close

सस्तोमा कसरी राम्रो फोन किन्ने ?

टेकपाना टेकपाना

माघ ८, २०७८ १५:५४

सस्तोमा कसरी राम्रो फोन किन्ने ?

काठमाडौं । बजारमा अहिले थरीथरीका स्मार्टफोन ब्राण्ड छन् । अनि यी ब्राण्डका ८/९ हजारदेखि साढे दुई लाखसम्मका स्मार्टफोन उपलब्ध छन् । यस्ताेमा सस्तो र राम्रो स्मार्टफोन छनौट गर्ने कुरा पक्कै पनि चुनौतीपूर्ण हुन्छ ।

वास्तवमा राम्रो स्मार्टफोनका लागि पैसा र सस्तोको लागि गुणस्तरमा सम्झौता गर्नुपर्ने अवस्था रहन्छ । यस विषयको चर्चा आधारभूत पक्षबाटै गरौँ ।

तपाईंको रोजाइमा ठूलो स्क्रिन पर्छ ? हो भने कम्तिमा ५.५ इन्च डिस्प्ले भएको फोन रोज्दा उपयुक्त हुन्छ । तर यदि एउटा हातमा लिएर सहजै चलाउन सकिने किसिमको फोन रुचाउनु हुन्छ भने ५ इन्च वा त्यसभन्दा मुनिको स्क्रिन साइज छान्न सकिनेछ ।

अब दोस्रोमा क्यामेराको कुरा गरौँ । साधारणतया सस्तो मूल्यका फोनमा एउटा अथवा दुईओटा लेन्स दिइएको हुन्छ । तर यसमा अहिले विस्तारै परिवर्तन देखिँदैछ । सस्तो मूल्यमा पनि ट्रिपल क्यामेरा सेटअप भएका फोन आउन थालिसकेका छन् ।

तर मेगापिक्सेलको अङ्कले त्यति धेरै अर्थ राख्दैन, त्यसैले क्यामेराले केके गर्न सक्छ भन्ने विषयमा ध्यान दिनुहोस् । त्यसको साटो क्यामेराले अल्ट्रा-वाइड शट लिन सक्छ कि सक्दैन हेर्नुहोस्, जुन चाहिँ पछिल्लो समय बजारमा आउने सस्ता स्मार्टफोनको एउटा साझा विशेषता बन्न थालेको छ ।

तर ३० हजार रुपैयाँमुनीका स्मार्टफोनमा अप्टिकल जुम, डिजिटल जुमको अपेक्षा भने नराख्दा हुन्छ ।

अहिलेको समयमा स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने कमसेकम ४ जीबी र्‍याम त हुन जरुरी छ । हुन त अहिले २०/२५ हजार मूल्यका फोनमा पनि ६ जीबी र्‍याम उपलब्ध हुन थालिसकेका छन् ।

तपाईंले फोनमा कत्तिको मल्टिटास्किङ काम गर्नुहुन्छ, गेम खेल्नुहुन्छ भन्ने कुराले पनि र्‍याम क्षमता तय गर्न सघाउ पुग्छ । साथै अहिलेका बजेट फोनमा समेत भर्चुअल र्‍याम थप्ने सुविधा दिन थालिएको छ, यसबारे पनि ख्याल गर्नुहोस् ।

त्यस्तै स्मार्टफोनका लागि न्यूनतम ६४ जीबी स्टोरेजमा जोड दिनुहोस् । यसबाहेक फोनमा स्टोरेज बढाउन माइक्रो एसडी कार्ड स्लट छ कि छैन भन्ने कुरा पनि हेर्नुहोस् ।

मूल्यको विषयलाई छोड्ने हो भने ब्याट्री कतिसम्म टिकाउ हुन्छ भन्ने कुरा मुख्य सरोकारको विषय हुन्छ । त्यसैले फोनको ब्याट्री क्षमता कति छ चेक गर्नुहोस् ।

सामान्यतयाः ४५०० एमएएच क्षमताभन्दा माथिको ब्याट्री भएको रुचाउने गरिन्छ । सँगसँगै फास्ट चार्जिङ सपोर्टलाई समेत आधार बनाउन सक्नुहुन्छ ।

त्यसो त यदाकदा अहिले ४० हजार रुपैयाँभन्दा मुनीका स्मार्टफोनमा समेत फाइभजी सपोर्ट हुने गर्छ । तर सस्ता फोनमा फाइभजीलाई ध्यान दिँदा अन्य फिचरहरूसँग सम्झौता गर्नुपर्छ । त्यसैले यसलाई मुख्य आधार नबनाएकै राम्रो हुन्छ ।

यद्यपि अब भित्रिने सस्ता स्मार्टफोनमा फाइभजी मोडेम समावेश हुनेछन् । साथसाथै फोनले कुन कुन क्यारियर अर्थात् सेवाप्रदायकको नेटवर्कलाई सपोर्ट गर्छ वा गर्दैन भन्ने कुरा पनि ख्याल राख्नुहोस् ।

उदाहरणका लागि तपाईं नेपाल टेलिकमको सिम चलाउनुहुन्छ भने ८०० मेगाहर्ज फ्रिक्वेन्सी सपोर्ट नभएको अवस्थामा ग्रामीण क्षेत्रमा र सहरकै ठूला बिल्डिङ तथा लिफ्टमा हुँदा फोरजी नेटवर्कले काम नगर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२