close

क्लबहाउस अब ब्राउजरबाट पनि चलाउन मिल्ने

टेकपाना टेकपाना

पुस २६, २०७८ ७:४३

क्लबहाउस अब ब्राउजरबाट पनि चलाउन मिल्ने

काठमाडौं । सामाजिक सञ्जाल क्लबहाउस अब ब्राउजरबाट पनि चलाउन सकिने भएको छ । सन् २०२० मा सार्वजनिक भएको क्लबहाउस आईओएस र एन्ड्रोइडका अतिरिक्त वेब भर्सनबाट पनि चलाउन सकिने भएको हो ।

हालै कम्पनीले प्लेटफर्ममा रजिस्टर नै नगरी सिधै वेब ब्राउजरबाट क्लबहाउस रुममा कनेक्ट हुन सकिने गरी नयाँ फिचर परीक्षण थालेको छ । यसको अर्थ तपाईं अब ब्राउजरमार्फत नै क्लबहाउसमा इन्टरयाक्सन (अन्तक्र्रिया) गर्न सक्षम हुनुहुनेछ ।

क्लबहाउसको मोबाइल संस्करणमा रुमको लिङ्क सिर्जना गर्न एउटा टुल हुनेछ, जुन अन्य प्रयोगकर्तालाई विभिन्न सामाजिक सञ्जाल वा ईमेलमार्फत अन्य प्रयोगकर्तालाई शेयर गर्न सकिन्छ ।

यस्तो लिङ्कमा क्लिक गरेपछि क्लबहाउस एप डाउनलोड र इन्स्टल नगरीकनै ब्राउजरबाट सिधै रुममा जोडिन सकिनेछ ।

यो फिचरबाट प्रयोगकर्ताले क्लबहाउसको प्लेटफर्ममा दर्ता नभइकनै रुममा ज्वाइन सक्छन् । तर रुमको लिंक पठाउन भने एप प्रयोगकर्ता नै हुनुपर्नेछ ।

अहिले यो फिचर अमेरिकाका सीमित क्लबहाउस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । अन्य बजारमा कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा भने कम्पनीले केही खुलाएको छैन ।

अडियो प्लेटफर्मको रुपमा निकै नै चर्चा कमाएको ‘क्लबहाउस’ अहिले सुस्ताएको छ । २०२० देखि सुरु भएको क्लबहाउसको प्रयोग २०२१ को सुरुवातसँगै तीव्र रुपमा वृद्धि भएको थियो ।

यो प्लेटफर्मले टेक्स्ट अथवा तस्वीरलाई भन्दा पनि अडियोलाई बढि प्राथमिकता दिएर अघि बढेको थियो । लकडाउनको समयमा धेरै मानिसबीच सम्पर्कमा बस्नका लागि अथवा कुनै विषयमा छलफल गर्न यो प्लेटफर्म एकदम चर्चित भएको थियो ।

यद्यपि पछिल्लाे समय क्लबहाउसको लोकप्रियता पनि घट्दै गएकाे छ । एकातिर क्लबहाउसले जस्तै अडियो प्लेटफर्म मेटा तथा ट्वीटर जस्ता प्रतिस्पर्धी कम्पनीहरूले पनि सुरु गरेका छन् भने अर्कोतिर क्लबहाउसको डाउनलोड संख्या पनि कम हुँदै गएको छ ।

यसैबीच प्रयोगकर्तालाई केही हदसम्म आकर्षित गर्न कम्पनीले ब्राउजरबाटै रूममा जोडिनसक्ने फिचर ल्याउन लागेको अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२