close

नेपाली शर्ट मुभीलाई समेत स्थान दिने गरी डिशहोमले भित्र्यायो ‘शर्ट्स टिभी’

टेकपाना टेकपाना

माघ ३, २०७८ १४:५१

नेपाली शर्ट मुभीलाई समेत स्थान दिने गरी डिशहोमले भित्र्यायो ‘शर्ट्स टिभी’

काठमाडौं । डिश मिडिया नेटवर्क अन्तर्गतको डिशहोमले नेपाली शर्ट मुभीलाई समेत स्थान दिने गरी ‘शर्ट्स टिभी’ भित्र्याएको छ । नेपाली दर्शकमा पछिल्लो समय शर्ट मुभीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले यसको सुरुवात गरेको हो ।

सोमबार एक अनलाइन कार्यक्रम आयोजना गरी कम्पनीले यसको घोषणा गर्‍याे । योसँगै ‘शर्ट्स टिभी’ को सेवा उपलब्ध हुने नेपाल दक्षिण एशियाकाे दोस्रो मुलुक बनेको छ ।

अब डिशहोमका प्रयोगकर्ताले शर्ट्समा उपलब्ध हजारौं शर्ट मुभी आफ्नो टिभी तथा मोबाइलमा सहजै हेर्न पाउने भएका छन् ।

यसका लागि डिशहोमका ग्राहकले कुनै थप शुल्क बुझाउनु नपर्ने कम्पनीका प्रबन्ध निर्देशक सुदिप आचार्यले बताए ।

‘यसका लागि थप कुनै शुल्क लाग्दैन,’ आचार्यले भने, ‘डिशहोमका ग्राहकले यसअघि तिर्दै आएको डिशहोमकै प्याकेजमा यो सेवा प्राप्त गर्नेछन् । यो सेवा डिशहोमका साथै ‘डिशहोम गो’ एपमा समेत उपलब्ध हुनेछ ।’

यसको अर्थ डिशहोमका प्रयोकगर्ताले मात्रै यो सेवा लिन पाउनेछन् । आचार्यका अनुसार ग्राहकलाई टेलिभिजन हेराइमा नयाँ आयाम प्रदान गर्ने अपेक्षाका साथ यसको सुरुवात गरिएको हो ।

विभिन्न सेवा थप गर्दै जाने क्रममा ‘शर्ट्स टिभी’ ग्राहकलाई उपलब्ध गराएको बताउँदै उनले यसबाट शर्ट मुभी हेर्न रुचाउने नेपाली ग्राहकको मागलाई सम्बोधन गर्ने अपेक्षा राखे ।

एक दशकअघि युरोपबाट शर्ट मुभीहरु उपलब्ध गराउँदै आएको याे प्लेटफर्ममा हाल विभिन्न भाषामा हजारौंको संख्यामा फिल्म उपलब्ध छन् ।

‘शर्ट्स आज विश्वका ९० देशमा उपलब्ध भइसकेको छ, जहाँ हजारौंको संख्यामा शर्ट मुभी छन,’ शर्ट्सका सीईओ काटर पिल्चरले भने, ‘जसमा धेरैजसो ओस्कारमा छनोट भएका मुभी छन् । डिशहोमसँगको यो सहकार्यले नेपाली प्रयोगकर्ताले पनि आफ्नो टिभीमा शर्ट्स हेर्न पाउने भएका छन् ।’

त्यतिमात्रै नभएर यसमा अब नेपाली शर्ट मुभीसमेत समावेश गरिनेछ । यसले नेपाली शर्ट मुभी बनाउनेहरुलाई पनि अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन प्लेटफर्म प्रदान गर्ने काटरले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२