close

१५ हजार स्थानमा सरकारले जोड्यो निःशुल्क इन्टरनेट, कहाँ कहाँ राखिए ?

टेकपाना टेकपाना

पुस २८, २०७८ १७:२२

१५ हजार स्थानमा सरकारले जोड्यो निःशुल्क इन्टरनेट, कहाँ कहाँ राखिए ?

काठमाडौं । सरकारले देशभरका १५ हजार भन्दा बढी स्थानमा निःशुल्क इन्टरनेट जडान गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार देशभरका १५ हजार तीन सय ९३ वटा स्थानमा निःशुल्क इन्टरनेट जडान गरिएको हो ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरी निःशुल्क इन्टरनेट जडान गर्ने परियोजना अघि बढाएको थियो । यो परियोजना अन्तर्गत ६ सय ७९ वटा स्थानीय निकायको कार्यालयमा निःशुल्क इन्टरनेट जडान गरिएको प्राधिकरणले जनाएको छ । यो मंसिर महिनासम्मको तथ्यांक हो ।

योबाहेक, देशभरका ५ हजार ६ सय ६४ वटा वडा कार्यालय र ५ हजार २३ वटा माध्यमिक विद्यालयमा पनि निःशुल्क इन्टरनेट जडान भएको छ । ४ हजार २७ वटा स्वास्थ्य संस्थामा पनि इन्टरनेट जडान भएको प्राधिकरणले जनाएको छ । यो परियोजना अन्तर्गत अब ५ सय ८९ वटा स्थानमा मात्रै इन्टरनेट जडान गर्न बाँकी छ ।

ग्रामीण दूरसञ्चार कोषमा दूरसञ्चार सेवा प्रदायक कम्पनीले आफ्नो वार्षिक आम्दानीको २ प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान छ । सोही जम्मा भएको रकम प्रयोग गरी प्राधिकरणले देशैभर सरकारी र सार्वजनिक निकायमा निःशुल्क इन्टरनेट जडान गर्ने परियोजना अघि बढाएको हो ।

यसरी जडान गरिएको इन्टरनेट ति कार्यालयहरुले दुई वर्षसम्म निःशुल्क उपभोग गर्न पाउँछन् । त्यसपछि भने सम्बन्धित सेवा प्रदायकलाई शुल्क बुझाउनुपर्ने हुन्छ ।

यस्तो इन्टरनेट जडानको लागि प्राधिकरणले कोषमा रकम जम्मा गर्ने सेवा प्रदायकबीच प्रतिस्पर्धा गराएर परियोजनाको जिम्मा दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२