close

यस्तो छ नेटटिभीले ल्याएको एन्ड्रोइड सेटटप बक्स

टेकपाना टेकपाना

माघ ६, २०७८ ९:५७

यस्तो छ नेटटिभीले ल्याएको एन्ड्रोइड सेटटप बक्स

काठमाडाैं । नेटटिभीले नयाँ प्रडक्ट सार्वजनिक गरेको छ। जसले तपाईंसँग भएकाे कुनै पनि टिभीलाई एन्ड्रोइड टिभी बनाइदिनेछ । साथै तपाईंसँग कम्प्युटर छ, अनि त्यसको मोनिटरमा एचडीएमआई पोर्ट छ भने त्यसलाई पनि एन्ड्रोइड टिभीमा रुपान्तरण गरिदिन सक्छ ।

जसकाे नाम दिइएको छ, Nettv streamz+ । यो चाहिँ गुगल सर्टिफाइड एन्ड्रोइड टिभी सेटटप बक्स हो । मलाई लाग्छ, यसले हामीलाई थप स्मार्ट बनाउनेछ ।

साथमा नेटटिभी स्वयंका लागि पनि यो सानो उपलब्धि भने पक्कै होइन । किनकि यो प्रडक्टसँगै नेटटिभी गुगल सर्टिफाइड पहिलो नेपाली टिभी अपरेटर बनेको छ ।

आज म नयाँ सेटटप बक्सका फाइदासँगै नेटटिभीको नयाँ प्याकेज streamz+ चलाउँदाको अनुभव शेयर गर्दैछु ।

अहिलेको जमानामा टिभी कसले हेर्छ ? धेरैले यस्तो भनेको सुन्ने गरिन्छ । तर, प्रविधिले जति नै फड्को मारेपनि टिभीले मान्छेलाई आकर्षित गर्न भने छाडेको छैन । झ्यारझ्यार गर्ने ब्ल्याक एण्ड ह्वाइट टिभीले सुरुमा मान्छेलाई तान्यो ।

रंगीन टिभी आयो, सबैको मन ध्यान तान्यो । एलईडी टिभीहरु आए, त्यसप्रति पनि आकर्षण उत्तिकै थियो ।

अहिलेको पुस्तालाई स्मार्ट टिभीले लोभ्याइरहेको छ । अहिलेको जमानामा टिभी कसले हेर्छ भन्नेहरु स्मार्ट टिभीमा युट्युव र नेटफ्लिक्स हेरिरहेका भेटिन्छन्, गेम खेलिरहेका हुन्छन् ।

नेटटिभीको यो नयाँ प्रडक्ट पनि मानिसको आवश्यकता र आकर्षणलाई बुझेर ल्याइएको जस्तो मलाई लाग्छ । किनकि यसले हरेक (जुनसुकै टिभी) एलईडी टिभीलाई स्मार्ट एन्ड्राेइड टिभीमा रुपान्तरण गरिदिन्छ ।

जसबाट २०० भन्दा बढी लाइभ टिभी त हेर्न पाइयो नै, साथमा युट्युव, प्राइम भिडिओजस्ता सयौं एपको मज्जा लिन पनि सकियो ।

त्यति मात्रै होइन, ठूलो स्क्रिनमा मोबाइल वा ल्यापटपको स्क्रिन शेयर गर्न मिल्यो, स्मार्ट फोनलाई रिमोट बनाएर गेम खेल्न मिल्ने, भ्वाइस सर्च गर्न मिल्नेलगायतका सुविधा पनि यसमा छ ।

यो टिभी सेटटप बक्स हो । तर मैले यसलाई पहिला कम्प्युटरको मोनिटरमा जोडेर हेरेँ । सेटटप गर्न एकदमै सजिलो रहेछ । रिमोटमा भएको HOME र Back बटन एकछिन थिचेपछि रिमोट सेटटप बक्ससँग कनेक्ट भयो ।

त्यसपछि वाई-फाई कनेक्ट गर्ने, नेटटिभीको पासवर्ड राख्ने काम गरेपछि मेरो कम्प्युटरको मोनिटर नै स्मार्ट टिभी बन्यो ।

