close

फ्युजमसिनको एआई फेलोशिप २०२२ घोषणा, विद्यार्थीलाई पूर्ण छात्रवृत्ति र रोजगारीको अवसर

टेकपाना टेकपाना

माघ ६, २०७८ १२:२१

फ्युजमसिनको एआई फेलोशिप २०२२ घोषणा, विद्यार्थीलाई पूर्ण छात्रवृत्ति र रोजगारीको अवसर

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिभा, शिक्षा र सेवा प्रदान गर्दै आएको संस्था फ्युजमसिनले नेपालमा एआई फेलोशिप २०२२ घोषणा गरेको छ । यो अनलाइनमार्फत प्रत्यक्ष प्रमाणीकरण हुने फेलोशिप कार्यक्रम विगत २ वर्षदेखि फ्युजमसिनको पहलमा सञ्चालन हुँदै आएको छ ।

फेलाेशिप कार्यक्रममा यूकेएड स्किल्स फर इम्प्लाेयमेन्ट (सीप) को सहयोग रहँदै आएको छ । कार्यक्रमको मुख्य उद्देश्य नेपालमा एआई इन्जिनियरहरूको संख्यामा वृद्धि गर्नु रहेकाे बताइएकाे छ ।

कार्यक्रममा कूल एक सय जना गणित, इन्जिनियरिङ र कम्प्युटर विज्ञान पृष्ठभूमि भएका विश्वविद्यालय अध्ययनरत विद्यार्थी तथा स्नातक उत्तीर्णलाई परीक्षामार्फत आवद्ध गरिने फ्युजमसिनले जनाएकाे छ ।

छनाैट गरिएका विद्यार्थीलाई सम्पूर्ण पाठ्यक्रममा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।

कार्यक्रमकाे साझेदार यूकेएड स्किल्स फर इम्प्लाेयमेन्ट (सीप) का टाेली प्रमुख बल्जित बोहरा तथा उपप्रमुख स्तुति बस्नेतले नेपालमा रहेका विद्यार्थीको सीपलाई विश्वव्यापी आईसीटी प्रणालीसँग मेल हुने गरी प्रणाली सुधार गरेमात्र नेपालको आईसीटीमा सम्भावना बलियो हुने विचार व्यक्त गरे ।

‘विगत दुई वर्षदेखि हामीले फ्युजमसिनको विकास यात्रामा सहयोग गर्दै आएका छौं, त्यस्तै हामीले आवश्यक पूर्वाधार विस्तार गर्न, समय सान्दर्भिक पाठ्यक्रमहरू निर्माण र लागू गर्न तथा शैक्षिक संस्था र अन्य सम्बन्धित प्रणालीहरूसँग बलियो सहकार्य गर्न मद्दत गरेका छौं,’ सीपका टोली प्रमुख बोहराले भने ।

अमेरिकाका उच्च कोटीका विश्वविद्यालयमा एआई विषयका अध्यापनक एवं एआई उद्योग विशेषज्ञद्वारा निर्माण गरिएको र फ्युजमसिनको स्वामित्वमा रहेको माइक्रोडिग्री र माइक्रोडिग्री स्पेशलाइजेशन कार्यक्रमलाई एआई फेलोशिप २०२२ मा समावेश गरिएकाे छ ।

एक वर्ष लामो कार्यक्रममा मसिन लर्निङ, डिप लर्निङ्ग, न्याचुरल ल्याङ्वेज प्रोसेसिङ र कम्प्युटर भिजनका पाठ्यक्रम छन् ।

‘हरेक वर्ष हामीले सबैका लागि विश्वसनीय, उच्च गुणस्तरको एआई तालिम प्रदान गरी एआईमा पहुँच बढाउने बाटोतर्फ ठूला कदम बढाउन जारी राखेका छौ’ फ्युजमसिनका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले भने ।

उनले फ्युजमसिन संस्थाले फेलोशिप कार्यक्रमका पूर्वविद्यार्थीलाई रोजगारी प्रदान गरेको र यस किसिमको महत्त्वपूर्ण पहलको निरन्तरता मार्फत अझ उच्च गुणस्तरको प्रतिभा निर्माण गर्न सक्षम हुने आशा व्यक्त गरे ।

‘सीप’ जस्ता प्रतिबद्ध साझेदारबाट समर्थन पाएकोमा हामी खुसी छौं, सीपले विभिन्न पृष्ठभूमिका नेपालीलाई विभिन्न सीप प्रदान गर्ने ठोस प्रयासले नेपालको रोजगारी दर सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ,’ मास्केले भने ।

कार्यक्रमको अन्त्यसम्ममा, विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ र डिप लर्निङ एल्गोरिदमका साथै अन्तर्निहित गणित र कोडको ठोस बुझाइको विकास गर्ने उनकाे भनाइ छ ।

कार्यक्रमले शिक्षाविद् र उद्योग विशेषज्ञहरूद्वारा सञ्चालित साप्ताहिक अनलाइन कक्षा, प्रोग्रामिङ असाइनमेन्ट, समूह परियोजना र परीक्षाहरू समावेश गरी मिश्रित सिकाइ प्रणालीको प्रयोग गर्नेछ ।

साथै धेरैजसो सामग्री विद्यार्थीले आफ्नो अनुकूल प्रयोग गर्नका लागि अनलाइनमा उपलब्ध हुनेछन् ।

फ्युजमसिनले सन् २०१७ मा पहिलो पटक एआई फेलोशिप कार्यक्रमको सुरुवात गरेको थियो । फेलोशिप र यसको आवेदन/छनोट प्रक्रिया र दर्ता विवरणहरूको बारेमा थप जानकारीको लागि यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२