close

नेपाली बजारमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एस २१ एफई ५ जी, कति छ मूल्य ?

टेकपाना टेकपाना

पुस २९, २०७८ १३:२५

नेपाली बजारमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एस २१ एफई ५ जी, कति छ मूल्य ?

काठमाडौं । सामसङले २०२२ को आफ्नो पहिलो स्मार्टफोन ग्यालेक्सी एस २१ एफई फाइभजी सार्वजनिक गरेको छ  । ग्यालेक्सी एस २१ मा प्रिमियम फिचर नयनाभिराम डिजाइन, शक्तिशाली प्रोसेसिङ पावर र प्रोफेसनल लेभलको क्यामरा रहेको छ ।

ग्यालेक्सी एस २० एफईप्रति ग्राहकले दर्शाएको अभूतपूर्व विश्वासलाई ध्यान दिँदै आफूहरूले ग्यालेक्सी एस २१ एफई फाइभजी नेपाल भित्र्याएको सामसङ मोबाइल नेपालका बिजनेस प्रमुख प्रणयरत्न स्थापितले बताए ।

‘सर्वोत्तम श्रेणीको तीन ओटा, ६.४ इन्च को एफएचडी एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेश रेट र शक्तिशाली प्रोसेसर युक्त ग्यालेक्सी एस २१ एफई फाइभजीले युवा ग्राहकहरूको हरेक दिन अभूतपूर्व बनाउनेछ,’ उनले भने ।

उच्च श्रेणीको क्यामरा

ग्यालेक्सी एस २१ एफई फाइभजीमा उत्कृष्ट तीन ओटा क्यामरा जडान गरिएको छ । जसमा १२ मेगापिक्सेल (अल्ट्रा वाइड), १२ मेगापिक्सेलको वाइड एङ्गल लेन्स र आठ मेगापिक्सेलको टेलिफोटो लेन्स रहेका छन् ।

यसैगरी सेल्फी र भिडिओ कलका लागि फोनमा ३२ मेगापिक्सेल क्षमताको फ्रन्ट क्यामेरा राखिएको छ । यसमा राखिएको क्यामेराले दोहोरो रेकर्डिङ, पोट्रेट मोड, नाइट मोड र ३० गुणासम्मको जुम सपोर्ट गर्छ ।

अन्य स्पेसिफिकेसन

ग्यालेक्सी एस २१ एफई फाइभजीमा ६.४ इन्चको फुल एचडी प्लस डाइनामिक एमोलेड २x डिस्प्ले रहेको छ । जसमा १२० हर्ज रिफ्रेश रेट, २४० हर्ज टच स्याम्प्लिङ रेट रहेको छ । जसले गर्दा फोन चलाउँदा सिल्की सजिलो स्क्रोलिङ अनुभव हुनुका साथै एआईमा आधारित ब्लु लाइट कन्ट्रोल समेत गर्छ ।

जसले लामो समय फोन चलाउँदा समेत आँखा बिझाउने समस्या कम गर्ने कम्पनीको दाबी छ । त्यस्तै फोनमा ५ एनएम एक्सिनस २१०० प्रोसेसर र ४५०० एमएएच ब्याट्री दिइएको छ । यो फोन वायरलेस पावर शेयर र फास्ट चार्जिङ २.० का साथ उपलब्ध भएको छ ।

यसले २५ वाटको फास्ट चार्जिङलाई सपोर्ट गर्दछ । ६८ आईपी रेटिङ प्राप्त फोन भएका कारण यसमा धुलो र पानी प्रतिरोधक क्षमता रहेको छ । समग्रमा भन्नुपर्दा ग्यालेक्सी एस २१ एफई फाइभजीमा दिनभर चल्ने ब्याट्री, फाइभजी कनेक्टिभिटी र वाई-फाई सिक्स रहेको छ ।

भेरियन्ट, मूल्य र उपलब्धता

ग्यालेक्सी एस २१ एफई फाइभजी ग्राफाइट, लाभेन्डर, र अलिभ गरी तीन ओटा रङ्गमा उपलब्ध छ । ग्राहकहरूले ग्यालेक्सी एस २१ एफई फाइभजी ८ र्‍याम तथा २५६ जीबी रोम भेरियन्टका लागि ८९ हजार ९९९ रुपैयाँ खर्च गर्नुपर्नेछ । यो फोन सामसङका सीमित ब्राण्ड स्टोर तथा रिटेल स्टोरहरूबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२