close

जिओले भारतमा सुरु गर्‍यो ‘अटो पे’ सेवा, रिचार्ज सकिएर ‘कल ब्यारियर’ नहुने

टेकपाना टेकपाना

माघ २, २०७८ १६:१८

जिओले भारतमा सुरु गर्‍यो ‘अटो पे’ सेवा, रिचार्ज सकिएर ‘कल ब्यारियर’ नहुने

काठमाडौं । भारतीय मोबाइल सेवा प्रदायक कम्पनी जिओले ‘अटो पे’ सेवा सुरु गरेको छ । कम्पनीले नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) सँगको सहकार्यमा भारतमै पहिलो पटक यस किसिमको सेवा दिन थालेको हो ।

यससँगै अब जिओका प्रयोगकर्ताले यस ‘अटो पे’ सेवा प्रयोग गर्न सक्ने भएका छन् । यसको अर्थ अब कम्पनीको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकले ‘अटो पे’ सेवा सक्रिय गरी रिचार्जको झन्झटबाट मुक्त हुन सक्नेछन् ।

यूपीआई अटोपे उपयोग गरी कम्पनीका ग्राहकले माई जिओ एपमा स्थायी किसिमको निर्देशन तय (सेट) गर्न सक्नेछन् । जिओ भारतमा यस किसिमको सेवा सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ ।

यो सेवा लिने ग्राहकको प्लान सकिने वित्तिकै स्वतः रिचार्ज हुनेछ र यस विषयमा ग्राहकले चाल समेत पाउने छैनन् ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा एनपीसीआईका उत्पादन प्रमुख कुणाल कलावतियाले आफूहरूको सहयोगमा जिओका ग्राहकको मोबाइल ट्यारिफ प्लान नवीकरण गर्ने अनुभव नै परिवर्तन हुने बताएका छन् ।

‘यूपीआई अटोपेको सहयोगमा एनपीसीआईमा हाम्रो निरन्तरको प्रयास छ कि सबै ग्राहकलाई उनीहरूको रिकरिङ खर्च (निश्चित समय अन्तरालमा नियमित रुपमा भुक्तानी गर्नुपर्ने रकम) भुक्तानी गर्नका लागि सहजता र सुविधाका लागि थप सुविधा दिन सकियोस् ।’

यससँगै अब जिओका ग्राहकले रिचार्जको विषयलाई लिएर तनाव लिइरहनु नपर्ने भएको छ । किनभने अब उनीहरूको फोनको रिचार्ज स्वतः हुनेछ र बिल भुक्तानी गर्नुपर्ने मिति सम्झिनुपर्ने बाध्यता समेत हट्नेछ ।

कुरा गर्दा गर्दै ट्यारिफ प्लान समाप्त भएर फोन काटिने वा महत्त्वपूर्ण सेवा बीचैमा रोकिने समस्याबाट यसले ग्राहकलाई मुक्ति दिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२