close

फ्युज मसिनमा भित्रियो ११ करोड ८० लाख विदेशी लगानी, थप ३ सयले रोजगारी पाउने

टेकपाना टेकपाना

पुस २७, २०७८ १३:३०

फ्युज मसिनमा भित्रियो ११ करोड ८० लाख विदेशी लगानी, थप ३ सयले रोजगारी पाउने

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्दै आएको नेपाली कम्पनी फ्युज मसिन नेपाल प्रालिमा विदेशी लगानी भित्रिएको छ । हालसम्म नेपाली कम्पनीको रुपमा सञ्चालन हुँदै आएको कम्पनीको पूर्ण स्वामित्व अमेरिकी कम्पनीले खरिद गरेको हो ।

फ्युज मसिन नेपालका प्रबन्ध निर्देशक मुकुन्द जोशीका अनुसार फ्युज मसिन नेपाल प्रालिको पूर्ण स्वामित्व अमेरिकामा रहेकाे फ्युज मेसिन नेपाल ईंकले खरिद गरेको छ । फ्युज मेसिन नेपाल ईंक अमेरिकामा रहेको प्यारेन्टल कम्पनी फ्युज मसिन ईंकको भगिनी संस्था हो ।

उक्त भगिनी संस्थाले नेपालमा रहेको कम्पनीको पूर्ण स्वामित्व खरिद गरेको हो । हुन त यी सबै कम्पनीको संस्थापक तथा लगानीकर्ता डा.समिर मास्के नै हुन् । तर यसअघिसम्म फ्युज मसिन नेपाल प्रालि पूर्ण रुपमा नेपाली लगानीबाटै सञ्चालन हुँदै आएकोमा अब भने एफडीआईमा आधारित भएको छ ।

यसका लागि कम्पनी रजिष्ट्रारको कार्यालय र उद्योग विभागबाट सम्पूर्ण काम सम्पन्न भइसकेको छ । भने, नयाँ लगानीका लागि राष्ट्र बैंकमा प्रक्रियामा रहेको जोशीले जानकारी दिए ।

उनले यसबारे यकिन तथ्याङ्क भने जानकारी नभएको भन्दै नयाँ लगानी भित्र्याएर थप ३ सय नेपालीलाई रोजगारी प्रदान गर्ने योजना रहेको सुनाए । तर, राष्ट्र बैंकका अनुसार कम्पनीले १० लाख अमेरिकी डलर (करिब ११ करोड ८० लाख रुपैयाँ) विदेशी लगानी भित्र्याउने तयारी गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२