close

मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने अन्तिम तयारीमा न्युरलिंक

टेकपाना टेकपाना

माघ ८, २०७८ १३:४

मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने अन्तिम तयारीमा न्युरलिंक

काठमाडौं । संसारकै धनाढ्य एलन मस्कको ब्रेन इम्प्लान्ट (मष्तिस्क प्रत्यारोपण) कम्पनी न्युरलिंकले मानिसको दिमागमा ब्रेन चिप परीक्षण गर्ने तयारी गरेको छ । कम्पनीले मानिसमा मष्तिस्क प्रत्यारोपणको परीक्षण गर्न हालै क्लिनिकल ट्रायल डाइरेक्टर पदका लागि आवेदन माग गरेको छ ।

यो कम्पनीले हालसम्म सुँगुर र बाँदरको मष्तिस्क प्रत्यारोपणको सफल परीक्षण गरिसकेको छ । अब भने कम्पनी मान्छेमा नै ब्रेन चिपकाे परीक्षण गर्ने तयारीमा जुटेकाे छ ।

कम्पनीले प्रत्यारोपणका लागि एउटा सानो सिक्का जस्तो उपकरण प्रयोग गर्नेछ,, जुन पातलो र लचिलो तारहरू जडित इलेक्ट्रोडहरूबाट बनेको छ ।

यो उपकरणलाई सर्वव्यापी रुपमा प्रयोग गर्न कम्पनीले फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनबाट अनुमति लिनुपर्ने हुन्छ, जसका लागि कम्पनीले यो उपकरण पहिले मान्छेमा परीक्षण गर्नुपर्नेछ ।

मस्कले यो उपकरण विभिन्न न्युरोलोजिकल समस्याहरूलाई सामाधान गर्न विकास गरेको बताएका छन् ।

मस्कका अनुसार चिपमार्फत व्यक्तिको दिमाग सोझै कम्प्युटरसँग जोडिनेछ । यदि यो सफल भएको खण्डमा विशेषगरी पक्षघात भएका मानिसको शरीरलाई नियन्त्रण गर्न सकिने कम्पनीको दाबी छ ।

त्यतिमात्रै नभएर मानिसको शरीर कम्प्युटरको सहायताले चल्ने हुँदा सामान्य मानिसको तुलनमा धेरै गुणा बढी सक्रिय हुनसक्ने आँकलन गरिएको छ ।

एलन मस्कले सन् २०१६ मा न्युरलिङ्क कम्पनीको स्थापना गरेका थिए, जो अल्ट्रा हाइ ब्रेन मसिन इन्टरफेस तयार पार्ने कार्यमा जुटेको छ । जो रोगनको पोडकास्ट शोमा बोल्दै मस्कले मानिसको दिमागमा चिप लगाउने काम एउटा रोबोटले गर्ने जानकारी दिए ।

उनका अनुसार यो प्रविधि करिब २५ वर्षमा पूर्ण ब्रेन इन्टरफेसको रुपमा समेत तयार हुनसक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२