close

स्कुल बन्द भएपछि अनलाइनसँगै एफएम र टिभीमा प्रसारण गरिँदै १० कक्षासम्मका पाठ्यसामग्री

टेकपाना टेकपाना

माघ १, २०७८ १०:४२

स्कुल बन्द भएपछि अनलाइनसँगै एफएम र टिभीमा प्रसारण गरिँदै १० कक्षासम्मका पाठ्यसामग्री

काठमाडौं । कोभिड संक्रमण फैलिने क्रम पुनः तीव्र बनेसँगै विद्यालयहरू बन्द भएका छन् । यस्तोमा बालबालिकाको पठनपाठन प्रभावित हुन नदिन सरकारले वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिने भएको छ ।

यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित श्रव्य दृश्य सामग्री तयार पारेको छ । ती श्रव्यदृश्य पाठहरू प्रसारण हुने समय तय गरिएको छ ।

जसअनुरूप कक्षा ७ र ८ का विषयगत पाठहरू बिहान ५ः४५ बजेदेखि ७ बजेसम्म र कक्षा ६ र ५ का श्रव्यदृश्य पाठहरू बिहान ७ः४५ बजेदेखि ९ बजेसम्म तथा कक्षा १ देखि ४ सम्मका पाठहरू अपरान्ह ४ः३० बजेदेखि साँझ ७ बजेसम्म शनिबार बाहेकका दिन प्रसारण हुनेछन् । जुन नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट प्रसारण भइरहेका छन् ।

त्यस्तै कक्षा १ देखि १० सम्मका विषयगत श्रव्यदृश्य सामग्रीहरू डिशमिडिया नेटवर्कको डिशहोम, नेट टिभी, म्याक्स टिभी, मेरो टिभी र क्लियर टिभीको स्कुल एजुकेसन अर्थात विद्यालय शिक्षा च्यानलबाट समेत शनिबार बाहेकका दिनमा बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म प्रसारण भइरहेका छन् ।

केन्द्रले प्रसारित श्रव्यदृश्य पाठहरूबाट विद्यार्थीहरूले फाइदा लिनसक्ने वातावरण बनाइदिन अनुरोध गरेको छ । यहाँ क्लिक गरेर केन्द्रको वेबसाइटमा गएर समेत श्रव्यदृश्य पाठहरूको प्रसारण समय तालिका हेर्न सकिनेछ ।

यहाँ क्लिक गरी केन्द्रको युट्युब च्यानलमा गएर आफ्नो अनुकूल समयमा आवश्यकता अनुसार यी पाठ्यसामग्री हेर्ने सुविधा समेत मिलाइएको छ । इन्टरनेट तथा टेलिभिजनको पहुँचमा नरहेका विद्यार्थी तथा बालबालिकालाई लक्षित गर्दै रेडियो एफएमबाट समेत पाठ्यसामग्री प्रसारण थालिएको छ ।

जसअनुरूप कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू रेडियो नेपालबाट शनिबार बाहेक प्रत्येक दिन साँझ ५ः१५ बजेदेखि ५ः४५ बजेसम्म र बेलुकी ७ः२५ बजेदेखि ७ः५५ बजेसम्म नियमित प्रसारण भइरहेको छ ।

त्यसैगरी केन्द्र र सामुदायिक रेडियो प्रसारण सङ्घबीचको सहकार्यमा देशभरका २०१ भन्दा बढी सामुदायिक रेडियोहरूमार्फत कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू बिहान १० बजेदेखि ११ बजेसम्म र पुनः प्रसारण बेलुकी ५ बजेदेखि ६ बजेसम्म प्रसारण भइरहेको छ । यी श्रव्य पाठहरू यहाँ क्लिक गरी फेसबुक पेजमा गएर समेत सुन्न सकिन्छ । 

यति मात्र होइन यहाँ क्लिक गरी केन्द्रले तयार पारेको लर्निङ पोर्टलमार्फत कक्षा १ देखि १२ सम्मका पुस्तक तथा पाठ्यसामग्री रमाइलो गरी अध्ययन गर्न र गृहकार्य गर्ने सुविधा समेत छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२