close

सामाजिक सञ्जाल : बदलिएको स्वभाव र हाम्रो दैनिकी

मेनुक्श मेनुक्श

माघ ६, २०७८ १६:६

सामाजिक सञ्जाल : बदलिएको स्वभाव र हाम्रो दैनिकी

सामाजिक सञ्जालको प्रयोगले आवश्यकता वा बाध्यताभन्दा पनि स्वभावको रुप लिइसकेको अवस्था छ । विहान उठ्नासाथ र राति सुत्नुअघि हाम्रो आँखाले देख्ने पहिलो र अन्तिम दृश्य मोबाइल ‘लक स्क्रिन’ भएकाे छ ।

त्यसपछि लक खोलेर हामी आफूले नियमित चलाउने गरेको सामाजिक सञ्जालमा कतिबेला पुगिसकेका हुन्छौं, पत्तै हुँदैन । किनकि यो हाम्रो स्वभाव, वा प्रवृत्तिको रुपमा विकसित भइसकेको छ ।

मोबाइल या कम्प्युटर स्क्रिनबाट आउने ‘ब्लुलाइट’ ले हाम्रो शारीरिक स्वास्थ्यमा नकरात्मक प्रभाव पार्छ भन्ने कुरा त खासै नयाँ विषय होइन । त्यस्तै, मानसिक स्वास्थ्यमा पार्ने असरलाई पनि नजरअन्दाज त पक्कै गरिन्न ।

आज हामी सामाजिक सञ्जालमा हाम्रो दैनिकी कसरी स्वभाविक बन्दै गएको छ भन्ने विषयमा चर्चा गर्नेछौं । साथै स्वभाव बनिसकेको सामाजिक सञ्जालको प्रयोगलाई कसरी स्वस्थ बनाउन सकिन्छ भनेर विचार गर्नेछौं ।

इन्टरनेट, मोबाइल फोन र सामाजिक सञ्जाल आफैंमा खराब त होइनन् । तर राम्रोसँग उपयोग गर्न नजान्दा हामीलाई निकै बेफाइदा भएको हुनसक्छ ।

झट्ट सामाजिक सञ्जाल खोल्यो, दुःखद समाचार देखिन्छ । खासगरी नेपालको परिप्रेक्ष्यलाई नै आधार मानौं न । अभिव्यक्तिका लागि, कति खुला व्यवस्था छ । जसले जे मन लाग्यो, त्यही पोष्ट गरिराखेको हुन्छ ।

अब यस्तोमा विहानी नै खराब सामग्री या समाचार अथवा भनौं, नकरात्मक अभिव्यक्ति सुनेर या देखेर दिनको सुरुवात गर्दा त्यसको प्रभाव त पर्ने नै भयो । भनाइ नै छ नि, विहानीको सुरुवातमा बितेका केही पलले नै दिन कस्तो हुन्छ भन्ने निर्धारण गर्छ ।

सामाजिक सञ्जालको स्वभाव किन हानिकारक छ ?

कसैको खबर जान्न मन लाग्यो भने फोनकल गर्नुभन्दा पहिले उक्त व्यक्तिको सामाजिक सञ्जाल प्राेफाइलमा भएको सक्रियतालाई पहिलो प्राथमिकतामा राखिन्छ । उसको गतिविधि ठीकठाक लाग्यो भने उ सञ्चै भएकोमा हामी निश्चिन्त बनिदिन्छौं ।

अनि यस्तोमा नजिकका साथीभाइ नै एक्लिएर कहिले सम्बन्धमा दूरी पैदा भइसकेको हुन्छ, हामीलाई अन्दाज नै हुँदैन । हेर्नोस् त ! कति सहजै सामाजिक सञ्जालले हाम्रो सामाजिक जीवन असामाजिक बनाइरहेकाे छ ।

