close

इन्स्टाग्राम र स्न्यापच्याटका कारण छोरीले आत्महत्या गरेको भन्दै आमाले हालिन् मुद्दा

टेकपाना टेकपाना

माघ ८, २०७८ १९:३०

इन्स्टाग्राम र स्न्यापच्याटका कारण छोरीले आत्महत्या गरेको भन्दै आमाले हालिन् मुद्दा

काठमाडौं । इन्स्टाग्राम र स्न्यापच्याटको अत्यधिक प्रयोगका कारण आफ्नी ११ वर्षीया छोरीले आत्महत्या गरेको भन्दै अमेरिका सानफ्रान्सिस्कोमा ट्यामी रोड्रिगस नाम गरेकी महिलाले सम्बन्धित कम्पनीविरुद्ध मुद्दा हालेकी छिन् ।

उनकी छोरी सेलेना रोड्रिगसले सन् २०२१ को जुलाईमा आत्महत्या गरेकी थिइन् । आमा ट्यामीका अनुसार सेलेना इन्स्टाग्राम र स्न्यापच्याट अत्यधिक मात्रामा प्रयोग गर्थिन् ।

यही कारण छोरीलाई आत्महत्याका लागि दुरुत्साहन मिलेको ट्यामकीको तर्क छ । ट्यामीले इन्स्टाग्रामको कम्पनी मेटा र स्न्यापच्याटको कम्पनी स्न्यापविरुद्ध मुद्दा हालेकी हुन् ।

ट्यामीका अनुसार उनकी छोरी सामाजिक सञ्जालको गलत प्रभाव विरुद्ध सघंर्ष गरिरहेकी थिइन् । एपहरूमा उपलब्ध एल्गोरिदम र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमार्फत यी प्लेटफर्मले मानव मनोविज्ञानमाथि नकारात्मक असर गरेको उनको मुद्दामा उल्लेख छ ।

सामाजिक सञ्जालको लत छुटाउन ट्यामीले आफ्नी छोरीको डिभाइस लुकाइदिनेदेखि मेन्टल हेल्थ थेरापी दिनेसम्मको काम गरेकी थिइन् । ट्यामीका अनुसार कोरोना महामारी सुरु भएपछि उनकी छोरी फुर्सदमा भएपछि सामाजिक सञ्जालमा धेरै व्यस्त हुन थालेकी थिइन् ।

छोरीले आत्महत्या गर्नुभन्दा केही महिनाअघि देखि डिप्रेसनको सामना गरेकी थिइन् भने उनमा अनिन्द्राको समस्या पनि थियो ।

ट्यामीले उनकी छोरीले बेला बेला सामाजिक सञ्जालमा यौन शोषणसँग सम्बन्धित सामग्री धेरै आउने गरेको र उनले त्यस्ता सामग्री शेयर गर्ने कुरा बताउने गरेको पनि मुद्दामा उल्लेख गरेकी छन् ।

सेलेनाले शेयर गरेका सामग्रीबारे उनका स्कुलका साथीले थाहा पाएर स्क्रिनशट बनाई पठाउन थालेपछि उनी मानसिक तनावबाट गुज्रिरहेकी थिइन । जसले गर्दा अन्ततः सेलेनाले आत्महत्या गरेको ट्यामीको दाबी छ ।

दुवै कम्पनीहरूले जानीजानी यस्ता सामाग्री प्रवर्द्धन गरेको ट्यामीकी आरोप छ । यो घटनापछि दुवै कम्पनीले सो घटना दुःखदायी भएको, तर आफूहरू सधैं आफ्ना प्रयोगकर्ताको सुरक्षाप्रति प्रतिबद्ध भएको दाबी गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२