युट्युव वा अन्य एप चलाउन त कम्प्युटर नै काफी छ । तर कम्प्युटरमै लाइभ टिभी हेर्न मन लाग्दा भने नेटटिभीको सेटटप बक्सले त्यो चाहना पनि पुरा गरिदिन्छ ।

किनकि यो सेटटप बक्समा HDMI Port सँगै AV port पनि छ, जसबाट हामीले हेडफोन वा स्पिकरमा अडियो जोड्न पनि सक्छौं ।

4K HDR Quality मा भिडिओ स्ट्रिम गर्नसक्ने यो सेटटप बक्स घरमा स्मार्ट एन्ड्राेइड टिभी हुनेहरुका लागि खासै विशेष नलाग्न सक्छ । तर जो स्मार्ट टिभी किन्ने सोचमा हुनुहुन्छ, उहाँहरुको लागि भने नेटटिभीको सेटटप बक्सले पैसाको राम्रै बचत गरिदिन सक्छ ।

राम्रो, ठूलो अनि गुणस्तरीय एलईडी र ठीकठाक स्मार्ट टिभीकाे मुल्य लगभग उस्तै अथवा स्मार्ट टिभी अझै महंगो पर्न जान्छ । महंगोमा ठीकठाक स्मार्ट टिभी किन्ने कि सस्तोमा स्तरीय एलईडी टिभी किनेर त्यसलाई थोरे पैसामा स्मार्ट एन्ड्राेइड टिभी बनाएर साच्चिकै स्मार्ट बन्ने ?

वा एलईडी टिभी पहिलेदेखि नै घरमा छ, त्यसलाई स्मार्ट बनाउने वा अर्को एक डेढ लाख खर्च गरेर नयाँ स्मार्ट टिभी भित्र्याउने ? च्वाइस हाम्रो नै हो।

तर तपाई वर्ल्डलिंक वा नेटटिभी प्रोभाइड गर्ने इन्टरनेटको प्रयोगकर्ता हुनुहुन्छ भने मलाई लाग्छ नेटटिभी गतिलो अप्सनको रुपमा उभिएको छ। 

अब लागौं नयाँ सेटटप बक्ससँगै Streamz+ Package को फिचरतर्फ । यो सेटटप बक्सको मेन फिचर भनेको नै जुनसुकै टिभीलाई स्मार्ट एन्ड्रोइड टिभीमा रुपान्तरण गरी 4K HDR क्वालिटीमा कन्टेन्ट हेर्न सक्ने व्यवस्था गर्नु हो ।

त्यसको साथमा डुअल ब्याण्ड वाई-फाई सपोर्ट अर्को महत्वपूर्ण पक्ष हो । डुअल ब्याण्ड वाई-फाई सपोर्टसँगै राउटर नजिकै सेटटप बक्स राखिएको छ भने ल्यान केबल (LAN Cable) जोडिरहन पर्दैन ।

ब्लुटुथ ४.२ अर्को फाइदाजनक कुरा हो । जसले रिमोटलाई ब्लुटुथ मार्फत कनेक्ट गर्छद । यसले गर्दा रिमोटलाई सेटटप बक्सको डिरेक्सनमा फर्काइरहन पर्दैन ।

साथै अन्य डिभाइसजस्तै मोबाइल, Joystick, Wireless headphone हरु पनि सजिलै कनेक्ट गर्न सकियो । Streamz+ Package लिँदा Airconsole App सँग आवद्ध सयौं गेम टिभीमै खेल्न सकिन्छ, जसका लागि हामीले हाम्रो मोबाइललाई नै गेम कन्सोल Joystick बनाउन सक्छौं ।

फोनमा Airconsole App इन्स्टल गरेर एक/दुई जना मात्रै होइन, ८ जनाले एउटै गेम मिलेर खेल्न सकिन्छ । जुन कुरा मलाई यो प्याकेजको मन परेको अर्को पक्ष हो ।

त्यस्तै दुईवटा USB Port (एउटा USB 3.0 र अर्काे USB 2.0) छ जसमा हामीले पेनड्राइभ राखेर Storage बढाउन सक्याै । सँगै अन्य USB डिभाइसहरु पनि जोड्न सकिन्छ । पेन ड्राइभमा भएका भिडिओ फाइलहरु पनि यसले मजाले रिड गर्छ । इन्टरनेटबिना पनि फिल्म वा भिडिओहरु ठूलो स्क्रिनमा हेर्न पनि यो सेटअप बक्स युजफुल हुन्छ ।

