close

सञ्चालनमा आउँदै सेक्युरिटी प्रेस, अब अन्तःशुल्क स्टिकर लगायतका छपाई नेपालमै हुने

टेकपाना टेकपाना

पुस २९, २०७८ २१:२

सञ्चालनमा आउँदै सेक्युरिटी प्रेस, अब अन्तःशुल्क स्टिकर लगायतका छपाई नेपालमै हुने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तः शुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतीस्थित आईटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबार निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका हुन् ।

‘हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदो रहेछ । त्यो तीन अर्ब स्टिकर छाप्न यस्ता मसिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु’ मन्त्री शर्माले भने, ‘कमसेकम अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर उपलब्ध गराउनुहोस् ।’

उनले अब एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यक पर्ने परिमाणको स्टिकर छाप्न सक्ने गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिए । जडान हुँदै गरेका अत्याधुनिक मसिनले नोट बाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको उल्लेख गर्दै उनले यसको बजार समेत ठूलो रहेको बताए ।

बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम सेक्युरिटी प्रेसले पाउनसक्ने मन्त्री शर्माको भनाई थियो । आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको जिकिर गर्दै मन्त्री शर्माले यसका लागि सरकार लगानी गर्न नहिच्किचाउने बताए । ‘यसले धेरै ठूलो व्यापार गर्नसक्छ । लगानी भनेको नाफाकै लागि हो’, उनले भने, ‘यसमा मैले घाटा देखिनँ ।

नाफा मात्रै हुने ठाउँमा लगानी गर्न सरकारले पनि हिचकिचाउनुपर्छ जस्तो मलाई लाग्दैन ।’ उनले नेपालमा कुनै पनि हालतमा चोरी नहुने तथा नक्कली स्टिकर बनाउन नमिल्ने स्तरको सुरक्षित स्टिकर छाप्नुपर्ने आवश्यकता औंल्याउँदै अब सुरक्षण मुद्रण केन्द्रले सो परिपूर्ति गर्नेमा विश्वास व्यक्त गरे । यसबाट अर्बौँको राजस्व चुहावटलाई नियन्त्रण गर्नसकिने विश्वास उनको छ ।

‘यहाँ प्रिन्ट गरेर अर्बौँको फाइदा मात्र गर्ने होइन, अर्बौँको राजस्व थप असुल हुने पनि देखिन्छ । अहिले मन्त्रालयले अन्तः शुल्क स्टिकरबाट करिब एक खर्ब बराबरको राजस्व उठाउने गरेको छ’, उनले भने, ‘यस्ता स्टिकरले सुशासन कायम गर्नसमेत सहयोग गर्न सक्छ ।’

यसैगरी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षण मुद्रण केन्द्र राज्यले सञ्चालन गरेका संस्था मध्ये उदाहरणीय संस्था बन्नसक्ने बताए । ‘यसले नमुनाको रूपमा काम गरोस्’, उनले भने, ‘भोलि गएर सरकारले चलाएको उद्योग पनि राम्रोसँग चल्न सक्छ, राम्रो हुँदो रहेछ भन्ने कुरा यसले स्थापित गर्न सकोस् ।’

नेपाल जस्तो मुलुकमा धेरै राजस्व छली हुने गरेको उल्लेख गर्दै उनले सुरक्षण मुद्रणबाट त्यसलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताए । उनले प्रेसमा धेरै लगानी आवश्यक हुने देखिएको भन्दै सरकारले बिस्तारै तह–तह गरेर लगानी थप्दै लैजानुपर्ने कुरामा जोड दिए ।

हाल स्टिकर छाप्ने काम जनक शिक्षा सामग्री केन्द्रले गर्दै आएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार दुई वर्षदेखि जनक शिक्षाले करिब २२ करोडमा स्टिकर छाप्दै आएको छ । यसअघि ‘ग्लोबल टेन्डर’ मार्फत् स्टिकर छापिँदै आएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२