close

अब विन्डोज कम्प्युटरका एन्ड्रोइड गेम खेल्न सकिने, सार्वजनिक भयो बेटा भर्सन

टेकपाना टेकपाना

माघ ६, २०७८ १३:५३

अब विन्डोज कम्प्युटरका एन्ड्रोइड गेम खेल्न सकिने, सार्वजनिक भयो बेटा भर्सन

काठमाडौं । गुगलले विन्डोज कम्प्युटरका लागि आफ्नो एन्ड्रोइड गेम्सको सीमित बेटा सार्वजनिक गरेको छ । सुरुवाती चरणमा गुगल प्ले गेम्सको बेटा हङ्गकङ, दक्षिण कोरिया र ताइवानमा बुधबारदेखि उपलब्ध भएको हो ।

यसबाट विन्डोज कम्प्युटर प्रयोगकर्ताले मोबाइल लेजेन्ड्स, सुमोनर्स वार, स्टेट अफ सर्भाइभल र थ्रि किङ्गडम्स ट्याक्टिक जस्ता लोकप्रिय एन्ड्रोइड खेल्न पाउनेछन् । हङ्गकङ, दक्षिण कोरिया र ताइवानमा रहेका खेलाडीले साइन अप गरेर बेटामा पहुँच बनाउन सक्नेछन् र विन्डोज कम्प्युटरमा गुगलको स्ट्यान्डअलोन एप प्रयोग गर्न सक्नेछन् ।

गुगलले फोन, ट्याब्लेट, क्रोमबुक र विन्डोज कम्प्युटरबीच सहजै गेम खेल्न सकिने आश्वासन दिएको छ । यसबाट विभिन्न डिभाइसबीच गेम रिजुम गर्न समेत सकिन्छ ।

‘प्लेयरले आफ्नो कम्प्युटरको ठूलो स्क्रिनमा आफ्नो मन परेको मोबाइल गेम सहजै ब्राउज, डाउनलोड र खेल्न सक्नेछन्,’ गुगल प्ले गेमका ग्रुप प्रोडक्ट म्यानेजर अर्जुन दयालले भनेका छन्, ‘एउटा डिभाइसबाट अर्को डिभाइसमा जाँदा समेत गेमको प्रगति अब गुमाउनु पर्ने छैन । यसले तपाईँको गुगल प्ले गेम प्रोफाइलबाटै काम गर्दछ ।’

गुगल प्ले गेम्सले कम्प्युटरमा एन्ड्रोइड गेम खेल्दा प्ले प्वाइन्ट समेत समावेश गरेको छ । गुगलले एक महिना अघि मात्र आफ्नो एन्ड्रोइड गेम कम्प्युटरमा समेत ल्याउने घोषणा गरेको थियो ।

तर कम्पनीले एन्ड्रोइड गेम कम्प्युटरमा प्रयोग गर्ने सुविधा दिन कुन प्रकारको प्रविधि उपयोग गरिरहेको छ भन्ने कुरा चाहिँ अहिलेसम्म प्रस्ट भइसकेको छैन । गुगल प्ले गेम एप नेटिभ विन्डोज एप हुनेछ । जसमा गेम स्ट्रिमिङ समावेश भने समावेश हुने छैन ।

त्यसै अनुसार गेम डेभलपरलाई थप सूचना प्रदान गर्न गुगलले बुधबारदेखि डेभलपर साइट समेत खुला गरेको छ । माइक्रोसफ्टले विन्डोज इलाभेन कम्प्युटरमा एन्ड्रोइड एपको टेस्टिङ सुरु गरेको एक महिनापछि गुगलको यो घोषणा आएको छ ।

माइक्रोसफ्टले एन्ड्रोइडका लागि विन्डोजमा आधारित सब-सिस्टम बनाएको छ । जसले विभिन्न स्रोतबाट एन्ड्रोइड एप सञ्चालन गर्न सक्छ । माइक्रोसफ्टले अमेजनसँगको सहकार्यमा अमेजन एप स्टोरबाट विन्डोज कम्प्युटरमा एप इन्स्टल गर्ने व्यवस्था मिलाएको छ । तर गुगल प्लेको लागि भने आधिकारिक रुपमा सपोर्ट प्राप्त भइसकेको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२