close

जानकी टेक्नोलोजीको सीईओमा थापा, कम्पनीलाई इनोभेसनतर्फ अगाडि बढाउने योजना

टेकपाना टेकपाना

माघ ५, २०७८ १३:३१

जानकी टेक्नोलोजीको सीईओमा थापा, कम्पनीलाई इनोभेसनतर्फ अगाडि बढाउने योजना

काठमाडौं । जानकी टेक्नोलोजीको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) मनोज थापा नियुक्त भएका छन् । कम्पनीका सहसंस्थापक अमित अग्रवालले सम्हाल्दै आएको कार्यकारी पदमा हालै मात्र उनलाई ल्याइएको हो ।

नेपालमा म्यासेज सर्भिस उपलब्ध गराउने कम्पनीहरूमा सबैभन्दा लोकप्रिय रहेको जानकी टेक्नोलोजीले स्पारो एसएमएस नाममा आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । स्पारो एसएमएसका साथै अन्य थुप्रै सेवा सुरु गर्ने योजनाका साथ आफूले जानकी टेक्नोलोजीमा प्रवेश गरेको नवनियुक्त सीईओ थापाले बताए ।

भारतको लब्ली प्रोफेसनल विश्वविद्यालयबाट एमबीए गरेका उनले म्यासेजिङ सर्भिसमा हाल रहेको सीमितता तोड्दै नयाँ सेवाहरू सुरु गर्ने योजना बनाएका छन् ।  ‘मल्टिमिडियादेखि म्यासेज पठाउने टुलमा निकै ठुलो काम गर्नुपर्ने आवश्यकता छ,’ टेकपानासँगको कुराकानीमा उनले भने, ‘यस हिसाबले हामी अब भाइबर मेसेजिङलाई कम्पनीको अर्को ठूलो प्रोडक्टका रुपमा स्थापित गर्ने योजनामा छौँ । कम्पनी नेपालमा भाइबरको आधिकारिक बिक्रेता भएको नाताले पनि यसलाई अघि बढाउनु पर्नेछ ।’

हाल कर्पोरेट हाउस तथा कम्पनीहरूले बनाउँदै आएको भाइबरको ब्लुटिक युक्त अकाउन्ट पनि कम्पनी आफैँले बनाइदिनेछ । साथै यस्ता सर्भिस सरकारी निकायका साथै विभिन्न संस्थाहरूलाई उपलब्ध गराउने खालको काम जानकी टेक्नोलोजीले गर्ने थापाले बताए । ‘हुन त भाइबर हाम्रो एउटा सानो पाटो मात्रै हो । तर, त्यसभन्दा पनि स्पारो एसएमएस नै हाम्रो प्रमुख हुनेछ । यसको विस्तार र विकासमा हामीले निकै धेरै काम गर्नु पर्ने,’ उनले भने ।

कम्पनीका सहसंस्थापक अमित अग्रवालले आफू इनोभेसनमा केन्द्रित हुन दैनिक प्रशासनिक कामबाट अलग हुन नयाँ सीईओ नियुक्त गरिएको बताए । ‘यस दिशामा हाम्रो पहिलो इनोभेसन भनेको वर्ल्डलिङ्कको फ्री हटस्पटका लागि फेसबुक वाई-फाईमा १०० जीबी डेटा निःशुल्क दिनु थियो,’ उनले भने ।

अग्रवालले हालै मात्र आफ्नो अर्को स्टार्टअप कम्पनी डिजिटल वालेट खल्तीको सीईओबाट समेत बिदा लिएका थिए । ‘इनोभेसन नगरी भोलि मोबाइल बैंकिङ एप छोडेर खल्ती किन चलाउने भन्ने प्रश्न उठ्छ । त्यसैले हामी इनोभेसनमा केन्द्रित हुनुपर्नेछ ।

यता जानकी टेक्नोलोजी अन्तर्गत स्पारो एसएमएसमार्फत बल्क भाइबर म्यासेज, इन्टरप्राइज कम्युनिकेसन सोलुसन आदि जस्ता नयाँ सेवाहरूका लागि काम गर्दैछौँ । हाल खल्तीमा २३० जनाभन्दा कर्मचारी कार्यरत रहेका छन् भने जानकी टेक्नोलोजी तथा स्पारो एसएमएसमा १५ जना बढीको टिम छ ।

को हुन् जानकी टेक्नोलोजीको सीईओमा नियुक्त भएका थापा ?

हालै जानकी टेक्नोलोजीको सीईओ नियुक्त भएका थापासँग तिलगङ्गा आखाँ अस्पतालमा नेपाल आखाँ कार्यक्रम अन्तर्गत बजार प्रबन्धकको रुपमा काम गरिसकेको अनुभव छ ।

उनले त्यहाँ तीन बर्ष काम गरेका थिए । त्यसअघि उनी आफैँले बेन्टरे नामक सफ्टवेयर निर्माण कम्पनी सञ्चालनमा ल्याएका थिए । उक्त कम्पनीले विभिन्न कम्पनी तथा सिस्टमका लागि आवश्यक सफ्टवेयर निमार्ण गर्दै आएको थियो । यो नै उनको स्टाअप यात्राको सुरुवात थियो । त्यससँगै उनले ‘पकेट्स शप नेपाल’ नामक अर्को स्टार्टअप कम्पनी सञ्चालनमा ल्याए ।

जहाँ उनले चार वर्ष बिताए । त्यहाँ काम गर्ने माहोल नबनेपछि उनी तीन वर्ष अघि तिलगंगा आखाँ अस्पतालमा आवद्ध भएका थिए । त्यहाँ तीन वर्ष बिताएर उनी पूनः सूचना प्रविधिकै क्षेत्रमा फर्किएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२