close

अब स्मार्टफोनलाई वाकिटकी बनाउन सकिने, यस्तो छ नयाँ फिचर

टेकपाना टेकपाना

पुस ३०, २०७८ ९:४१

अब स्मार्टफोनलाई वाकिटकी बनाउन सकिने, यस्तो छ नयाँ फिचर

काठमाडौं । माइक्रोसफ्ट टिम्सको वाकिटकी फिचर आधिकारिक रुपमा आईओएस र एन्ड्रोइड मोबाइल डिभाइसमा उपलब्ध भएको छ । योसँग अब प्रयोगकर्ताले आफ्नो स्मार्टफोन वा ट्याब्लेटलाई वाकिटकी रुपमा प्रयोग गर्न सक्नेछन् ।

घोषणा भएको दुई वर्षपछि माइक्रोसफ्टले आईफोन, आईप्याडका अतिरिक्त एन्ड्रोइड फोनका टिम्स प्रयोगकर्ताका लागि यो फिचर सार्वजनिक गरेको हो ।

यसका अतिरिक्त माइक्रोसफ्टले जेब्रा टेक्नोलोजिजसँग सहकार्य गरी जेब्राका दर्जनौं एन्ड्रोइड फोनमा डेडिकेटेड पुश-टु-टक बटन समेत थप गरेको छ । योसँगै जेब्राका दर्जनौं एन्ड्रोइड फोनमा सहज रूपमा यो फिचर प्रयोग गर्न सकिने बताइएकाे छ ।

अग्रभागमा रहेर काम गर्ने कर्मचारी अर्थात् फ्रन्टलाइन वर्करहरुलाई लक्षित गरी यो फिचर ल्याइएको हो । एप प्रयोग गर्दा फ्रिक्वेन्सीको कुनै चिन्ता लिनु नपर्ने र वाई-फाई वा सेलुलर नेटवर्कको मद्दतले सजिलै संसारका सबै ठाउँमा सञ्चार गर्न सकिने कम्पनीले जनाएको छ ।

जेब्रा स्मार्टफोनमा वाकिटकी फिचर

यो एपले फ्रन्टलाइन वर्करका लागि पुश-टु-टक अर्थात् पीटीटी सर्भिस प्रदान गर्छ, जसमार्फत् सहभागीहरु एकै समयमा कुराकानी गर्न सक्छन् । माइक्रोसफ्टले बल्की डेडिकेटेड पीटीटी रेडियोको विकल्पमा यो एप प्रयोग गर्न सकिने बताएको छ ।

एपबाट फ्रन्टलाइन वर्करबीच सञ्चार गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ ।

हाल टिम्स एपमा वाकिटकी प्रि-इन्स्टल छैन । तपाईंले आफ्नो संस्थाका प्रयोगकर्ताका लागि यो सुविधा इनेबल (सुरुवात) गर्न सबैभन्दा पहिले टिम्स एडभिन सेन्टरबाट प्रयोगकर्ताहरूलाई तोकिएको एप सेटअप पोलिसीमा वाकिटकी थप्नुपर्छ ।

एक पटक इनेबल भएपछि वाकिटकी ४८ घण्टाभित्र एपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२