधा समेत टेलिकमले उपलब्ध गराउँदै आएको छ ।

यो प्याकेजमा आईपीटिभीको सुविधा भने उपलब्ध छैन । 

७. टेकमाइन्ड्स १५ एमबीपीएस

टेकमाइन्ड्सको १५ एमबीपीएस इन्टरनेट प्याकेज वार्षिक ग्राहकले मासिक भ्याट बाहेक ७९१ रुपैयाँ शुल्कमै चलाउन पाउँछन् । कम्पनीको वेबसाइटमा उल्लेख भएअनुसार यसका लागि थप शुल्क तथा डिपोजिट बुझाउनु पर्ने/नपर्ने कुरा स्पष्ट छैन । 

८. फर्स्टलिङ्कको २० एमबीपीएस 

वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले भ्याटबाहेक मासिक ७९७ रुपैयाँ शुल्कमै प्रयोग गर्न पाउँछन् । यसका लागि ग्राहकले पहिलो पटक एक हजार रुपैयाँ थप शुल्क र एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने हुन्छ । यसमा आईपीटिभी सेवा भने समावेश छैन । 

९. भायनेटको ७५ एमबीपीएस

 नेपालको ठूलो मध्येको इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटले वार्षिक प्याकेज लिने ग्राहकहरूका लागि भ्याट बाहेक मासिक ७०० रुपैयाँमै ७५ एमबीपीएस गतिको इन्टरनेट प्याकेज दिइरहेको छ ।

सीमित अवधिका लागि ल्याइएको यो विशेष प्याकेजका लागि ५०० रुपैयाँ डिपोजिट राखे पुग्छ । यो प्याकेज खरिद गर्दा एनसेलको सिममा मासिक चार जीबीका दरले कूल ४८ जीबी डेटा, ५० मिनेट कल र हरेक महिना ५० एसएमएस निःशुल्क पाइन्छ ।

यो प्याकेजमा आईपीटिभी सेवा भने समावेश गरिएको छैन । 

१०. लुपनेटको २५ एमबीपीएस 

इन्टरनेटका लागि वार्षिक प्याकेजमा मासिक भ्याट बाहेक ८३३ रुपैयाँ पर्न आउँछ । यसका लागि पहिलो पटक पाँच सय रुपैयाँ थप शुल्क र पाँच सय रुपैयाँकै डिपोजिट राख्नुपर्ने हुन्छ ।

यदि यो प्याकेजमा आईपीटिभी समेत चलाउन चाहनुहुन्छ भने तपाईंले मासिक ९९५ रुपैयाँ पर्ने प्याकेज लिनुपर्ने हुन्छ । 

११. वेबसर्फरको ५० एमबीपीएस इन्टरनेट

वेबसर्फरले वार्षिक प्याकेजमा भ्याट बाहेक मासिक ८८५ रुपैयाँमै ४० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ । जसमा दुई ओटा आईपीटिभी समेत पाउन सकिने कम्पनीले जनाएको छ ।

यसका लागि पहिलो पटक पाँच सय रुपैयाँ थप शुल्क र पाँच सय रुपैयाँ डिपोजिट बुझाउनुपर्ने कम्पनीको वेबसाइटमा उल्लेख छ ।

१२. डिशहोम फाइबरनेटको २५ एमबीपीएस

छोटो समयमै धेरै स्थानमा सेवा विस्तार गर्न तथा ग्राहक बनाउन सफल डिशहोम फाइबरनेटले भ्याट बाहेक मासिक ९५८ रुपैयाँ पर्ने वार्षिक प्याकेज उपलब्ध गराइरहेको छ । यसमा तपाईंले आईपीटिभी समेत पाउन सक्नुहुन्छ ।

डिपोजिट तथा थप शुल्क नलाग्ने यो प्याकेज बाहेक यदि तपाईं डिशहोमको डीटीएच प्रयोग गर्नुहुन्छ भने अझ सस्तोमा इन्टरनेट प्याकेज लिन सक्नुहुन्छ ।

१३. लुपनेटको ३५ एमबीपीएस

लुपनेटले वार्षिक प्याकेज लिने ग्राहकलाई मासिक भ्याट बाहेक ९६६ रुपैयाँमै २५ एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराइरहेको छ । यसका लागि थप शुल्क पाँच सय रुपैयाँ र पाँच सय रुपैयाँ डिपोजिट बुझाउनुपर्ने हुन्छ ।

यो प्याकेजमा आईपीटिभी सेवा भने समावेश गरिएको छैन । 

१४. एरोनेटको २० एमबीपीएस

एरोनेटले वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई भ्याट बाहेक मासिक ९९२ रुपैयाँमै २० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराइरहेको छ । यसका लागि तपाईंले थप शुल्कको रुपमा ३००० रुपैयाँ र प्रति मिटर तारको २५ रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

त्यस बाहेक डिपोजिटको रुपमा १५ सय रुपैयाँ समेत जम्मा गर्नुपर्ने हुन्छ ।

१६. १५. सुबिसुको ३० एमबीपीएस इन्टरनेट

निजी क्षेत्रको दोस्रो ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले भ्याट बाहेक मासिक ९९५ रुपैयाँ पर्ने ३० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।

यसका लागि सुरुमा थप शुल्कको रुपमा २५९७ रुपैयाँ र ५०० रुपैयाँ डिपोजिट राख्नुपर्ने हुन्छ । यसमा आईपीटिभी सेवा भने समावेश गरिएको छैन । 

१७. सीजीनेटको १२० एमबीपीएस

सीजी नेटसँगै बजारमा आएको यो प्याकेजले नेपालको इन्टरनेट बजारलाई नै उथलपुथल बनाइदिएको छ । कम्पनीको यो १२० एमबीपीएस इन्टरनेटका लागि तपाईंले भ्याट बाहेक मासिक ९९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

पहिलो पटकको जडानमा भने वार्षिक ग्राहकले ५०० रुपैयाँ डिपोजिट बुझाउनुपर्ने हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२