close

एक जना ग्राहकबाट औसतमा कति कमाउँछन् टेलिकम र एनसेल ?

टेकपाना टेकपाना

पुस २७, २०७८ २२:१०

एक जना ग्राहकबाट औसतमा कति कमाउँछन् टेलिकम र एनसेल ?

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रमा खासगरी मोबाइल सेवामा दुई कम्पनी नेपाल टेलिकम र एनसेलको अधिपत्य छ । नियामकले सार्वजनिक गर्ने प्रतिवेदनमा ग्राहक सङ्ख्याका आधारमा पहिलो नम्बरमा देखिने नेपाल टेलिकमको आम्दानी भने एनसेलको तुलनामा कम छ ।

हालैको एउटा तथ्यले टेलिकमको नेटवर्कमा सक्रिय रहेका मोबाइलको सङ्ख्या समेत कम रहेको देखिएको छ । यसले समेत कम्पनीको आम्दानी कम भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

तर वास्तवमा एनसेल र नेपाल टेलिकमले औसत एक जना ग्राहकबाट मासिक कति आम्दानी गर्छन् भन्ने कुरा स्पष्ट रुपमा सार्वजनिक हुने गरेको छैन । त्यसैले आज हामीले दुई कम्पनीको प्रति ग्राहक औसत आम्दानी (एआरपीयू-एभरेज रेभिन्यु पर युजर) को हिसाब निकालेर तुलना गर्ने प्रयास गर्दैछौँ ।

त्यसो त प्यारेन्ट कम्पनीको रुपमा रहेको आजियाटा लिमिटेडले सार्वजनिक गर्ने वित्तीय प्रतिवेदनमा एनसेलको प्रति व्यक्ति आम्दानी स्पष्ट छ । तर नेपाल टेलिकमले भने प्रति ग्राहक औसत आम्दानीको विषय अहिलेसम्म आफ्नो प्रतिवेदनमा समावेश गरेको पाइँदैन ।

दुवै कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् । जसअनुसार उक्त तीन महिनाको अवधिमा एनसेलको आम्दानी १० अर्ब १५ करोड ८१ लाख ६० हजार रुपैयाँ रहेको छ भने टेलिकमको आम्दानी १० अर्ब १० करोड ४४ लाख ७५ हजार रुपैयाँ छ ।

आम्दानी रकम करिब समान देखिए पनि एनसेलले उक्त आम्दानी एक करोड ६४ लाख ९० हजार ग्राहकबाट तथा टेलिकमले दुई करोड १९ लाख १० हजार ग्राहकबाट गरेको हो । यस हिसाबले एनसेलले आफ्नो एक जना ग्राहकबाट मासिक औसत २०५.३३ रुपैयाँ (पोस्टपेडमा ३०६ रुपैयाँ र प्रिपेडमा २०० रुपैयाँ) आम्दानी गर्दै आएको छ ।

तर टेलिकमले भने एक जना ग्राहकबाट मासिक औसत १५३.७२ रुपैयाँ मात्रै आम्दानी गर्छ । जुन एनसेलको भन्दा प्रति ग्राहक मासिक औसत ५१.६१ रुपैयाँ रुपैयाँ कम हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२