काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स अति जरुरी भएकाहरूलाई एक हप्तापछि मात्र उपलब्ध गराउने भएको छ । हाल प्रिन्ट हुन बाँकी रहेका कार्डको मास प्रिन्ट गर्ने कार्य चालु रहेको भन्दै विभागले अति जरुरी स्मार्ट लाइसेन्सका लागि समेत कम्तिमा एक हप्ता कुर्नुपर्ने नियम बनाएको हो ।
विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरी र अति जरुरी स्मार्ट कार्ड प्रिन्ट चाहिने सबै व्यक्तिहरूले विभागमा स्मार्ट लाइसेन्स वा सवारी चालक अनुमतिपत्रको प्रिन्ट चाँडो पाउन निवेदन दिन सक्ने व्यवस्था छ । तर यसरी निवेदन दिँदा समेत कम्तिमा एक साता कुर्नुपर्ने भन्दै विभागले बुधबार सूचना प्रकाशित गरेको छ ।