close

तनहुँमा ई-पासपोर्ट वितरण सुरु

टेकपाना टेकपाना

माघ १, २०७८ १२:५

तनहुँमा ई-पासपोर्ट वितरण सुरु

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण सुरु गरेको छ । शुक्रबारदेखि जिल्लामै याे सेवा सुरू भएपछि विद्युतीय राहदानी लिन काठमाडौं जानुपर्ने बाध्यता हटेकाे छ ।

पहिलो चरणमा दैनिक १० जनालाई सेवा प्रदान गर्ने गरी विद्युतीय राहदानी सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए ।

विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र वा यसको १० अङ्कको नम्बर अनिवार्य गरिएको छ । त्यसैले सर्वसाधारणले पहिला राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएको छ ।

गत मङ्सिर १ गतेदेखि जारी भएको विद्युतीय राहदानी वितरणलाई सरकारले देशव्यापी बनाउँदै लगेको छ ।

विद्युतीय राहदानी के हो ?

विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औंठाछाप, तस्वीर लगायतका व्यक्तिगत विवरण हुन्छन् ।

यी विवरण राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकमा जारी भएको अत्याधुनिक राहदानीमध्येमा पर्दछ ।

ICAO PKD मार्फत सूचना रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।

विशेषताहरु के छन् ?

याे पोलिकार्बोनेट सहितको विद्युतीय राहदानी हो । पोलिकार्बोनेट सहितको डेटापेजमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ, जुन आँखाले सहजै देख्न सकिँदैन । यो तेस्राे पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी भएकाे सरकारकाे दाबी छ ।

साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ । साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी छन् । अब जारी हुने राहदानीहरु कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण (३४ र ६६ पृष्ट), सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२