close

के हो प्राइभेट फाइभजी ? जुन अब तपाईं नजिकैको व्यवसायिक क्षेत्रमा आउँदैछ

टेकपाना टेकपाना

पुस ३०, २०७८ १४:३३

के हो प्राइभेट फाइभजी ? जुन अब तपाईं नजिकैको व्यवसायिक क्षेत्रमा आउँदैछ

काठमाडौं । फाइभजीमा आधारित वायरलेस सेवा भनेको यस्तो रेडियो कनेक्सन हो, जसले हावाको माध्यमबाट ल्यापटप र स्मार्टफोनमा कयौँ गिगाबाइट डेटा प्रसारण गर्नसक्छ । खासगरी इन्टरप्राइज अर्थात व्यवसायिक तथा कर्पोरेट क्षेत्रका लागि फाइभजी बढ्दो आकर्षणको विषय हो ।

यो रेडियो सञ्चारमा (थ्रीजी तथा फोरजी आदि) मा गरिएको अपग्रेड मात्रै भन्दा पनि बढी सफ्टवेयरसँग बढी सम्बन्धित विषय हो । जसले गर्दा कर्पोरेट ल्यानमा सफ्टवेयर चल्ने तरिकालाई नै बदल्नेछ ।

दूरसञ्चार कम्पनीहरूले उपलब्ध गराउने फाइभजी कनेक्टिभिटीभन्दा यो प्रविधिले छुट्टै र स्वतन्त्र रुपमा काम गर्न सक्छ । नियामकले छुट्याइदिने निश्चित फ्रिक्वेन्सी प्रयोग गरेर कर्पोरेट तथा व्यावसायिक सङ्घ संस्थाले आफ्नो सीमित क्षेत्रमा प्राइभेट फाइभजी नेटवर्क तयार पार्न सक्छन् ।

इन्डस्ट्री ४.० मा मसिन अटोमेसन र इन्टरनेट अफ थिङ्ग्स (आईओटी) का लागि आधुनिक एवम् उच्च गतिको कनेक्टिभिटी अत्यावश्यक बनिसकेको छ । प्राइभेट फाइभजी नेटवर्कले उद्योग क्षेत्रका लागि स्पिड, नियन्त्रण, विश्वसनीयता र सुरक्षा आदि उपलब्ध गराउन सक्छ । 

सम्पर्क (कनेक्टिभिटी) र सञ्चारको  बढ्दो मागका कारण प्राइभेट फाइभजीको अभ्यास सुरु भएको छ । जुन अबको क्लाउड युगमा इन्टरप्राइज र परिवर्तनलाई उच्चतम् रुपमा पच्छ्याइरहेको क्षेत्रका लागि डिजाइन गरिएको वायरलेस प्रविधि हो ।

थुप्रै संघ-सङ्गठनहरूले प्राइभेट फाइभजी आत्मसाथ गर्ने वा त्यस विषयमा सोच्ने काम सुरु गरिसकेका छन् । किन भने इन्टरप्राइज तथा व्यावसायिक संस्थाले यो नेटवर्क र यसमा हुने डेटालाई अझ राम्रोसँग नियन्त्रण गर्न सक्छन् ।

यो निश्चित स्थानमा सीमित (रेस्ट्रिक्टेड) गर्न समेत सकिन्छ, म्यानुफ्याक्चरिङ प्लान्ट र बन्दरगाह क्षेत्रमा इनडोर वा आउटडोर दुवै स्थानमा कभरेज उपलब्ध गराउन सकिन्छ ।

यति मात्र होइन, प्राइभेट फाइभजीले सङ्घसंस्थालाई सेक्युरिटी सेटिङ, नीति तथा अन्य वायरलेस सञ्चारलाई नियन्त्रण र कस्टमाइज गर्ने सुविधा समेत दिन्छ ।

इकोनोमिस्ट इम्प्याक्टले एनटीटीसँगको सहकार्यमा प्रकाशित गरेको नयाँ अध्ययनमा सर्वेक्षण गरिएका विश्वभरका सङ्घसंगठनमध्ये आधाजसोले आगामी छ देखि २४ महिनाभित्रमा प्राइभेट फाइभजी सुरु गर्ने योजना बनाइसकेका छन् । जसमा जर्मनी, जापान, बेलायत र अमेरिकामा रहेका अटोमोटिभ तथा म्यानुफ्याक्चरिङ, ऊर्जा, स्वास्थ्योपचार, फर्मा, रिटेल र लजिस्टिक क्षेत्रका रहेका छन् ।

