close

नेपाल टेलिकमको अग्रता कागजी तथ्याङ्कमा मात्रै, मोबाइल सेटको प्रयोग एनसेलमा धेरै

रन्जन कोइराला रन्जन कोइराला

पुस २७, २०७८ १०:२७

नेपाल टेलिकमको अग्रता कागजी तथ्याङ्कमा मात्रै, मोबाइल सेटको प्रयोग एनसेलमा धेरै

काठमाडौं । नेपालमा कति मोबाइल सेट प्रयोगमा छन् भन्ने कुरा धेरैका लागि चासोको विषय हुनसक्छ । लामो समयदेखि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा इन्टरनेट तथा टेलिफोनको पहुँचको विषयको तथ्याङ्क सार्वजनिक गर्दै आएकाे छ ।

तर नियामकले सार्वजनिक गर्ने एमआईएस रिपोर्टमा कम्पनीको नेटवर्कमा हुने सक्रिय मोबाइलको जानकारी सङ्ख्या भने उल्लेख भएको पाइँदैन । प्राधिकरणले जारी गरेको कात्तिक महिनाको तथ्याङ्क अनुसार हाल नेपालमा कूल जनसंख्याको १३७.४६ प्रतिशतमा टेलिफोन पहुँच छ ।

त्यस्तै ११६.९१ प्रतिशत इन्टरनेटको पहुँचमा रहेका छन् । जसमा टेलिफोनतर्फ टेलिकमका प्रयोगकर्ता दुई करोड २५ लाख २५ हजार १६८ रहेका छन् । यो तथ्याङ्कमा टेलिकमको पीएसटीएन, वायरलेस लुप, एफटीटीएच भ्वाइस, जीएसएम र सीडीएमएका प्रयोगकर्ता रहेका छन् ।

एनसेलका प्रयोगकर्ता एक करोड ६६ लाख ५८ हजार सात सय २२ रहेका छन् । जसमा जीएसएम मोबाइल प्रयोग गर्नेहरू मात्रै समावेश छन् । नेपाल टेलिकमको जीएसएम प्रयोगकर्तालाई मात्रै हेर्ने हो भने पनि दुई करोड १३ लाख ८६ हजार ४५५ रहेको देखिन्छ ।

यसको अर्थ तथ्याङ्कमा सीडीएमए र जीएसएम मोबाइल प्रयोगकर्ताको हिसाबले टेलिकमका ग्राहक ५० लाख ४८ हजार ८७३ ले तथा जीएसएम मोबाइलको मात्रै हिसाब गर्दा टेलिकम ४७ लाख २७ हजार ७३३ ग्राहकले अघि देखिन्छ ।

अर्को दूरसञ्चार सेवाप्रदायक स्मार्ट सेलका प्रयोगकर्ता २३ लाख ६७ हजार १०६ रहेका छन् । प्राधिकरणको सोही तथ्याङ्कका आधारमा नेपालको दूरसञ्चार सेवामा नेपाल टेलिकम ५४.२१ प्रतिशत बजार हिस्सा सहित पहिलो नम्बरमा छ भने एनसेलको बजार हिस्सा ४०.०९ प्रतिशत मात्रै देखिन्छ ।

त्यस्तै स्मार्टसेल ५.७० प्रतिशत बजार हिस्सा सहित तेस्रो स्थानमा छ । यस हिसाबले सामान्य तवरमा सोच्दा टेलिकमको मोबाइल प्रयोग गर्नेहरू एनसेल र स्मार्ट टेलिकमको भन्दा बढी रहेको जस्तो देखिन्छ ।

त्यस हिसाबले सम्बन्धित कम्पनीको नेटवर्कमा एक्टिभ हुने मोबाइल सेटको अनुपात पनी सोही दरमा हुनुपर्ने हो । तर, वास्तविक तथ्याङ्कमा त्यसो देखिँदैन ।

प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिकसम्मको अवधिमा नेपाल टेलिकमभन्दा एनसेल अघि देखिएको छ ।

प्राधिकरण स्रोतले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिकसम्म नेपालका सबै मोबाइल सेवाप्रदायकको नेटवर्कमा कूल दुई करोड ८५ लाख ३५ हजार मोबाइल सेट सक्रिय रहेका छन् । जसमा नेपाल टेलिकमको नेटवर्कमा जम्मा एक करोड ३६ लाख ५९ हजार मोबाइल सेट सक्रिय छन् भने एनसेलको नेटवर्कमा कूल एक करोड ३९ लाख ९८ हजार मोबाइल सेट देखिएका छन् ।

सोझो हिसाबले भन्नुपर्दा टेलिकमको नेटवर्कमा भन्दा एनसेलको नेटवर्कमा तीन लाख ३९ हजार बढी मोबाइल सेट प्रयोगमा छन् । तेस्रो मोबाइल सेवाप्रदायक स्मार्ट सेलको नेटवर्कमा भने उक्त अवधिमा आठ लाख ७८ हजार मोबाइल सेट सक्रिय रहेको देखिन्छ ।

यो तथ्याङ्क कम्पनीहरूको सिस्टममा ल्याच भएका मोबाइल सेटको आधारमा निकालिएको प्राधिकरणले जनाएको छ । यस हिसाबले हेर्ने हो भने नेपाल टेलिकम कागजी हिसाबले मात्रै ग्राहक सङ्ख्यामा देशको सबैभन्दा ठूलो सेवाप्रदायक कहलिएको हुनसक्ने देखिन्छ । आम्दानी र नाफामा भने वर्षौँदेखि नेपाल टेलिकम एनसेलभन्दा पछि पर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२