close

४४ पैसाले घट्यो मोबाइल कलको शुल्क

टेकपाना टेकपाना

माघ २, २०७८ ११:१९

४४ पैसाले घट्यो मोबाइल कलको शुल्क

काठमाडौं । माघ १ अर्थात शनिवारदेखि मोबाइल कलको शुल्क ४४ पैसाले घटेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्नेगरी कार्यान्वयनमा ल्याएको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ शनिवारबाट लागू भएको हो ।

योसँगै एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा सेवाप्रदायकले हाल लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तो भएको छ । यसको अर्थ एउटा नेटवर्कबाट अर्को नेटवर्कमा (उदाहरणका लागि एनसेलबाट नेपाल टेलिकमको नम्बरमा) कल गर्दा लाग्ने शुल्क ४४ पैसाले घटेको हो ।

यसअघि सेवाप्रदायकले अन्तरआवद्धता शुल्कबापत प्रतिमिनेट ५४ पैसा थप लिँदै आएका छन् । निर्देशिकाले त्यसमा परिवर्तन गर्दै त्यस्तो शुल्क बढीमा १० पैसा कायम गरेको छ ।

सो निर्देशिका माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउन गएको कात्तिक २९ गते बसेको प्राधिकरण बोर्ड बैठकले निर्णय गरेको थियो । तत्कालका लागि आन्तरिक कलमा मात्रै यो व्यवस्था लागू हुने गरी गरिएको यो व्यवस्थाले एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्कलाई कम गर्नेछ ।

यसअघि नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट दुई रुपैयाँ लाग्छ भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० लाग्दै आएको थियो ।

शनिवारदेखि भने प्रिपेडबाट प्रतिमिनेट एक रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नेछ । त्यस्तै, एनसेलबाट अन्य सेवाप्रदायकको नम्बरमा कल गर्दा प्रतिमिनेट कर बाहेक एक रुपैयाँ ९९ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ५५ पैसामा सीमित भएको छ ।

यस्तै, स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ९२ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ४८ पैसामात्रै लाग्नेछ ।

हुन त यो व्यवस्था २०७६ चैत २० देखि नै लागू हुनुपर्ने हो । तर, त्यसबेला सेवाप्रदायक कम्पनीले आम्दानीमा असर पर्ने भन्दै तत्काल लागू नगर्न आग्रह गरेका थिए । प्राधिकरण भने निर्धारित मिति (२०७६ चैत २०) देखि नै कल शुल्क घटाउने अडान लिएको थियो ।

तर, कार्यान्वयनमा आउनु भन्दा एक हप्ताअघि कोभिड–१९ का कारण लागू गरिएको लकडाउनले उक्त विषय त्यत्तिकै सेलायो । त्यसपश्चात् गएको भदौमा प्राधिकरणले कोभिड–१९ का कारण कम्पनीको आम्दानी, सरकारले विभिन्न शीर्षकमा प्राप्त गर्ने राजश्व र उपभोक्ताको सेवा प्रवाहमा पर्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभावको अध्ययन गरेको थियो ।

उक्त अध्ययनले यो निर्देशिका लागू गर्दा सेवाप्रदायकको कुनै पनि शीर्षकमा तात्त्विक असर नपर्ने देखियो ।

प्राधिकरणका निर्देशक अम्बर स्थापित भन्छन्, ‘त्यसैका आधारमा प्राधिकरण बोर्डले माघ १ गतेबाट निर्देशिका कार्यान्वयन गर्ने निर्णय लिएको हो । बोर्डले पहिलो चरणमा आन्तरिक कलमा हुने अन्तरआवद्धता शुल्कको हकमा मात्रै यो व्यवस्था कार्यान्वयन गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ ।’

तर, यतिबेला पनि सेवाप्रदायकले यस्तो सिस्टम परीक्षणको लागि प्रयोगमा ल्याउन नसक्ने तथा संस्थाको आम्दानीमा समेत ठूलो असर पर्नेभन्दै यो व्यवस्था तत्कालै लागू गर्न नसक्ने प्राधिकरणलाई जानकारी दिएका थिए ।

‘हामीले पहिलो ६ महिना परीक्षणका लागि यो व्यवस्था गर्ने निर्णय गरेका थियौं,’ प्राधिकरणका निर्देशक अम्बर स्थापितले भने, ‘तर, सेवाप्रदायकले बहाना बनाउन खोजेको पाईयो । त्यसैले उनीहरुको पत्रको जवाफमा यो व्यवस्था माघ १ गतेबाटै कार्यान्वयन हुनुपर्ने भन्दै जानकारी प्राधिकरणले गराएको छ ।’

त्यो सँगै सेवाप्रदायकले शनिवारबाटै यसलाई कार्यान्वयनमा ल्याएका छन् ।

टेलिकमले निर्देशिले तोकेको शुल्क १ गतेबाटै लागू गर्ने र सोही बमोजिम रिटेल ट्यारिफ प्राधिकरणबाट माघ १८ सम्म स्विकृत गराई लागू गर्ने बताएको छ । यसको अर्थ टेलिकमको नेटवर्कबाट अन्य नेटवर्कमा कल गर्दा लाग्दै आएको शुल्क शनिवारबाटै घटेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२