close

काठमाडौंका घर-घरमा अर्गानिक उत्पादन पुर्‍याउन सुरु भएको स्टार्टअप

मेनुक्श मेनुक्श

माघ ६, २०७८ १९:५५

काठमाडौंका घर-घरमा अर्गानिक उत्पादन पुर्‍याउन सुरु भएको स्टार्टअप

काठमाडौं । इन्टरनेट स्लो भयो । जुन उपायले पनि सोचेजस्तो स्पिड पाइएन । अनि हाम्रो दिमाग तात्न थाल्छ । सहन गाह्रो हुन्छ । हामी सेवा प्रदायकलाई कल गर्छौं र प्रश्न तेर्साउँछौँ, इन्टरनेटको स्पिड किन यस्तो ?

मोबाइल एकैछिन चलेन, चार्ज टिकेन । यस्तो लाग्छ, यो भन्दा झुर जीन्दगी पनि अरु कुनै हुन सक्छ र !

प्रविधिसँग जाेडिएका सेवामा अलिकति पनि सम्झौता गर्न नचाहने हामीले हाम्रो शरीरलाई दिइरहेको भोजन कति गुणस्तरीय र लाभदायक छ भनेर कति समय खर्चिने गरेका छौं त ? सायद धेरै नै कम ।

मानवीय औद्योगिक गतिविधिले हाम्रो पर्यावरणमा प्रतिकूल प्रभाव परिरहेको छ । प्रतिदिन स्वास्थ्य चुनौती पनि बढिरहेको छ । यस्ता यावत् अप्ठ्यारालाई परास्त गर्न विगत पाँच वर्षदेखि ‘काठमाडौं अर्गानिक्स’ लागिरहेको छ ।

सन् २०१३ ताका भुवन केसी र उनकी श्रीमती निशा तौजाले केसी मिलेर कृषि फार्म खोलेका थिए । अर्गानिक उत्पादनका लागि टोखा नगरपालिकाको २० रोपनी जग्गामा खोलिएको फार्मले सोचेजस्तो गति लिन सकेन । कारण थियो, अव्यवस्थित बजार ।

बजारमा विषाक्त खानेकुरा मात्रै पाइन्छ भनेर गुनासो गर्ने ग्राहकले पनि अर्गानिक खानेकुराको मोलतोल उस्तै हिसाबले गरेको पाएपछि उनीहरूलाई लाग्यो, केही त फरक सोच्नपर्छ ।

भुवन भन्छन्- ‘अर्गानिक उत्पादनमा होइन, यहाँ त बजार र वितरणमा समस्या थियो । यस्तो अस्वस्थ प्रतिस्पर्धाबाट बाहिरिनुपर्छ  भन्ने सोचेर हामीले उत्पादनको कामलाई ठप्प गर्‍याैं । साथै उत्पादक र ग्राहकलाई जोड्ने पुलको रुपमा काम गर्ने निधो गर्‍याैं ।’ 

‘अन्य व्यवसायीले जस्तै डिलर र ठाउँ-ठाउँमा पसल खोलेर व्यापार गर्न धेरै खर्चिलो थियो । स्थापित हुन पनि धेरै समय लाग्ने । हाम्रा लागि ईकमर्समा जोडिनु जस्तो उत्तम विकल्प अरू कुनै लागेन । एक ठाउँमा वेयरहाउस खोलेर उपत्यकाभरका ग्राहकसँग जोडिन सकिन्छ । गोदाम, विभिन्न ठाउँमा शटर भाडाको झमेलामा किन पर्ने !’

उनले अगाडि भने, ‘फेरि हाम्रा ग्राहकहरू पनि सीमित छन् । स्वस्थकर खानाको महत्व बुझेको जमात थोरै भएको काठमाडौंमा धेरैलाई त अर्गानिकको फाइदा नै बुझाउन बाँकी थियो । यस्तोमा समस्त बजारलाई एकै ठाउँमा समेट्न हामीले ईकमर्स नै रोज्यौँ ।’

स्थानीय उत्पादनले बजार नपाएको कुराले उनीहरूलाई पिरोलेको थियो । साथै अर्गानिक खानेकुरा घर-घरमा पुर्‍याउनु पनि थियो । त्यसका लागि सबैभन्दा पहिला काठमाडौंकै ग्राहकलाई केन्द्र बनाए ।

