close

मोबाइल एसएमएस तथा एमएमएसमा नयाँ पुस्ताको प्रविधि, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

पुस ३०, २०७८ २१:४२

मोबाइल एसएमएस तथा एमएमएसमा नयाँ पुस्ताको प्रविधि, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । पुरानो मोडेलको सेल फोनसँगै दशौकोँदेखि टेक्स्ट म्यासेज हाम्रो दैनिक जीवनको नियमित अङ्ग बनिसकेको छ । तर हामीले अहिलेको समयमा प्रयोग गर्ने एसएमएस भने त्यति परिपक्व चाहिँ भइसकेको छैन ।

यसको प्रकृतिले नै एसएमएस सीमित प्रकारको छ र यसको सेक्युरिटी प्रोटोकल समेत थोरै छ । त्यसैले स्मार्टफोनको अहिलेको युगमा थप केही उपयोगी बनाउनेतर्फ अग्रसर हुने बेला आएको छ ।

यसका लागि गुगलको नेतृत्वमा म्यासेजको नयाँ स्ट्यान्डर्ड (मानक) आरसीएस विकास भएको छ । जसले जीएसएमएको युनिभर्सल प्रोफाइललाई एकत्रित गर्नेछ । त्यसैअनुरूप पुरानो एसएमएस तथा एमएमएसको साटो आरसीएस प्रयोगमा आएको हो ।

यसले हामीलाई सबै प्रयोगकर्तालाई ‍ईन्ड-टु-ईन्ड इन्क्रिप्सन (म्यासेज पठाउने र पाउने बाहेक बीचमा रहने इन्टरनेट तथा मोबाइल सेवा प्रदायक र गुगल जस्ता कम्पनीले समेत हेर्न नसक्ने गरी सुरक्षित पारिने प्रविधि) जस्ता उपयोगी किसिमका थुप्रै आधुनिक फिचर उपलब्ध गराउँछ । गुगलले आरसीएसका समग्र च्याट फिचर आफ्नो मेसेजेज एपमा समावेश गरिसकेको छ ।

जसको प्रारम्भिक सेटअप समेत निकै साधारण छ । पछिल्लो समय थुप्रै स्मार्टफोनमा गुगल मेसेजेज एप प्रिइन्स्टल (डाउनलोड नै गर्नु नपर्ने गरी पहिल्यै फोनमा समावेश भएर आउने) भएरै आउने गर्छ ।

त्यस हिसाबले तपाईंले यस अघिदेखि नै यो एप एसएमएस तथा एमएमएसका लागि प्रयोग गर्दै आउनु भएको पनि हुनसक्छ । चिन्ता नगर्नुहोस्, तपाईंको मोबाइलमा गुगल मेसेजेज एप छैन भने यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुन्छ ।

आज हामी तपाईंलाई आफ्नो मोबाइलमा आरसीएस च्याट इनेबल (सक्रिय) पार्ने सजिलो तरिका बताउँदै छौँ । जसले तपाईँको म्यासेजिङ अनुभवलाई नयाँ स्तरमा लैजानेछ । 

आफूले आरसीएस च्याट मेसेज प्रयोग गरेको वा नगरेको तपाईँ आफैँले थाहा पाउन सक्नुहुन्छ । यदि आरसीएस च्याट मेसेज प्रयोग भइरहेको छ भने मेसेज लेख्ने बक्स (डाइलग बक्स) मा ‘च्याट मेसेज’ लेखिएको देखिन्छ ।

यदि तपाईँ मेसेजेज एपको अप-टु-डेट भर्सन प्रयोग गरिरहेको व्यक्तिसँग मेसेजमा च्याट गरिरहनु भएको छ र गुगलले दुवैतर्फ त्यसले सपोर्ट गर्ने यकिन गरेको छ भने त्यस्तो मेसेस ‘इन्ड-टु-इन्ड इन्क्रिप्टेड’ हुन्छ । जुन तल तस्वीरमा जस्तै सानो आकारको ‘लक आइकन’ (ताला लगाएको जस्तो सङ्केत) सहित देखिन्छ । 

गुगल मेसेजेजमा देखिने इन्क्रिप्सन सक्रिय भएको आरसीएस च्याट । 

यो अवस्थाका लागि गुगल मेसेजेजले आफैँ आरसीएस च्याट इनेबल गर्दैन । त्यसैले यदि तपाईँ आरसीएस मेसेज प्रयोग गर्न चाहनुहुन्छ भने तपाईँ आफैँले म्यानुअल्ली त्यसलाई इनेबल गर्नुपर्ने हुन्छ । साथै यसलाई डिसेबल (निस्क्रिय) पार्ने सुविधा समेत यसमा रहेको हुन्छ । 

के हो आरसीआर च्याट ? 

