close

कृषि ढुवानी सहज बनाउने स्टार्टअपलाई ५० लाखसम्मको अनुदान

टेकपाना टेकपाना

माघ ८, २०७८ १८:१

कृषि ढुवानी सहज बनाउने स्टार्टअपलाई ५० लाखसम्मको अनुदान

काठमाडौं । कृषिजन्य आपूर्तिशृंखला तथा ढुवानीका प्रमुख समस्या तथा चुनौतीलाई सम्बोधन गर्न समाधान सहित काम गर्ने स्टार्टअपलाई ५० लाखसम्म अनुदान दिने गरी ‘सहज च्यालेन्ज फण्ड’ का लागि आवेदन माग गरिएको छ ।

नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP) र आइडिया स्टुडियो नेपालको सहकार्यमा याे च्यालेन्ज फण्ड घाेषणा गरिएको हो ।

इच्छुकले फागुन ६ सम्म आवेदन दिन सक्नेछन् । हाललाई प्रदेश १ लाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको हाे । नवीनतम व्यवसायिक योजना भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाले समेत आवेदन दिनसक्ने छन् ।

आवेदकले प्रदेश नम्बर १ मा कृषि उत्पादनको आपूर्तिशृंखला तथा ढुवानी र मूल्य अभिवृद्धिमा रहेका समस्याको समाधानका लागि याेजना प्रस्तुत गर्नुपर्नेछ ।

सहज च्यालेन्ज फण्डअन्तर्गत पहिलो चरणको कूल बजेट एक करोड ९५ लाख नेपाली रुपैयाँ रहेको छ । जसअन्तर्गत सबैभन्दा ठूलो सहयोग राशि ५० लाख रुपैयाँसम्मको हुने आयोजकले बताएको छ ।

यसरी छनौट गरिएका आवेदकले नगद रााशिसँगै व्यवसाय अगाडि बढाउन एक वर्षसम्म विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउनेछन् ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२