कुनै खबर एक व्यक्तिमार्फत प्राप्त भयो । त्यो खबरको सत्यताको प्रमाण पनि सामाजिक सञ्जालमा गरिएको पोष्ट, त्यसको इंगेजमेन्ट र शेयरका आधारमा हामी विषयवस्तुको गहनता मापन गरिदिन्छौं । अनि स-साना र घरेलु झै-झगडालाई पनि सनसनीपूर्ण ढंगले फैल्याइन्छ ।

हुन त डिजिटल युगमा धेरैले सञ्चारमाध्यमलाई पनि दोषी ठहर्‍याउने गरेको पाइन्छ । यद्यपि आजको विकसित र विस्तारित प्रविधिको परिणाम स्वरूप एउटा व्यक्तिमात्रै पनि खबरको गतिलो माध्यमका रुपमा प्रस्तुत हुन सक्दछ ।

यसको मतलब खबरको दुनियाँमा हलचल मच्चाउनका लागि कुनै संगठित सञ्चारमाध्यमलाई मात्र जिम्मेवार भने मान्न सकिँदैन ।

कुनै पनि चिजको प्रयोगले जब स्वभावको रुप लिन्छ, तब यसको लत छुटाउन हम्मेहम्मे नै पर्छ ।

राति सुत्नु एक घण्टाअघि सबै किसिमका ग्याजेट या विद्युतीय उपकरणबाट टाढा रहनुपर्छ भनिन्छ । सकेसम्म सुत्नुअघि किताब पढ्नु राम्रो मानिन्छ ।

तर हामीमध्ये कति धेरैजना त मोबाइल चलाउँदै गर्दा निदाउने गरेका हुन्छौं । जसले गर्दा स्वस्थ निद्राबाट हामी वञ्चित हुन्छौं । त्यति मात्र नभएर हाम्रो स्वास्थ्य अवस्थामा पनि अस्वभाविक असर पर्छ ।

टाउको दुख्ने, आँखा दुख्ने, ध्यान केन्द्रित गर्न सकस लाग्ने हुन थाल्छ । अन्ततः काममा समेत असर देखिन थाल्छ । विस्तारै हामी तनाव र चिन्ताका कारण डिप्रेसनको शिकार पनि हुन सक्छौं ।

अर्को महत्वपूर्ण र छुटाउनै नहुने पक्ष भनेको समय खर्च । सामाजिक सञ्जाल कम्पनीहरूले विशेष एल्गोरिदमको प्रयोग गरेका हुन्छन् । ताकि प्रयोगकर्ताले बढीभन्दा बढि समय उक्त प्लेर्टफर्ममा बिताउन् ।

तपाईं हामीले जति धेरै समय सामाजिक सञ्जालमा खर्चिन्छौं, त्यति नै उनीहरूको आम्दानी र प्रयोग विस्तार भइरहेको हुन्छ । फलस्वरूप हामीले बढिभन्दा बढी समय सामाजिक सञ्जालमा बेकार खर्च गरिरहेका हुन सक्छौं । जुन कुराको महसुस हामीलाई तत्काल नहुन पनि सक्छ ।

सामाजिक सञ्जालका पाँचवटा नकारात्मक पक्षलाई यसरी हेर्न सकिन्छः

-साइबर बुलिङ र थ्रेटलाई बढावा दिन्छ ।
-कुनै पनि काममा निरन्तर उचित ध्यान केन्द्रित गर्न कठिन हुन्छ ।
-सामाजिक रुपमा भइरहेका गतिविधिमा तुलनाको अभ्यास सुरू हुन्छ ।
-डेटा चोरी र सूचना दुरुपयोग हुन्छ ।
-प्राविधिक लत लाग्छ, जसका कारण सामाजिक वातावरणमा कम घुलमिल हुन्छ ।

सामाजिक सञ्जालको स्वभावलाई कसरी सकरात्मक बनाउने त ?