कर्णालीका केही खानेकुरा र काभ्रेको किवीबाट उनीहरूले ग्रोसरीको परीक्षण डेलिभरी सुरू गरे । त्यतिबेला नजिकका साथीभाइ र चिनजानका व्यक्तिले निकै सहयोग गरेको भुवन सम्झन्छन् । विस्तारै अन्य ग्राहकले पनि अर्डर गर्न थाले ।

स्थापनाकालदेखि नै कर्णाली प्रदेशका उत्पादनलाई मूलधारमा ल्याउनु कम्पनीको पहिलो प्राथमिकता थियो ।

कर्णाली नै किन ? भन्ने हाम्रो प्रश्नमा भुवन भन्छन्, ‘कर्णालीको उत्पादन अर्गानिक छ । साथै त्यहाँको उत्पादनले उपयुक्त बजार पाएको छैन ।’

हेर्दा राम्रो ब्रान्डिङ र प्याकेजिङ भएको सामान किन्ने बानी परेका ग्राहकले याे स्टार्टअपकाे प्याकेजिङ मन पराउन केही समय लाग्याे नै ।

‘अटोमेटेड प्याकेजिङ जस्तो हुँदैन । हामीसँग पहुँच पनि छैन । हामी गुणस्तरमा केन्द्रित छौं । खाएर हेर्नुस, चित्त नबुझे पैसा फिर्ता हुन्छ,’ यो पाँच वर्षमा धेरै दोहोर्‍याइएका वाक्यांश हुन् ।

उनी भन्छन्, ‘धेरै कुरा सिक्ने मौका मिल्यो । अझै सिक्दैछौँ । रसायनयुक्त सामग्री बाटोमा तीन महिना रोकिए पनि बिग्रिदैन । ग्राहकलाई त्यही राम्रो लाग्छ । हाम्रो सामानमा दुई/चार दिनमै घुन लागिदिन्छ । हामी सबैले विषादीयुक्त खाना र विषादीमुक्त खानाबीचको फरक बुझ्न/बुझाउन जरुरी छ ।’

नेपालमा नै उच्च पोषणयुक्त खाना उपलब्ध हुँदा पनि विषादीयुक्त विदेशी उत्पादन आयात नराेकिएकाे उनकाे तर्क छ ।

‘धेरैलाई यो कुरा थाहै छैन भन्ने जानेपछि हामीले राजधानीका ठूला रेस्टुराँहरूमा प्रदर्शनी समेत गर्‍याैं । जसले नेपालमा पनि स्वस्थकर र उच्च पौष्टिक खानाको उत्पादन हुन्छ भन्ने धेरैलाई थाहा भयो । त्यसबेला जुम्लाको कोदोको परिकार, चिनोको सलाद र कागुनोको खिर धेरैले मन पराएका थिए,’ भुवन सुनाउँछन् ।

ग्रामीण भेगबाट ढुवानी गर्नुपर्ने हुँदा केही महङ्गो भएता पनि गुणस्तरलाई हेर्दा पछुताउन नपर्ने उनको तर्क छ । कम्पनीको ईकमर्स प्लेटफर्ममा अहिले ६०० अर्गानिक उत्पादन सूचीकृत गरिएका छन् । जसमा ९० प्रतिशत नेपाली र अन्य १० प्रतिशत विदेशी उत्पादन छन् ।

नेपालमा उत्पादन नहुने स्वस्थकर खानाका पारखीलाई उक्त १० प्रतिशतले समेट्ने उनको भनाइ छ ।

कर्णालीका उत्पादनलाई विशेष प्राथमिकता दिएपनि हालसम्म ५० जिल्लाका किसानको अर्गानिक उत्पादनलाई याे टिमले ग्राहकसम्म पुर्‍याइसकेको छ ।

आगामी एक वर्षमा कर्णाली प्रदेश सरकार, वर्ल्ड फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन र नेपाल सरकारको खाद्य गुणस्तर केन्द्नसँग सहकार्य गर्ने योजना रहेको उनले जानकारी दिए ।

नेपाल भौगोलिक हिसाबले विविधतापूर्ण भएकाले फरक स्थानमा फरक किसिमको उत्पादन हुन्छ । यसलाई मध्यनजर गर्दै सातै प्रदेशमा डेलिभरी सेवा उपलब्ध गराउने कम्पनीको परिकल्पना छ ।