सेटटप बक्समा गुगल क्रोमकास्ट इनब्युल्ट छ। जसको कारण एउटै वाई-फाई नेटवर्कमा रहेका मोबाइल, ल्यापटप वा कम्प्युटरको स्क्रिन टिभीको ठूलो स्क्रिनमा सजिलै कास्ट गर्न सक्छौं ।

जुन सुविधा स्मार्ट एन्ड्रोइड टिभीमा हुन्थ्यो, त्यो हामीले अब नेटटिभीको सेटटप बक्समै पाउँछौं । यो सेटटप बक्सबाट टिभी चलाउँदै गर्दा मलाई लागेको कुरा चाहिँ के हो भने एन्ड्रोइड स्मार्ट टिभीमा भएका अधिकांश कुरा यो सानो सेटटप बक्सले कभर गरेको छ ।

नेटटिभी गुगल सर्टिफाइड टिभी अपरेटर बनेकाले User Interface मा भने धेरै नै फरकपन पाउन सकिन्छ । एन्ड्रोइड स्मार्ट टिभी खोल्दा सबैजसोको एउटै UI देखिन्छ ।

नेटटिभीको यो सेटटप बक्सको UI मा चाहिँ केही नेपालीपन पाइदोरहेछ । एप्सभित्र गएर एपहरु राख्न वा हटाउन सकिन्छ । यहाँ हामीले इन्स्टल गरेका सबै एप देखिन्छ ।

त्योसँगैको लाइनमा लाइभ टिभी, Cine+, Movies, Prime Video, Docubay, Air Console लगायतका एप देखिन्छन् । सँगै हामीले SONYLIV, ZEE5 लगायतका App हरु Install गरी चलाउन सक्छौं ।

प्राइम भिडिओलाई पनि यहाँ प्राथमिकताका साथ राखिएको छ, जुन राम्रै कुरा हो, जसलाई रिमोटमा पनि छुट्टै Dedicated Button दिइएको छ । तर यो लिस्टमा एकदमै मिस हुने भनेको नेटफ्लिक्स हो । यो सेटटप बक्स स्मार्ट टिभीको विकल्पको रुपमा ल्याइएको छ ।

तर सबैजसाे स्मार्ट टिभीमा नेटफ्लिक्स र अमेजन प्राइम छुटेका हुँदैनन्। Nettv काे UI मा नदेखेपछि मैले प्लेस्टोरमा गएर नेटफ्लिक्स खोजे त्यहाँ पनि नभेट्दा चाहिँ अलिकति मन खिन्न भयो ।

यद्यपि नेटफ्लिक्सको लागि सिस्टम तयार भएकाले जतिसक्दो छिटो यसमा समावेश गर्ने कम्पनीले जानकारी गराएकाले थोरै आशा चाहिँ पलाएको छ ।

अझै म त भन्छु साँच्चै राम्रो सेवा दिने हो भने त Cineplus, Streamz+ Packages जस्तै गरी हामीले प्राइम वा नेटफ्लिक्स यस्ता प्लेटफर्मबाटै Purchase गर्न सकियोस् । तब पो मज्जा हुन्छ ।

गुगल सर्टिफाइड टिभी अपरेटर भएकाले नेटटिभीले UI मा आफ्नो हिसाबले परिमार्जन गर्न पनि पाउँछ । सायद नेपाली युजरको फिडब्याकको पनि यसलाई अझै राम्रो बनाउन भूमिका हुन सक्छ ।

Smart TV मा युट्युव एपभित्र गएपछि मात्रै ट्रेडिङ भिडिओहरु हेर्न सकिन्छ । यहाँ बाहिरै यसरी लिस्ट देखिँदो रहेछ । यो सँगै अन्य धेरै रुचाइएका कन्टेन्टहरु पनि यहाँ देखिँदा रहेछन्, जुन हामीले आफ्नो रोजाइ अनुसार हेर्न सकियो ।

