close

ललितपुरका यी स्थानमा थपिँदै छन् स्मार्ट सडक बत्ति

टेकपाना टेकपाना

पुस २६, २०७८ १९:२८

ललितपुरका यी स्थानमा थपिँदै छन् स्मार्ट सडक बत्ति

काठमाडौं । ललितपुर महानगरपालिकाले विभिन्न स्थानमा स्मार्ट सडक बत्ति थप्ने तयारी गरेको छ । यसअघि स्मार्ट बत्ति राखिएका स्थानमा प्रभावकारिता देखिएपछि महानगरले थप स्थानमा बत्ति राख्न लागेको हो ।

यसअघि पहिलो चरणमा बागमती पुलबाट पुल्चोक, जावलाखेल हुँदै सातदोबाटो, कोपुन्डोलबाट पाटनढोका, अशोकहल, नागबहाल हुँदै मङ्गलबजार, पाटन दरबार क्षेत्रमा स्मार्ट सडक बत्ति राखिएको थियो ।

त्यस्तै पुल्चोकबाट गाःबहाल, मङ्गलबजार, ग्वार्को र जावलाखेलबाट एकान्तकुनासम्म गरी ६६९ वटा स्मार्ट सडक बत्ति जडान भइसकेको छ ।

स्मार्ट सडक बत्ति प्रभावकारी भएपछि महानगरपालिकाले दोस्रो चरणमा हरिसिद्धी, धापाखेल, सुनाकोठी, सैंबु भैँसीपाटी बुङ्मतीलगायतका क्षेत्रमा सडक बत्ति जडान गर्न लागेको नगरप्रमुख महर्जनले जानकारी दिए ।

उनले भने, ‘सो क्षेत्रमा स्मार्ट सडक बत्ति राखिएपछि रात्रिकालीन रूपमा समेत सहज रूपमा आवतजावत गर्न सकिनेछ ।’ तेस्रो चरणमा ललितपुर महानगरपालिकाको क्षेत्र पर्ने चक्रपथमा स्मार्ट सडक बत्ति राख्ने तयारी छ ।

चक्रपथको मनोहरा नदीका बालकुमारीदेखि बल्खुसम्मको दायाँबायाँको सर्भिस ट्र्याकमा गरी १५.८ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ति राख्ने योजना बनाइएको छ ।

उक्त कार्यका लागि करिब १८ करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता भइसकेको छ । जसमा ६० प्रतिशत महानगरपालिका र ४० प्रतिशत विद्युत् प्राधिकरणले बेहोर्ने गरी त्रिपक्षीय सम्झौता भएको महर्जनले बताए । -गोरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२