close

फोनपेको नयाँ रेकर्ड, एक महिनामै ५१ अर्ब बढीको कारोबार

टेकपाना टेकपाना

माघ ३, २०७८ १६:५६

फोनपेको नयाँ रेकर्ड, एक महिनामै ५१ अर्ब बढीको कारोबार

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस महिनामा मात्र ५१ अर्ब बढीको कारोबार भएको छ ।पछिल्लो समय विद्युतीय कारोबार तीव्र रूपमा बढिरहँदा फोन पे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो ।

पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढीको कारोबार भएको कम्पनीले जनाएको छ ।

फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताले क्यूआर कोड भुक्तानी, अन्तरबैंक रकम ट्रान्स्फर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका कार्यबाट यो रकम कारोबार भएको हो ।

आधा खर्बभन्दा माथिको आँकडा पुरा गरेपछि सोमबार फोनपेले डिजिटल नेपाल निर्माणको साझा उद्देश्य पुरा गर्न सहयोगी भूमिका खेल्ने फोनपेका सदस्य बैंक, वित्तीय संस्था र डिजिटल वालेटलाई धन्यवाद दिएको छ ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु. १० मै सहज रुपमा रकम पठाउन सकिन्छ ।

साथै मर्चेन्टले निःशुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एपमा रहेको ‘सेन्ड मनी’ अप्सनमा गई फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२