close

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

टेकपाना टेकपाना

माघ ७, २०७८ १६:२९

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाबाट खटिएको  विशेष टोलीले बिहीबार काठमाडौंको मिनभवनबाट उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा राजन भट्टराई, विशाल श्रेष्ठ र दीपेराज श्रेष्ठ रहेका छन् । क्रिप्टोकरेन्सी तथा बिटक्वाइनबाट वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाले उनीहरूमाथि निगरानी राख्न विषेश टोली परिचालन गरेको थियो ।

सोही टोलीले बिहीबार दिउसो काठमाण्डौको मीनभवनबाट पर्वत फलेबास घर भएका २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी घर भएका वर्ष २५ का विशाल श्रेष्ठ र काठमाडौं थापाथलीका २७ वर्षीय दीपेन श्रेष्ठ रहेका छन् । उनीहरूमाथि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम विनियम, निर्देशन र आदेश विपरितको कार्य गरेको आरोप छ । 

पक्राउ परेका तीनै जना विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ । पक्राउ परेका भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग १९२६ पटक कारोबार गरेको, मङ्सिरदेखि पुससम्म करिब दुई लाख ६० हजार रुपैयाँ कारोबार गरेको र अन्य दुई व्यक्तिहरूले समेत सोही किसिमको कारोबार गरेको देखिन आएको प्रहरीको दाबी छ ।

नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्ने गराउने कार्य नेपालको कानुन विपरीत रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएको उल्लेख गर्दै प्रहरीले यस्तो कार्य नगर्न, नगराउन समेत अनुरोध गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२