सामाजिक सञ्जालमा हरपल रहने बानी बनिरहेका बेला यसलाई सकरात्मक हिसाबले अपनाउनु टड्कारो देखिन्छ । जसका लागि आफूले नियमित रुपमा भिजिट गर्ने गरेका सामाजिक सञ्जालमा राम्रा र अतिमहत्वपूर्ण खबर या ज्ञान दिने पेजमात्र फलो गर्नु एउटा उपयुक्त उपाय हुनसक्छ ।

त्यसैगरी अहिले हरेक किसिमका सेवा प्रदायकहरूले सामाजिक सञ्जालको भरपुर प्रयोग गरिरहेका छन् । ताकि आफ्ना सेवाग्राहीसँग हरेक पल जोडिराख्न र सुसूचित राख्न सम्भव होस् । यस्तोमा तपाईंले चाहेका प्रायः सेवा सामाजिक सञ्जालमार्फत पाउन सक्नुहुन्छ ।

बिहानीको सुरूवात मोबाइल फोनबाटै गर्नुहोस् । सामाजिक सञ्जाल नै खोल्नुस् । तर त्यहाँ पनि तपाईंले योगा, ध्यानका लागि तयार पारिएका संगीत, अनि प्रवचन सुनेर दिनको सुरुवात गर्न सक्नुहुन्छ । जसका कारण तपाईंलाई इन्टरनेटको सदुपयोगमा सघाउ पुग्दछ । यसो गर्दा विस्तारै तपाईंको स्वभाव र दैनिकीमा समेत सुधार आउँछ ।

यसो सोच्दा अस्वभाविक लाग्न सक्छ । तर, सामाजिक सञ्जाल प्रयोगका लागि रुटिन अर्थात् समय सीमा तोक्नु पनि राम्रो विकल्प हो ।

त्यसैगरी सुत्नुअघि पनि राम्रा र सकरात्मक विषयवस्तुको बारेमा सोच्नु आवश्यक हुन्छ । जति हलुका हृदय लिएर निदाइन्छ, त्यति नै आनन्दको निद्रा प्राप्त हुन्छ । शरीरलाई पर्याप्त आराम मिल्दछ । हामीसँग सामाजिक सञ्जालहरूमा समस्या मात्रै नभएर समाधानकै विषय पनि प्रशस्तै छन् । बानीको विकास के मा र कसरी गर्ने भन्ने हामी स्वयम् मा निर्भर गर्दछ ।

सम्भव भएसम्म भौतिक रुपमा उपलब्ध सामग्रीकै प्रयोग गर्दा राम्रो हुन्छ । इन्टरनेटका सामग्रीलाई सन्तुलित गरेर प्रयोगमा ल्याउनु हाम्रो लागि बुद्धिमानी हुन्छ । कुनैपनि अफवाह वा गलत सूचनाका कारण पारिवारिक तथा सामाजिक कलहको विजारोपण हुनु हुँदैन ।

सामाजिक सञ्जालका सकारात्मक पक्ष

-सामाजिक मिडियाले मानिसहरूलाई उनीहरूको सम्बन्ध बलियो बनाउन, नयाँ जडानहरू सिर्जना गर्न, र कठिन समयमा सामाजिक समर्थन खोज्न मद्दत गर्दछ ।

-सामाजिक सञ्जालले राम्रो बानीलाई संगत गरेर बढावा दिन सक्छ ।

-सामाजिक मिडियाले अन्तर्मुखी वा सामाजिक रूपमा चिन्तित व्यक्तित्वलाई सुरक्षित वातावरणमा जडान गर्न मद्दत गर्दछ ।

-सामाजिक सञ्जालले कलंकको रुपमा रहेका विभिन्न बिरामीपनहरू, मानसिक रोग, र कामुकता लगायतलाई कम गर्दछ ।

-संगठित सामाजिक मिडिया कार्यक्रमले विद्यार्थीलाई विद्यालयमा राम्रो गर्न र उपस्थिति सुधार गर्न मद्दत गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२