close

भारतमा पुनः सुरु हुँदै आईफोन उत्पादन, ४ महिनादेखि किन बन्द थियो कारखाना ?

टेकपाना टेकपाना

पुस २७, २०७८ १२:४४

भारतमा पुनः सुरु हुँदै आईफोन उत्पादन, ४ महिनादेखि किन बन्द थियो कारखाना ?

काठमाडौं । भारतमा आईफोन उत्पादनको काम बुधबारदेखि पुनः सुरु भएको छ । एप्पलका लागि भारतमा आईफोन तयार पार्ने कम्पनी फक्सकनले सोमबार चेन्नईको प्रदेश राजधानी तमिलनाडु नजिकै श्रीपेरमबदुर स्थित आफ्नो संयन्त्रमा कयौँ सुधारका उपाय अपनाएको र कर्मचारीहरूलाई विस्तारै कारखानामा फर्काउन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कर्मचारीहरूलाई विषाक्त खाना दिएको भन्दै विरोध सुरु भएपछि गत १८ सेप्टेम्बरयता भारतमा आईफोनको उत्पादन बन्द थियो । विषाक्त खानाकै कारण २५० भन्दा बढी श्रमिक बिरामी परेका थिए ।

होन हाई टेक्नोलोजी ग्रुप (फक्सकन) ले भनेको छ, ‘हामी श्रीपेरमबदुरमा कर्मचारीलाई हुने असहजता सुधार गर्न उनीहरूलाई उपलब्ध गराइने सेवा बढाउन थुप्रै कदम उठाउँदै छौँ । हामीले त्यसको सुनिश्चितताका लागि कयौँ उपाय अपनाएका छौँ, ता कि यस किसिमको अवस्था अर्को पटक नआओस् । यति मात्र होइन, कर्मचारीले आफ्नो नाम गोप्य राखेर समेत उजुरी गर्न सक्नेछन् ।’

कम्पनीका अनुसार आवास स्थल तयार भएपछि र त्यसका लागि सहमति प्राप्त भएसँगै क्रमिक रुपमा श्रमिकलाई बोलाइनेछ । कर्मचारी निवास स्थलका लागि सरकार र एप्पलको अनुमति प्राप्त भएपछि कारखानामा क्रमिक रुपमा काम सुरु हुनेछ ।

एप्पलका एक जना प्रवक्ताले भनेका छन् कि श्रीपेरमबदुर संयन्त्र अहिले पनि कम्पनीको निगरानीमा रहेको छ ।

उनले भनेका छन्, ‘पछिल्ला केही हप्तादेखि स्वतन्त्र अडिटर्स र एप्पलको टिमले फक्सकनसँग मिलेर काम गरिरहेको छ । ता कि श्रीपेरमबदुरमा कर्मचारी आवास तथा खानपानको सुविधामा व्यापक सुधारात्मक उपाय लागू गर्न सकियोस् ।’

यद्यपि कम्पनीले पूर्ण रुपमा उत्पादन सुरु गर्न अझ निकै समय लाग्नेछ । उक्त कारखानामा १७ हजारभन्दा बढी कर्मचारीले काम गर्दै आएका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२