अध्ययन अनुसार विभिन्न सङ्घसंस्थाले प्राइभेट फाइभजी सहितको भावी पुस्ताको कनेक्टिभिटी र सञ्चार प्रविधिलाई व्यापक रुपमा आत्मसाथ गरिरहेका छन् । अध्ययनमा सहभागी ९४ प्रतिशतले वाई-फाई सिक्स, फोरजी तथा फाइभजीमा अपग्रेड गर्ने बताएका छन् ।

त्यस्तै करिब एक चौथाई (२४ प्रतिशत) ले प्राइभेट फाइभजी नेटवर्कका लागि पाइलटिङ गरिरहेको प्रतिक्रिया दिएका छन् भने छ प्रतिशतले कम्तिमा एउटा प्राइभेट फाइभजी नेटवर्क सञ्चालनमा ल्याइसकेको उल्लेख गरेका छन् ।

सञ्चालनमा रहेका प्राइभेट फाइभजी नेटवर्क मध्ये सबैभन्दा धेरै अमेरिकामा (९.३ प्रतिशत), त्यसपछि जर्मनी (७ प्रतिशत) रहेको छ । जर्मनी प्राइभेट फाइभजी पाइलिङमा भने अगाडि (३३ प्रतिशत) देखिएको छ ।

प्राइभेट फाइभजी प्रतिको बढी आकर्षण खासगरि त्यस्ता उद्योग क्षेत्रमा देखिन्छ, जहाँ रोबोट र स्वचालित मसिन जस्ता स्मार्ट म्यानुफ्याक्चरिङमा काम गर्न खोजिन्छ ।

ऊर्जा (३९ प्रतिशत), यातायात (३३ प्रतिशत) त्यस्ता उद्योग क्षेत्र हुन्, जहाँ प्राइभेट फाइभजी नेटवर्कको पाइलटिङ कार्य बढी भइरहेको छ । ट्रान्सपोर्ट कम्पनीहरू (४१ प्रतिशत) ले त यस अघि नै प्राइभेट फाइभजी नेटवर्क बनाउने तयारी थालिसकेका छन् ।

त्यस्तो अटोमोटिभ र म्यानुफ्याक्चरिङ उद्योग क्षेत्रमा २५ प्रतिशत कम्पनीहरूले प्राइभेट फाइभजीका लागि पाइलटिङ गरिरहेको र ५ प्रतिशतमा त सञ्चालनमा आइसकेको छ । यसैगरी स्वास्थ्य र फर्मा क्षेत्रमा १८ प्रतिशत कम्पनीले प्राइभेट फाइजभीको पाइलट सुरु गरेको र पाँच प्रतिशतमा नेटवर्क सञ्चालनमा रहेको छ । 

प्राइभेट फाइभजीमा जानुको मुख्य कारण सुरक्षा 

प्राइभेट फाइभजी प्रतिको मुख्य आकर्षणको कारण सेक्युरिटी नै हो । सर्वेक्षणमा ६९ प्रतिशत सहभागीले आफ्नो वर्तमान कनेक्टिभिटी र सञ्चार प्लेटफर्मले आफ्नो नेटवर्क सेक्युरिटी सम्बोधन गर्न नसकेको प्रतिक्रिया दिएका थिए ।

७५ प्रतिशत स्वास्थ्य र फर्मा क्षेत्रका सङ्घसङ्गठनका लागि सेक्योरिटी ठूलो तनावको विषय हो । हालको नेटवर्कमा रहेका अन्य दुःखद पक्षमा डेटा माथिको नियन्त्रण (४८ प्रतिशत), कभरेज तथा स्पिड (४३ प्रतिशत), विद्यमान सेवा प्रदायकले प्रतिक्रिया दिन लगाउने समय (४० प्रतिशत) रहेका छन् ।

सुरक्षाकै कारण अधिकांश सङ्घसंस्था वाईफाई बाहेकको समाधान खोजिरहेका छन् । ८७ प्रतिशत सहभागीले इन्टरप्राइजका लागि वाई-फाई नेटवर्कले पर्याप्त मात्रामा सुरक्षा दिन नसकेको बताएका छन् ।

अधिकांश (८६ प्रतिशत) सहभागीले प्राइभेट फाइभजीलाई वाई-फाईको उचित विकल्पको रुपमा हेरेका छन् । कस्टमाइज  सेक्युरिटी र डेटा संरक्षणका अलावा प्राइभेट फाइभजीका अन्य थुप्रै उपयोगिताहरू छन् ।

जसमा डेटाको गोपनीयता, न्यूनतम लेटेन्सी सहितको फास्ट कनेक्सन र कनेक्टिभिटीका लागि नेटवर्कको विस्तारित विश्वसनीयता र सञ्चार रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२