close

मोबाइलमा गेम खेल्दै मानव अधिकारबारे जानकारी लिन सकिने

टेकपाना टेकपाना

माघ ९, २०७८ १८:१

मोबाइलमा गेम खेल्दै मानव अधिकारबारे जानकारी लिन सकिने

काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा एम्नेस्टी इन्टरनेसनलले खेलसँगै मानव अधिकारबारे जानकारी दिने उद्देश्यले राइट्स आर्केड (Rights Arcade) नामक मोबाइल गेम सार्वजनिक गरेको छ ।

आममानिसलाई खेलको माध्यमबाट मानव अधिकारको विषयमा जानकारी दिन र मानव अधिकारका लागि आवाज उठाउन प्रोत्साहन गर्ने उद्देश्यसहित यो गेमको विकास गरिएको संस्थाले जनाएको छ ।

‘संसारभरका मानिस, अझ विशेषगरी युवा वर्गलाई आकर्षक ढङ्गमा मानव अधिकारका विषय सिक्न प्रोत्साहित गर्ने उद्देश्यका साथ यो गेमको विकास गरिएको हाे,’ एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामार्डले भनिन् ।

‘मानव अधिकारको एजेन्डा तय गर्न युवाको भूमिका निर्णायक हुन्छ र नयाँ पुस्ताका अभियन्तालाई मानव अधिकारका लागि लड्न र मानव अधिकार संरक्षणमा जुट्न सशक्त र सक्षम बनाउनका लागि उनीहरूले बसोवास गरेको वा उनीहरू नियमित रूपमा सहभागी हुने ठाउँमा पुग्नु महत्त्वपूर्ण हुन्छ,’ उनले थपिन् ।

प्रयोगकर्ताले तीन देशका व्यक्तिहरूको वास्तविक जीवनका अनुभवबाट मानव अधिकारको यात्रा गर्नेछन् । एप डाउनलोड गरेपछि चीन, बगंलादेश र थाइल्यान्डको नक्सा आउँछ ।

प्रयोगकर्ताले सो नक्सामार्फत यात्रा गर्दै यी देशमा भएका मानव अधिकारसम्बन्धी घटनाका बारेमा जानकारी लिन सक्छन् ।

बङ्गलादेशमा डिजिटल सुरक्षा ऐनअन्तर्गत अन्यायपूर्ण आरोप खेपेका कार्टुनिस्ट अहमद कबीर किशोर, चीनमा कोभिड-१९ को बारेमा रिपोर्टिङ गरेकै कारण चार वर्षको जेल सजाय सुनाइएकी पत्रकार झाङ झान र थाइल्याण्डमा विरोध प्रदर्शन गरेको आरोपमा २५ भन्दा बढी अभियोग लगाइएका विद्यार्थी अभियन्ता पानुसाया सिथिजिरावत्तानाकुल लगायतको विषयमा खेलमार्फत जानकारी दिइएको छ ।

‘यो गेमले युवामा मानव अधिकारसम्बन्धी केही आधारभूत ज्ञान प्रदान गर्ने मात्र नभई यसले उनीहरूलाई अन्यायविरुद्ध उभिन र सत्य तथा न्यायको पक्षमा बोल्न सशक्त बनाउने र उत्प्रेरित गर्ने छ,” एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थापालियाले भने ।

‘हामीले यो गेममार्फत हाम्रा हजारौं युवा सदस्य तथा समर्थकलाई सहभागी गराई उनीहरूलाई मानवअधिकार परिवर्तनका लागि सिक्न र अभियानात्मक गतिविधि गर्न सक्षम बनाउने आशा गरेका छौं,’ उनले भने ।

हाललाई यो गेम अंग्रेजी, चिनियाँ, थाई र कोरियन भाषामा उपलब्ध छ । फेब्रुअरी महिनाभित्र नेपाली भाषामा पनि उपलब्ध हुने संस्थाले जनाएको छ ।

राइट्स आर्केडलाई आईओएसएन्ड्रोइड प्लेटफर्महरूमा डाउनलोड गर्न सकिन्छ। 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२