आरसीएसको पूरा रूप ‘रिच कम्युनिकेसन सर्भिसेस’ (Rich Communication Services) हो । जुन चाहिँ हामीले अहिलेसम्म प्रयोग गर्दै आएको एसएमएस तथा एमएमएसको अर्को पुस्ता (नेक्स्ट जेनेरेसन) हो ।

बजारमा आरसीएस स्ट्यान्डर्डका थुप्रै प्रयोग र भर्सनहरू छन् । तर सामान्य रूपमा भन्नुपर्दा यसले तपाईँलाई वाई-फाई तथा डेटा कनेक्सनमार्फत आरसीएस सपोर्ट गर्ने फोन तथा फोन नम्बरमा मेसेज तथा फोटो भिडिओ लगायतका मिडिया फाइल पठाउन सम्भव तुल्याउँछ ।

यसमा मेसेञ्जर तथा ह्वाट्सएपमा जस्तै अर्को तर्फको व्यक्तिले टाइपिङ गरिरहेको इन्डिकेटर, प्रापकले मेसेज पढिसकेको सङ्केत र ग्रुप च्याट आदि समेत गर्न सकिन्छ । जीएसएमए एसोसियसन युनिभर्सल प्रोफाइलको रुपमा आरसीएसलाई लागू गर्न चाहेको छ ।

आरसीएस स्ट्यान्डर्डमा अन्तर सञ्चालनलाई सुनिश्चित गर्न विभिन्न कम्पनी तथा सङ्गठन सहमत पनि भइसकेका छन् । यद्यपि केही सेवाप्रदायकले प्रयोग गरेका आरसीएस स्ट्यान्डर्ड युनिभर्सल प्रोफाइलमा छैनन् ।

यसको अर्थ कहिलेकाहीँ केही निश्चित मोबाइलमा अतिरिक्त मेसेजिङ फिचर  लक भएको हुनसक्ने अथवा दिइएको नेटवर्कमा मात्रै काम गर्ने हुनसक्छ । यस्तोमा तपाईँसँग उचित नेटवर्कमा उचित मोबाइल छैन र तपाईँको साथीसँग पनि समान नेटवर्कमा उचित मोबाइल छैन भने आरसीएसका यी नयाँ फिचर त्यसमा प्रयोग गर्न सक्नुहुन्छ । 

आरसीआर अर्को पुस्ताको मेसेजिङ स्ट्यान्डर्ड हो । जसलाई तपाईँ हामी सबैले अहिले नै प्रयोग गर्न सक्छौँ । यद्यपि यसले हालको एसएमएस तथा एमएमएसलाई समग्र रुपमा विस्थापित गर्न भने समय लाग्नेछ । गुगलको महत्वाकाङ्क्षा धेरै छ ।

तर निश्चित रुपमा एउटै युनिभर्सल मेसेजिङ प्रोटोकलबाट विश्वलाई नै एकतावद्ध गर्न भने सम्भव छ । यदि तपाईँले माथि भनिएजस्तै गरी आफ्नो फोनमा आरसीएस च्याट इनेबल गर्नु भएको छ भने अब तपाईँसँग एन्ड्रोइड फोन बोक्ने आफन्त तथा साथीभाइसँग मेसेज गर्ने निकै उत्कृष्ट विकल्प तयार छ । 

गुगल मेसेजेजमा कसरी इनेबल गर्ने आरसीएस च्याट ? १. सुरुमा आफ्नो मोबाइलमा गुगल मेसेजेज  (Messages) एप खोल्नुहोस् । 

२. माथि दायाँ कुनामा रहेको तीन ओटा थोप्ला भएको मेनुमा थिच्नुहोस् र सेटिङ (Settings) मा जानुहोस् । 

३. जनरल (General) हुँदै च्याट फिचर्स (Chat features) मा दबाउनुहोस् । 

४. इनेबल च्याट फिचर्स (Enable chat features) बटनमा थिचेर त्यसलाई चालू गर्नुहोस् । 

५. यो च्याट फिचरले तपाईँको मोबाइल सेवा प्रदायकले उपलब्ध गराएसम्म तपाईँको मोबाइललाई स्वचालित किसिमले रजिस्टर गर्ने प्रयास गर्छ । 

यसमा तपाईँले म्यासेज पढेको र टाइपिङ गरेको दुवै अर्कोले थाहा पाउने फिचर डिफल्ट रुपमा इनेबल हुन्छ । चाहेको समयमा तपाईंले त्यसलाई जुनसुकै समयमा बन्द गर्न सक्नुहुन्छ ।

यसमा तपाईँले डेटाको सीमितता भएको अवस्थामा स्वतः डाउनलोड हुने फाइलको सेटिङ समेत मिलाउन सक्नुहुन्छ । आरसीएस इनेबल भइसकेपछि तपाईँले रियलटाइम (तत्कालै) मेसेज पठाउन र ठूला मिडिया फाइल अन्य व्यक्तिहरूलाई पठाउन सक्नुहुन्छ ।

जुन तपाईंले आरसीएसले प्रतिस्थापित एसएमएस तथा एमएमएस बाहेक ह्वाट्सएपमा अनुभव गरेजस्तै हो । यदि तपाईँ आरसीएस च्याट अफ गर्न चाहनुहुन्छ भने माथि जस्तै ‘इनेबल च्याट फिचर्स’ (Enable chat features) मा गएर त्यसलाई डिसेबल अर्थात निस्क्रिय पनि बनाउन सक्नुहुन्छ ।

यहाँनिर ख्याल गर्नुपर्ने महत्त्वपूर्ण कुरा के छ भने यदि नयाँ फोन लिनु भएको छ भने सुरुमा आफ्नो पुरानो फोनमा आरसीएस च्याट फिचर डिसेबल गर्न नभुल्नुहोस् । तर यदि पुरानो फोनमा तपाईँको पहुँच छैन भने यहाँ क्लिक गरेर आफ्नो फोन नम्बर डिरजिस्टर (रजिस्टरबाट हटाउने काम) गर्न पनि सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२