पाँच वर्षमा २५ हजार ग्राहकलाई सेवा दिइसकेको कम्पनीले ८० हजारभन्दा धेरै डेलिभरी गरेको छ । जसमा दैनिक सयभन्दा बढी डेलिभरी गरिरहेको भुवनले सुनाए ।

काठमाडौंको बाटो र घर नम्बर गुगल म्यापको भरमा पत्ता लगाउन सम्भव छैन । जसका कारण डेलिभरी सर्भिसमा सकस पर्ने गरेको उनी बताउँछन् । फलस्वरुप डेलिभरी खर्च पनि महंगो हुने गरेको छ ।

पाँच लाख रुपैयाँबाट सुरू गरेको ‘अर्गानिक काठमाडौं’ को लगानीले अहिले करोडौँको पुँजीमा आफूलाई पुर्‍याइसकेको छ ।

अहिले कम्पनीले १८ जनालाई नियमित रोजगारी दिइरहेका छ । अर्गानिक फुडलाई सबै नागरिकको पहुँचमा पुर्‍याउन कम्पनीले काम गरिरहेकाे छ ।

फरक शैलीको काम पछ्याएको कम्पनीले सन् २०२० मा बेस्ट अनलाइन सस्टेनेबल प्रडक्ट मार्केटप्लेसको एक्सिलेन्स अवार्ड फर इको-कन्सियस प्रडक्ट अवार्ड पनि पायाे, जसले झनै हौसला मिलेको भुवन सुनाउँछन् ।

ईकमर्स सेवामा ग्राहक तथा बिक्रेताले कम्पनीको वेबसाइट, फेसबुक पेज, इन्स्टाग्राम र फोनकल मार्फत जोडिन सक्छन् । बिक्रेताहरूका लागि वेबमा फारम भर्ने सुविधा छ ।

बिक्रेताको उत्पादनको गुणस्तरका आधारमा मार्केटिङमा सहयोग पुर्‍याउन कम्पनी प्रतिबद्ध रहकाे उनकाे भनाइ छ ।

नेपालमा स्टार्टअप कम्पनीका लागि उपयुक्त इकोसिस्टम नै नभएको उनको बुझाइ छ । केही लगानीकर्ताले स्टार्टअपलाई सहयोग गर्ने गरेको भएता पनि सबैका लागि सहयोगी नभएको उनी बताउँछन् ।

त्यस्ता कम्पनी तथा लगानीकर्ताले चाँडै फाइदामा जानसक्ने स्टार्टअपलाई मात्र सहयोग गर्ने गरेको उनकाे गुनासाे छ ।

‘भविष्यमा राम्रो गर्नसक्ने भिजन बोकेका स्टार्टअपलाई समेत समावेशी ढंगले समेट्न सकेमा स्टार्टअपहरू विस्तार हुन्छन् । यहाँ त त्यस्ता सोचलाई मौका नै दिइन्न,’ उनले भने ।

केही स्टार्टअपले स्थापित भइसकेको कम्पनीको सिको गर्ने परिपाटीप्रति भने उनकाे विमति छ । ‘त्यति मात्रै कहाँ होर ! लोगो पनि मिल्दोजुल्दो बनाएर ग्राहक भड्काउन खोज्छन् । जसले स्टार्टअपलाई झनै धरासयी बनाउँछ,’ उनले भने ।

एउटा स्थापित स्टार्टअपले कस्टमर केयर, क्वालिटी सर्भिस, ग्राहकको मागलाई राम्रोसँग पहिचान गरेको हुन्छ । तसर्थ अरुले गरेको काम सिको गर्नेभन्दा पनि उपभोक्ताको माग र बजारलाई अध्ययन गर्नमा धेरै समय खर्चिनुपर्ने उनको सुझाव छ ।

अहिले फुडटेकमा मात्रै काम गरिरहेको कम्पनीले निकट भविष्यमा नेपाली उत्पादनको मार्केटप्लेसका रुपमा काम गर्ने याेजना ल्याएकाे छ ।

नेपाली फर्निचर, ज्वेलरी, लत्ताकपडा र धातु लगायत सबै किसिमका नेपाली सीप र उत्पादन एकै ठाउँमा उपलब्ध हुनेछन् । नेपाली उत्पादनलाई बढावा दिई विदेशी आयातलाई कम गर्न कम्पनीले यस्तो रणनीति अघि सारेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२