close

फाइभजी सपोर्टसहित एप्पलको सस्तो आईफोन सार्वजनिक हुँदै

टेकपाना टेकपाना

पुस ३०, २०७८ १५:४५

फाइभजी सपोर्टसहित एप्पलको सस्तो आईफोन सार्वजनिक हुँदै

काठमाडौं । एप्पलले ‘आईफोन एसई’ सेगमेन्टमा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । विभिन्न स्रोतअनुसार सन् २०२२ को पहिलो एप्पल इभेन्टबाट यो आईफोन सार्वजनिक हुनेछ ।

फाइभजी इन्टरनेट सपोर्ट गर्ने यो आईफोन आउँदो मार्च वा अप्रिलमा विश्वबजारमा सार्वजनिक हुने चर्चा गरिएको छ । ब्लुम्बर्गका पत्रकार एवं लामो समयदेखि एप्पलबारे लेख्दै आएका मार्क गरम्यानले हालै आफ्नो न्युजलेटरमा नयाँ आईफोन एसई सार्वजनिक हुने तरखरमा रहेको उल्लेख गरेका छन् ।

उनले यो फोन मार्च वा अप्रिलमा हुने एप्पल इभेन्टमा सार्वजनिक हुने उल्लेख गरेका छन् । तर यो आईफोनको नाम ‘आईफोन एसई थ्री’ वा ‘आईफोन एसई आईफोन १३ सिरिज’ कुन हुनेछ भन्ने विषयमा उनले केही खुलाएका छैनन् ।

यसअघि बाहिरिएका समाचारमा एप्पलले ‘आईफोन एसई थ्री’ नाममा यो आईफोन सार्वजनिक गर्ने चर्चा गरिएको थियो ।

यदि अनलाइनमा उपलब्ध विवरणलाई आधार मान्ने हो भने यो आईफोनमा कम्पनीकै ए१५ बायोनिक एसओसीमा आधारित हुनेछ र याे ३ र ४ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुनेछ ।

फाइभजी कनेक्टिभिटी र कम्पनीको आफ्नै चिपसेट ए१५ मा आधारित आईफोन हुने चर्चासँगै यसले करोडौं एन्ड्रोइड प्रयोगकर्ता आफूतिर तान्ने विश्लेषण गरिएको छ ।

साथै फोनमा ४.७ इन्चको रेटिना एचडी एलसीडी डिस्प्ले हुने चर्चा छ । होम बटनमै फिंगरप्रिन्ट सेन्सरका साथ आउने फोनमा फेस लक लगायतका सुरक्षा फिचर उपलब्ध हुने अनुमान छ ।

बाहिरिएका खबरलाई विश्वास गर्ने हो भने फोनमा १२ मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ । यो फोनले क्वालकम स्न्यापड्रागन एक्स६० फाइभजी मोडियम चिपसमेत सपोर्ट गर्नसक्ने अनुमान गरिएको छ ।

यो चिप हाल आईफोन १३ सिरिजमा प्रयोग गरिएको छ । यस हिसाबले पनि यो फोनले मिडरेन्जमा नयाँ बजार सिर्जना गर्नसक्ने अनुमान गरिएको छ ।

विशेषगरी उच्च मूल्य र प्रविधिका कारण छुट्टै पहिचान बनाएको एप्पलको सस्तो मूल्यमा आईफोन ल्याउने तयारीसँगै एन्ड्रोइड स्मार्टफोनको व्यवसायमा धक्का पुग्ने आँकलन गरिएको छ ।

यो आईफोन ४०० डलरकाे हारहारीमा उपलब्ध हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२