close

युक्रेनका सरकारी वेबसाइटमा श्रृंखलाबद्ध साइबर आक्रमण, रसियाको हात रहेको दावी

टेकपाना टेकपाना

माघ ४, २०७८ ९:५५

युक्रेनका सरकारी वेबसाइटमा श्रृंखलाबद्ध साइबर आक्रमण, रसियाको हात रहेको दावी

काठमाडौं ।युक्रेनले पछिल्लो समयमा आफ्नो सरकारी सिस्टममा भएको श्रृंखलाबद्ध साइबर आक्रमणमा रसियाको हात रहेको आरोप लगाएको छ ।

शनिबारसम्म ७० वटा सरकारी वेबसाइट डाउन हुने गरी युक्रेनको सरकारी सिस्टममा साइबर आक्रमण भएको थियो । उक्त आक्रमणको पछाडि रसिया रहको र त्यसको प्रमाण सरकारसँग रहेको युक्रेनको डिजिटल डेभलपमेन्ट मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । यसअघि शनिबार माइक्रोसफ्टले युक्रेनको दर्जनौं कम्प्युटर सिस्टम भएको साइबर आक्रमणबाट तथा ठूलो संख्यामा युक्रेनका सरकारी निकाय प्रभावित भएको जानकारी दिएको थियो ।

माइक्रोसफ्टका अनुसार यो साइबर आक्रमण बुधबारदेखि सुरु भएको थियो । सुरुमा केही वेबसाइट ह्याक भएको भएता पनि शनिबारसम्म आइपुग्दा ७० सरकारी वेबसाइट बन्द भएका थिए ।

माइक्रोसफ्टले जारी गरेको यो जानकारीसँगै युक्रेन सरकारले यो विषयमा अध्ययन गरेको थियो । जसमा मालवेयर आक्रमण भएको र त्यसको पछाडि रसियाको हात रहेको निष्कर्ष निकालिएकाे छ ।

पछिल्लो केही समयदेखि युक्रेन र रसियाबीच सेनाकाे विषयलाई लिएर विवाद चल्दै आएको छ ।

यसैबीच रुसले साइबर हमलामा आफ्नो संलग्नता भएको आरोप अस्वीकार गरेको छ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यी साइबर हमलाहरूसँग रसियाको कुनै सरोकार नभएको प्रतिक्रिया दिएका छन् ।

यसअघि पनि संयुक्त राज्य अमेरिका, युरोपेली देशलगायतले आफ्ना देशमा हुने साइबर हमलामा रसियाको हात रहेको आरोप लगाएका थिए । तर रसियाले भने यी आरोपको खण्डन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२