यसमा भएको भ्वाइस सर्च मलाई अझै प्रभावकारी लागेको छ । रिजल्टहरु निकै राम्रोसँग फेला पर्दा रहेछन् । अझै रमाइलो लागेको त के भने युट्युवको हकमा नेपालीमै सर्च गर्दा पनि रिजल्टहरु देखिँदो रहेछ ।

जसले बुढाबुढी मान्छेलाई स्मार्ट टिभीमा कुनै भिडिओ हेर्न मन लाग्यो भने सजिलो भयो । यसको लागि सेटिङमा गएर नेपाली भाषा छनोट गर्नुपर्छ ।

एन्ड्रोइड १० मा आधारित यो सेटटप बक्समा 2GB RAM र 8GB Storage छ। यो स्टोरेज जमाना अनुसार अलि कम नै हो, तर हामीले USB port मार्फत आवश्यकता अनुसार स्टोरेज बढाउन सक्छौं, जुन अर्को राम्रो पाटो हो ।

अलि ठूला गेमहरु खेल्नका लागि र्‍याम पनि अलि बढी नै भइदिएको भए चाहिँ अझै राम्रो हुने थियो । रिमोट सानो छ लाइभ टिभी, मुभी र प्राइम भिडिओसँगै Voice Search को लागि छुट्टै HOT Key दिइएको छ ।

अलि धेरै प्रयोग हुने युट्युवको लागि पनि यस्तै हट कि भइदिएको भए अझै राम्रो हुने थियो होला । तर एउटा कस्टम Key पनि छ, जसलाई हामीले आफ्नो आवश्यकता अनुसार सेट गर्न सक्छौं ।

अब मूल्यको कुरा गरौं । टिभीलाई एन्ड्रोइड टिभी बनाउने TV Streaming डिभाइसहरु बजारमा टन्नै पाइन्छन् । प्राइस पनि फिचर अनुसार फरक-फरक छन् ।

तर तपाईं यदि वर्ल्डलिंक प्रयोगकर्ता हुनुहुन्छ भने चाहिँ तपाईंको लागि फिचरवाइज र प्राइसवाइज पनि यो सेटटप बक्स बेस्ट हुन्छ जस्तो मलाई लाग्छ ।

अहिलेका लागि नयाँ युजरले वार्षिक प्याकेज लिँदा सेटटप बक्सको लागि तीन हजार ५०० र Streamz+ प्याकेजको लागि करबाहेक तीन हजार ६०० रुपैँया तिर्नुपर्नेछ ।

त्यस्तै नेटटिभीको पुरानो युजरका लागि चाहिँ सेटटप बक्सको एक हजार ५०० र Streamz+ Package को वार्षिक तीन हजार ६०० मूल्य तोकिएको छ । तर वर्ल्डलिंकले आफ्ना विभिन्न इन्टरनेट प्याकेजहरुमा यसलाई समावेश गरेर थप सस्तोमा उपलब्ध गराउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

समग्रमा भन्नुपर्दा तपाईं वर्ल्डलिंकको युजर हुनुहुन्छ वा इन्टरनेट जोड्दै हुनुहुन्छ अनि तपाईं स्मार्ट टिभी किन्ने सोचमा हुनुहुन्छ भने एक पटक नेटटिभीको यो सेवालाई सम्झन सक्नुहुन्छ ।

किनकि अलि कम मूल्यमा पाइने स्तरीय एलईडी टिभी किनेर यो सेटटप बक्समार्फत त्यसलाई स्मार्ट एन्ड्रोइड टिभी बनाउन सकियो । तर नेटफ्लिक्समा लत बसेको छ भने चाहिँ तत्कालका लागि यो सेटटप बक्सले तपाईको आवश्यकता पुरा गर्दैन ।

मैले केहि दिनमात्रै यसको अनुभव गर्न पाएको आधारमा नेटटिभीको Google Certified Android TV set-top box र Streamz+ प्याकेजको गुन र बैगुनबारे बताएँ । आफ्नो आवश्यकता पहिल्याएर यो सेटटप बक्स र प्याकेज लिने कि नलिने, उचित निर्णयमा पुग्नुहोला ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२