close

विश्वको जनसङ्ख्याभन्दा बढी पटक हेरिएको युट्युब भिडिओ, जसले पायो १० अर्ब बढी भ्युज

टेकपाना टेकपाना

माघ १, २०७८ २२:१

विश्वको जनसङ्ख्याभन्दा बढी पटक हेरिएको युट्युब भिडिओ, जसले पायो १० अर्ब बढी भ्युज

काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युवमा रहेका भिडिओ दैनिक लाखौँले हेर्छन् । तर त्यसमध्ये केही यस्ता भिडिओ हुने गर्छन्, जसलाई सबैभन्दा धेरैले रुचाउँछन् । यस्तै एउटा भिडिओ छ, बेबी शार्क डान्स (Baby Shark Dance) ।

यही भिडिओ विश्वभर सबैभन्दा धेरै पटक हेरिने युट्युब भिडिओ बन्न सफल भएको छ । यो एउटा यस्तो युट्युब भिडिओ बनेको छ, जसले दश अर्ब भ्युज पार गर्ने पहिलो भिडिओको रेकर्ड समेत राखेको छ ।

यसअघि कुनै पनि भिडिओले युट्युबमा यति धेरै भ्युज पाएको अर्थात् यति धेरै पटक हेरिएको इतिहास छैन । बेबी शार्क भिडिओ विश्वभर गाइने र नाचिने भिडिओ हो । यसमा कार्टुन क्यारेक्टरको प्रयोग गरिएको छ ।

यो भिडिओको ट्र्याकलाई दक्षिण कोरियाली म्युजिकको साथमा प्रस्तुत गरिएको छ । योनहाप न्युज एजेन्सीको रिपोर्ट अनुसार दक्षिण कोरियाली ट्र्याकले लुइस फोन्सी तथा ड्याडी यान्कीको मेगाहिट ‘डेस्पासिटो’को म्युजिक भिडिओलाई पछाडि पारेको छ ।

जसलाई ७.७ अर्ब पटक हेरिएको छ । बेबी शार्क भिडिओ आजभन्दा करिब छ वर्ष अघि अर्थात सन् २०१६ को जुनमा रिलिज भएको थियो । जुन बालबालिकाको लागि कोरियन ब्यान्ड पिङ्कफोङ्ग सिरिजको गीत हो ।

यो गीत विश्वभरका बालबालिकाबीच आफ्नो आकर्षक ट्युन तथा लिरिक्सका कारण निकै लोकप्रिय छ । यो गीतले २०२० को नोभेम्बरमा गिनिज बुक वर्ल्ड रेकर्डमा समेत आफ्नो नाम लेखाउन सफल भएको थियो ।

त्यसताका यो भिडिओको भ्युज करिब ७ अर्ब रहेको थियो । त्यसयताको १५ महिनामा यो भिडिओ सबैभन्दा धेरै पटक हेरिने भिडिओको सूचीमा पहिलो नम्बरमा उक्लेको हो ।

संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष (यूएनएफपीए) का अनुसार विश्वको कुल जनसङ्ख्या करिब सात अर्ब ८० करोड छ । बेबी शार्कको भिडिओले प्राप्त गरेको भ्युज त्यसभन्दा पनि निकै धेरै हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२