close

ज्येष्ठ नागरिकलाई सूचना प्रविधि र दूरसञ्चार सेवा सिकाउँदै सरकार

टेकपाना टेकपाना

पुस २६, २०७८ १४:५

ज्येष्ठ नागरिकलाई सूचना प्रविधि र दूरसञ्चार सेवा सिकाउँदै सरकार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ज्येष्ठ नागरिकलाई सूचना प्रविधि तथा दूरसञ्चार सेवासम्बन्धी तालिम प्रदान गर्ने भएको छ । ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उनीहरूको दैनिक जीवनमा उपयोगी हुने प्रविधिहरुको विषयमा जानकारी गराउने योजनाका साथ यो कार्यक्रम अघि बढाइएको हो ।

प्राधिकरणले आइतबार परामर्शका लागि आशयपत्र माग गरेको छ । जसमा राष्ट्रियस्तरका कम्पनीहरू सहभागी हुन सक्नेछन् । प्राधिकरणका अनुसार यो परियोजना सातै प्रदेशमा सञ्चालन हुनेछ ।

जसमा पहिलो चरणमा एक प्रदेश बराबर एक जिल्लाका आधारमा त्यहाँका जेष्ठ नागरिकलाई शिक्षा प्रदान गरिनेछ । नेपालमा ६० वर्षमाथिको जनसंख्या वृद्धि भइरहेको छ ।

सन् २००१ देखि २०११ को बीचमा यो समूहको जनसंख्या ६.५ बाट बढेर ८.१३ प्रतिशत पुगेको थियो । भने, सन् २०५० सम्म पुग्दा १७ प्रतिशत पुग्ने आँकलन गरिएको छ ।

यस्तोमा यो पुस्तालाई सूचना प्रविधिसँगै जोड्ने योजनाका साथ प्राधिकरणले यो परियोजना अघि बढाएको हो । प्राधिकरणले आइतबार १५ दिनभित्र यसमा आवेदन दिन सकिने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२