close

टिकटकले सुरु गर्‍यो सब्सक्रिप्सनको परीक्षण, क्रियटरले भिडिओबाटै पैसा कमाउन सक्ने

टेकपाना टेकपाना

माघ ७, २०७८ १८:४७

टिकटकले सुरु गर्‍यो सब्सक्रिप्सनको परीक्षण, क्रियटरले भिडिओबाटै पैसा कमाउन सक्ने

काठमाडौं । टिकटकले क्रियटरका लागि पेड-सब्सक्रिप्सन अर्थात् आफ्नो भिडिओ हेर्न चाहने व्यक्तिहरूबाट पैसा लिन सक्ने व्यवस्था मिलाउने भएको छ । छोटो भिडिओ शेयरिङका लागि लोकप्रिय रहेको टिकटकले बिहीबार सब्स्क्रिप्सन फिचरको परीक्षण थालेको हो ।

टिकटकले क्रियटरका कन्टेन्टमा शुल्क लगाउनका लागि यो रणनीति अघि सारेको छ । अहिले कति क्रियटरमा परीक्षण भइरहेको छ र शुल्कको मापदण्ड कस्तो हुनेछ भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी बाहिर ल्याएको छैन । 

कम्पनीका प्रवक्ता जाकरी किजरले सब्सक्रिप्सनको अवधारणा परीक्षणकै क्रममा रहेको जानकारी दिएका छन् । कम्पनीको यो कदमले टिकटकको छवी विस्तारमा सकारात्मक भूमिका खेल्ने कम्पनीको अपेक्षा छ ।

क्रियटरलाई मनिटाइजेसनमा सघाउ पुर्‍याउने टिकटकको यो पछिल्लो कदम हो । क्रियटरको सानो समूहमा परीक्षण गरेर डिसेम्बर सम्ममा योग्य कन्टेन्ट क्रियटरका लागि यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

टिकटकले नयाँ र अत्यधिक सफल व्यावसायिक मोडेलमा क्रियटरलाई कसरी जोड्नेछ भन्ने विषयमा आम प्रयोगकर्ता भने अन्योलमै छन् । टिकटकको उत्कृष्ठ एल्गोरिदमका रुपमा यसको ‘फर यु’ पेजलाई लिइन्छ ।

जसमा क्रियटरका कन्टेन्ट स्वतः उनीहरूका दर्शकसामू पुग्दछन् । यस्तोमा क्रियटरले आफ्ना राम्रा कन्टेन्टहरू सब्स्क्रिप्सनका लागि साँचेर राख्नु भने उचित नहुन पनि सक्छ । किनकि सब्स्क्रिप्सनको सदस्य नबनेका क्रियटरका लागि एल्गोरिदमले काम गर्ने छैन । 

पछिल्लो समय डिजिटल प्लेर्टफर्महरूले क्रियटरलाई कन्टेन्ट मनिटाइज गर्न मद्दत गरिरहेका छन् । यस्तोमा कस्ता क्रियटरले सब्सक्रिप्सनको सदस्यता पाउँछन् र आफ्नो कामलाई प्रवर्द्धन गर्न सक्छन् भन्ने विषयमा प्रयोगकर्ताले पनि अनुमान लगाउनु पर्ने अवस्था छ । 

यसअघि इन्स्टाग्रामले पनि क्रियटर र इन्फ्लुयन्सरका लागि सब्सक्रिप्सनको घोषणा गरेको थियो । जसमा सब्स्क्रिप्सन सदस्यता लिनका लागि क्रियटरले निश्चित मासिक शुल्क तिर्नुपर्ने हुन्छ ।

स्टोरी तथा लाइभ भिडिओ लगायतका कन्टेन्टका आधारमा प्रतिमहिना ०.९९ अमेरिकी डलर देखि ९९.९९ डलरसम्म भुक्तानी गर्ने व्यवस्था मिलाउन लागिएको छ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले क्रियटरको सदस्यतामा तत्काल राजस्व कटौती गर्ने  योजना नरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२