close

अब विद्युतीय राहदानीका लागि लाइन लाग्नु नपर्ने

टेकपाना टेकपाना

माघ २, २०७८ ८:२८

अब विद्युतीय राहदानीका लागि लाइन लाग्नु नपर्ने

काठमाडौं । पालो  नआउँदै  लाइनमा  बस्ने  प्रवृत्तिका  कारण  काठमाडौँको  त्रिपुरेश्वरस्थित  राहदानी  विभागमा  भीड  बढेको  छ । सरकारले विद्युतीय राहदानीको प्रचलन   सुरु   गरेसँगै   राहदानी   बनाउनेको चाप थपिएको हो ।

भीडलाई व्यवस्थित गर्न राहदानी विभागले अनलाइनबाट समय लिएर आउने  नीति  ल्याएको  छ  ।  घरबाटै  अनलाइन फाराम भरेपछि हरेक दिन बिहान ११ बजे, अपराह्न १२, १ र २ बजेको पालो तोकिन्छ । त्यसरी समय पाएकालाई पालैपालो राहदानी उपलब्ध गराउने गरिएको छ ।

विभागका  महानिर्देशक  डोरनाथ  अर्यालले  सेवाग्राहीलाई  एमआरपी राहदानी  लिँदाकै  जस्तो  बिहानैदेखि  लाइनमा  बस्ने  बानी  परेको गोरखापत्रलाई बताएका छन् । उनले भनका छन्,  ‘अब लाम  लाग्नु  आवश्यक  छैन  ।  राहदानी  लिन तोकिएको समयमा आइपुग्दा हुन्छ  ।’  

स्वास्थ्य  सावधानीका  मापदण्डमध्ये मास्कको मात्र प्रयोग गर्नेहरू लाममा अधिक हुने गरेका छन्  ।  कतिपयले  त  मास्क  पनि  लगाउने गरेका छैनन् ।

सामाजिक दूरी  कायम  गर्ने,  बेला  बखतमा  सेनिटाइजरको प्रयोग गर्नेलगायतका सुरक्षा  मापदण्ड  अपनाउनेहरू  सकभर देख्न पाइँदैन । सरकारले  अत्यावश्यक  सेवाका रूपमा राहदानी वितरणलाई पनि समावेश गरेकाले यस सेवालाई महामारीका  कारण  स्थगित  गर्न  नमिल्ने  भनाइ  विभागका  पदाधिकारीको  छ  ।  

विभागका तीन जना कर्मचारीलाई कोभिड  सङ्क्रमण  देखिएको  छ । अन्य केहीलाई पनि स्वास्थ्य समस्या  देखिएको  छ  ।  विभागका  महानिर्देशक  अर्यालले  आफ्नो  स्वाब परीक्षण गराउँदा नेगेटिभ आए पनि स्वास्थ्य समस्या कायम रहेको बताउँछन् ।

सङ्क्रमणको  जोखिम  बढ्दै  जाँदा राहदानी सेवालाई निरन्तरता दिन  अपनाउनुपर्ने  विधिका  बारेमा  विभागमा  छलफल  सुरु  भएको  छ । उनले भीड कम गर्न प्रहरीको सहयोग लिनुपर्ने देखिएको बताउँदै  सेवाग्राहीलाई  आफ्नो  पालो कुन बेला आउँछ भन्ने थाहा पाउनका  लागि  थप  टेलिफोनको  व्यवस्था गरिने जनाए ।

उपत्यकामा  ललितपुर,  भक्तपुर  र  काठमाडौँ  जिल्ला  प्रशासन  तथा  हरेक  जिल्लाका  जिल्ला  प्रशासन  कार्यालयबाट  पाँच  हजार  रुपियाँमा एक हप्ताभित्र सहजै विद्युतीय राहदानी वितरण भइरहेको छ । दुई दिनभित्र  राहदानी  लिन  चाहनेले  १२  हजार  रुपियाँ  खर्च  गरेर  विभागमा  आउन नपर्ने उनको भनाई छ ।

यद्यपि विद्युतीय  राहदानी  लिँदा  बायोमेट्रिक  परीक्षणका  लागि भने  व्यक्ति  लाइनमा  बस्नुपर्ने  हुन्छ  ।  बाहिर  भीडबाट  सोझै  विभागभित्र  प्रवेश  गरेकालाई  सेनिटाइजरले  हात  सफा  गर्न लगाइए पनि शरीर सङ्क्रमणरहित नहुनसक्छ  ।  

त्यसैले  लाइनमा  सँगै  बसेका  विभागका  कर्मचारीमा  सङ्क्रमित  सेवाग्राहीबाट  भाइरस  सर्न सक्ने सम्भावना उत्तिकै हुन्छ । नियमअनुसार बायोमेट्रिक परीक्षणमा सहभागी  भई  प्रमाणित  नभएसम्म  विद्युतीय राहदानी दिन मिल्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२