close

एलन मस्कको रकेटमार्फत अन्तरिक्षका लागि उड्यो नेपालमै बनेको पहिलो स्याटलाइट

टेकपाना टेकपाना

पुस २९, २०७८ २१:४८

एलन मस्कको रकेटमार्फत अन्तरिक्षका लागि उड्यो नेपालमै बनेको पहिलो स्याटलाइट

काठमाडौं । नेपालमै बनेको पहिलो स्याटलाइट पीक्यू वान स्पेस एक्सको करेट मार्फत अन्तरिक्षका लागि उडेको छ ।  ओरियन स्पेसले नेपालमा बनाएको उक्त स्याटलाइट एलन मस्कको कम्पनी स्पेस एक्सको फाल्कोन–नाइन रकेटमार्फत् बिहीबार प्रक्षेपण गरिएको हो ।

फाल्कोन-नाइन मार्फत स्याटलाइट पृथ्वीभन्दा ५ सय किलोमिटर माथि अन्तरिक्षमा पुर्‍याइनेछ । अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट राति ९ बजेर १० मिनेटमा प्रक्षेपण भएको रकेटले १ घण्टा ५ मिनेटपछि सानोस्याट-१ अन्तरिक्षमा छोड्नेछ ।

यो स्याटलाइटले पृथ्वीलाई परिक्रमा गर्न ९० मिनेट लगाउने ओरियन स्पेसका सञ्चालक राकेश प्रजापतिले जानकारी दिए । अबको दुई वर्षसम्म पीक्यू वान अन्तरिक्षमा घुम्नेछ । स्पेनमा परीक्षण गरिएको यो स्याटलाइटको निर्माणको काम नेपाली विद्यार्थी, इञ्जिनियर तथा अमेच्योर रेडियो अपरेटरहरुको सक्रियतामा २०१७ देखि सुरु गरिएको थियो ।

२५० ग्राम तौल रहेको यो स्याटलाइट एउटा हातको हत्केलामा अटाउन सक्छ । यसको लम्बाइ, चौडाइ र उचाइ समान पाँच सेन्टिमिटर रहेको छ । यस्तै यसको अर्को मिसन भनेको स्पेसको बेटागामा रेडियसन मापन गर्नु हो ।

यो स्याटलाइटले अन्तरिक्षमा रहेको बेटागामा विकिरणको तिब्रता मापन गरेर पृथ्वीमा पठाउनेछ । यसका सम्पूर्ण हार्डवेयर र सफ्टवेयर नेपालमै डिजाइन, सोल्डर, परीक्षण तथा प्रोग्रामिङ नेपालमै भएको हो । यो स्याटलाइटमा अनबोर्ड कम्प्युटर, विद्युतीय पावर सब सिस्टम, सञ्चार सब-सिस्टम र पेलोड जडान गरिएको छ ।

यसमा क्यामेरा, एक्सेलेरोमिटर र जाइरस्कप जस्ता एड्भान्स पेलोड समावेश छन् । सोलार सेल्स २५० मोलिक्युलर वेट रहेको यो स्याटलाइटमा ३.७ भोल्ट, ११ सय एमएएचको लिथिनियम आयन ब्याट्री राखिएको छ । यो सूर्यको प्रकाशबाट चार्ज हुन्छ ।

सोलार सेलबाट ब्याट्रीमा पावर ट्रान्सफरलाई म्याक्सिमाइज गर्न यसमा म्याक्सिमम पावर पोइन्ट ट्र्याकिङ प्रविधिको प्रयोग गरिएको छ । नेपालमै स्याटलाइट बनाउन सुरु गर्ने र स्याटलाइट निर्माण सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले स्थापना भएको कम्पनीले हालसम्म नेपालमा विभिन्न इन्जिनियरिङ कलेज सहित पाकिस्तान र श्रीलङ्कामा समेत प्रशिक्षण दिँदै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२