close

के हो ल्याप्रोस्कोपी, अनि प्रविधिको प्रयोग गरी कसरी हुन्छ उपचार ?

टेकपाना टेकपाना

माघ ४, २०७८ २२:५

के हो ल्याप्रोस्कोपी, अनि प्रविधिको प्रयोग गरी कसरी हुन्छ उपचार ?

काठमाडौं । पेटमा स-साना घाउ बनाई दूरविनका मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपिक भनिन्छ । पछिल्लो समय ल्याप्रेस्कोपिक विधि बिरामीको रोजाइमा पर्ने गरेकाे छ ।

दुर्विनबाट शल्यक्रिया गरिने भएकाले छिटो छरितो र त्यति धेरै महँगो पनि नहुने भएकाले ल्याप्रोस्कोपी विधि धेरैको रोजामा परेको एभरेष्ट अस्पतालका स्त्री रोग तथा निशन्तान रोग विशेषज्ञ डा. राजन शाह बताउँछन् ।

यो विधिबाट शल्यक्रिया गर्दा बिरामीलाई दुखाईको महशुस एकदमै कम हुने, बिरामीको शरीरबाट रगत एकदमै कम खेर जाने, घाउ स-सानो हुने भएकाले चाँडै निको हुने र घाउ पाक्ने सम्भावना धेरै नै कम हुने उनको भनाइ छ ।

साथै शल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी हिँड्डुल गर्नसक्ने, अस्पतालको बसाई एकदमै कम छोटो हुने र चाँडै डिस्चार्ज हुने पनि उनले बताए ।

पछिल्लो समय नेपालमा भित्र्याइएको प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सुरक्षित र भरपर्दो माध्यमको रुपमा चिनिन थालेको उनको अनुभव छ ।

यो विधिअन्तर्गत शल्यक्रिया गर्नुपर्ने अङ्गमाथि प्वाल बनाएर क्यामेरा राखिन्छ, जसको माध्यमले भित्रको अवस्था हेरेर औजारको प्रयोगमार्फत शल्यक्रिया गरिन्छ ।

डा. शाहका अनुसार शल्यक्रिया गर्ने अङ्गमाथि एक सेन्टिमिटर प्वाल बनाई क्यामेरा राखिन्छ । पेटभित्र भएका अङ्गमा शल्यक्रिया गर्दा त्यहाँ राखिएको क्यामेरा सबैतिर घुमाएर अङ्गको अवस्था हेरिन्छ ।

शल्यक्रिया गर्ने अङ्गको माथि आधा सेन्टिमिटरका दुईवटा प्वाल पारी मसिन छिराएर औजारको प्रयोगले शल्यक्रिया गर्ने गरिन्छ । र, उच्च गुणस्तरको क्यामेराको सहायताबाट आँखाले देखिनेभन्दा ठूलो र स्पष्ट दृश्य मोनिटरमा हेरेर शल्यक्रिया गरिन्छ ।

ल्याप्रोस्कोपीको माध्यमबाट पछिल्लो समय नेपालमा पनि धेरै किसिमका रोगको उपचार हुँदै आएको छ ।

विशेषगरी स्त्री रोगसम्बन्धी पाठेघरमा ट्युमर पलाएको, डिम्ब वा नलीमा बच्चा बसेमा, पाठेघरबाट बढी रगत बगेमा, पेटमा मासुको डल्लो पलाएमा, पाठेघर आफ्नो ठाउँबाट तल झरेमा, स्थायी बन्ध्याकरण र पाठेघरमा लाग्न सक्ने विभिन्न किसिमका रोगहरू पत्ता लगाउन र उपचार गर्न ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२