close

यस्ताे थियाे पहिलाे आईफोन

टेकपाना टेकपाना

पुस २६, २०७८ १७:३३

यस्ताे थियाे पहिलाे आईफोन

काठमाडौं । आजभन्दा १५ वर्षअघि स्मार्टफोन बजारमा आईफोन सार्वजनिक भएको थियो, जसले आज करोडौं प्रयोगकर्तामाझ आफ्नो विरासत जमाउन सफल भएको छ ।

एप्पलका संस्थापक स्टिभ जब्सले अमेरिकाको स्यानफ्रान्सिस्कोबाट विश्व बजारमा आईफोन सार्वजनिक गरेका थिए । सन् २००७ को जनवरी ९ मा स्टिभ जब्सले म्याकवर्ल्ड कन्फ्रेन्स एण्ड एक्स्पोमार्फत आईफोन सार्वजनिक गर्ने घोषणा गरेर जुन २९ मा बजारमा ल्याएका थिए ।

यो फोन सार्वजनिक हुनुअगाडि नै सार्वजनिक हुने घोषणाले नै धेरैको चर्चाको विषय बनेको थियो । प्रयोगकर्ता यो फोनको व्यग्र प्रतिक्षामा थिए ।  हुन त योभन्दा अगाडि पनि बजारमा स्मार्टफोन थियो ।

त्यो समयमा सबैभन्दा चलेको स्मार्टफोन भनेको ‘नोकिया एन९५’ थियो, जुन एक करोड थान बिक्री भएको थियो । आईफोन सार्वजनिक गर्दै गर्दा उनले भनेका थिए, ‘यो आईपोड पनि हो, फोन पनि हो र इन्टरनेट कम्युनिकेटर पनि हो ।’

यो फोन अन्य फोनहरू भन्दा निकै नै शक्तिशाली रहने उनले बताएका थिए । वास्तवमै आईफोनले स्मार्टफोनको विश्वबजारको अभ्यासलाई नै परिवर्तन गरिदियो । हुन त यसको मूल्य तथा अन्य फिचरहरूको कारण बजारमा आज पनि आईओएसका प्रयोगकर्ता धेरै छैनन् ।

यद्यपि आईफोनका प्रयोगकर्तालाई जस्तै आईफोन प्रयोग नगर्नेहरूलाई पनि आईफोनको हरेक खबरले भने प्रभाव पार्ने गर्छ । मान्छेहरू आईफोनको बारेमा जान्न बुझ्न चाहन्छन् ।

सबैभन्दा सुरुमा सार्वजनिक भएको आईफोनमा ३.५ इन्चको टचस्क्रिन डिस्प्ले थियो, जसमा २ मेगापिक्सेलको मेन क्यामेरासहित १६ जीबीको इन्टर्नल स्टोरेज उपलब्ध थियो ।

फोन भने ४ जीबी र्‍याम र ८ जीबी र्‍यामको दुई भेरियन्टमा उपलब्ध थियो जसको मूल्य क्रमश: ४९९ डलर र ५९९ डलर थियो । सार्वजनिक भएको पहिलो वर्षमा नै ६१ लाख थान आईफोन बिक्री भएको थियो । तर यो धेरै सानो बजार थियो ।

यद्यपि आईफोनको फिचरहरूले गर्दा प्रयोगकर्तामा स्मार्टफोन बोक्नैपर्छ भन्ने धारणाको विकास भने भएको थियो । पहिलो आईफोनमा मुख्य १५ वटा एपहरू उपलब्ध थिए; क्यालेन्डर, क्यामेरा, क्लक, कन्ट्याक्ट, आईपड, म्याप, म्यासेज, नोट, फोन, फोटो, सफारी, स्टक, भोइस मेमो, वेदर र सेटिङ ।

आईफोनले पनि २००७ देखि २०२२ सम्म आउँदा पछाडि फर्किएर कहिले हेर्नुपरेन । सन् २००७ मा पहिलो आईफोन सार्वजनिक गर्दा कम्पनीको शेयर मूल्य १७४.०३ डलर थियो ।

आज जनवरी ३ मा मात्रै एप्पलको शेयर मूल्य ३० खर्ब डलर पुगेको छ । सुरुवातमा २ मेगापिक्सेलको क्यामेरा उपलब्ध भएको आईफोनको आज आईफोन १३ प्रो म्याक्सको क्यामेरा आँखा जाँच गर्नका लागि समेत प्रयोग गरिएको छ ।

करिब ५०० डलरबाट सुरु भएको आईफोनको बिक्री आज अधिकतम मूल्य करिब १६०० डलर पुगेको छ । हाल एक टीबी स्टोरेज सहितको आईफोन १३ प्रो म्याक्सको मूल्य १,५९९ डलर रहेको छ ।

पहिलो आईफोन तत्कालीन समयका लागि प्रयोग हुने थुप्रै फिचर थिए । यद्यपि त्यो बेलादेखि आजसम्म आईपुग्दा आईफोनमा सहजै तस्वीरका अक्षरहरू पनि कपी गरेर पेस्ट गर्न सकिने फिचर उपलब्ध गराएको छ । आजसम्म एप्पलले ३३ वटा मोडेलको फोन सार्वजनिक गरिसकेको छ । जसमध्ये हाल भने बजारमा ८ वटा मोडेल मात्रै बिक्री भइरहेको छ ।

पहिलो आईफोनमा भिडिओ खिच्ने सुविधा थिएन । यद्यपि आज आईफोन १३ यसको फोरके रेजाेलुसन सहितको सिनेम्याटिक भिडिओ फिचरका कारण लोकप्रिय बनेको छ । यतिमात्र होइन, म्यागजिनको कभर फोटो पनि आईफोनले खिचिएको थियो ।

त्यस्तै आईफोनले नै अनसेन, हाई फ्लाइङ बर्ड, लेडि गागा लगायतका चलचित्रहरू पनि खिचिएको थियो । आजसम्म आइपुग्दा समयसँगै आईफोनले १५ वर्षे यात्रामा प्रयोगकर्ताको चाहनालाई मध्यनजर गर्दै धेरै फिचरहरू थप गर्दै अथवा घटाउँदै लगेको छ ।

जे होस्, आईफोनको यो १५ वर्षे यात्रा निकै नै रोचक र सफल रहेको समिक्षकहरू बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२