close

इन्टरनेट गुणस्तर बढाउन देशभरका ग्राहकको पुरानो फाइबर निःशुल्क फेर्दै वर्ल्डलिङ्क

टेकपाना टेकपाना

पुस २८, २०७८ २१:१२

इन्टरनेट गुणस्तर बढाउन देशभरका ग्राहकको पुरानो फाइबर निःशुल्क फेर्दै वर्ल्डलिङ्क

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो इन्टरनेट सेवाको गुणस्तर बढाउन पुराना फाइबर केबल परिवर्तन गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । धेरै गुनासो आएको र  आफ्ना ग्राहक अन्य कम्पनीतर्फ आकर्षित हुने स्थिति आएपछि कम्पनीले प्रो-एक्टिभ रुपमा देशव्यापी ग्राहकको अप्टिकल फाइबर फेर्न सुरु गरेको थियो ।

सामान्यतया इन्टरनेटको इन्टरनेटको गुणस्तरमा समस्या आउने दुई ओटा कारण हुन्छन्, अप्टिकल पावर लेभल र वायरलेस पावर लेभल । यसको अर्थ ग्राहकको घरमा रहेको राउटरसम्म राम्रोसँग इन्टरनेट नपुग्ने अवस्था र केबलमा समस्या नरहे पनि राउटरले राम्रोसँग सिग्नल डेलिभर गर्न नसक्ने समस्या रहेको हुन्छ ।

यस्तोमा कम्पनीले वायरलेस पावर लेभल बढाउन न्यूनतम इन्टरनेट स्पिड १५० एमबीपीएस पुर्‍याएको छ भने फाइभ गिगाहर्ज सहितको डुअल ब्यान्ड राउटर र मेश वाई-फाई सिस्टम वितरण थालेको छ । त्यस्तै अप्टिकल पावर लेभल सुधार गर्न पुराना अप्टिकल फाइबर नै परिवर्तन गर्ने अभियान सुरु गरिएको सीईओ नेपालले बताए ।

उनका अनुसार अप्टिकल पावर लेभल -२७, -२८ र -२९ हुँदा समेत इन्टरनेटले काम गरिरहेको हुन्छ । ‘तर हामीले बजारमा रहेका अन्य सेवाप्रदायकको भन्दा राम्रो गुणस्तर कायम होस् भन्ने हिसाबले प्रो-एक्टिभ भएर ओभर इन्जिनियरिङको रुपमा पावर लेभल न्यूनतम -२४ डीबीएमको मापदण्ड पूरा हुने गरी अप्टिकल फाइबर परिवर्तन गर्न लागेका हौँ ।’

कम्पनीको कूल ग्राहक सङ्ख्या पाँच लाख भन्दा बढी छ । त्यसमध्ये ६५ प्रतिशत ग्राहकको अप्टिकल पावर लेभल -२४ भन्दा माथि रहेको भए पनि बाँकी ३५ प्रतिशतमा भने कम रहेको थियो । हालसम्म ९० प्रतिशतभन्दा धेरै ग्राहकको अप्टिकल फाइबरको गुणस्तर -२४ डीबीएमभन्दा माथि पुर्‍याइ सकिएको कम्पनीले जनाएको छ ।

‘ग्राहकले गुनासो गर्नु अघि नै हामी आफैँले स्वतस्फुर्त रुपमा अप्टिकल फाइबरको पावर लेभल चेक गर्छौँ र आवश्यक अवस्थामा परिवर्तन गर्ने गर्छौँ,’ नेपालले टेकपानासँगको कुराकानीमा भने, ‘यो अभियान हामीले विगत एक डेढ वर्षदेखि सुरु गरेका हौँ । हाम्रो लक्ष्य ९५ प्रतिशत ग्राहकको फाइबर लाइनको अप्टिकल पावर लेभल -२४ वा त्यसभन्दा माथि राख्ने हो । बाँकी ५ प्रतिशतमा हामीले चाहेर पनि पूर्ण रुपमा त्यो स्तरमा ल्याउन नसक्ने अवस्था रहन सक्छ ।’

कम्पनीका अनुसार सामान्यतया ३०० मिटरभन्दा लामो फाइबर केबल तानिएका ग्राहकको घरमा अप्टिकल पावर लेभलको समस्या आउने गरेको छ । अप्टिकल पावर लेभल र वायरलेस पावर लेभल दुवै स्तरमा सुधारको कार्य अगाडि बढाएपछि ग्राहकको गुनासो आउने क्रम समेत भारी मात्रामा घटेको कम्पनीका सीईओ नेपालले सुनाए । उनले अगाडि भने, ‘पुराना तार फेर्ने हाम्रो अभियानसँगै लथालिङ्ग भएका तार समेत सकेसम्म व्यवस्थापन गर्ने कार्यमा जोड दिएका छौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२