close

इन्टरनेटबाट यसरी चलाउनुहोस् टाढाको मोबाइल वा कम्प्युटर

टेकपाना टेकपाना

माघ ९, २०७८ १९:५४

इन्टरनेटबाट यसरी चलाउनुहोस् टाढाको मोबाइल वा कम्प्युटर

काठमाडौं । पहिले भन्दा आजको समयमा प्रविधि निकै उन्नत भइसकेको छ । हुन त अरुले वर्षौँदेखि प्रयोग गर्दै आइरहेको प्राविधिक तौर तरिका तपाईँका लागि नितान्त नयाँ हुन सक्छ ।

आज हामी तपाईँलाई आफ्नो एन्ड्रोइड स्मार्टफोन वा ल्यापटपको सहयोगमा टाढा रहेको कम्प्युटर वा एन्ड्रोइड फोन कसरी चलाउन सकिन्छ भन्ने विषयमा बताउँदै छौँ । यो उपाय तपाईँका लागि त्यस्तो बेला बढी उपयोगी हुन सक्छ, जब प्राविधिक कठिनाइ आइपर्दा तपाईँले कसैसँग सरसहयोग लिनु दिनुपर्ने हुन्छ ।

अर्को अर्थमा भन्नुपर्दा यो एपको प्रयोग त्यस्तो बेला गर्न सकिन्छ, जब तपाई आफ्नो कम्प्युटरमा आफ्नो स्मार्टफोनबाट रिमोट्ली एक्सेस गर्न चाहनुहुन्छ । 

कसरी गर्ने प्रयोग ? 

टिमभ्युअरले कुनै एउटा मोबाइल तथा कम्प्युटर डिभाइसमा इन्टरनेटको सहयोगमा  टाढाबाट पहुँच बनाउने सुविधा दिन्छ । यस बाहेक तपाईँले यस्तै किसिमको एनी डेस्क एप तथा सफ्टवेयरको सहयोग पनि लिन सक्नुहुन्छ ।

तर यहाँ हामी उदाहरणको रुपमा टिमभ्युअर प्रयोग गर्ने तरिकाको विषयमा बताउँदै छौँ । एक्सेस गर्ने डिभाइस (मोबाइल वा कम्प्युटर) मा टिमभ्युअर रिमोट कन्ट्रोल एप डाउनलोड गर्नुहोस् (एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस्)। त्यसैगरी अरुलाई एक्सेस दिने डिभाइसमा टिमभ्युअर क्विकसपोर्ट एप डाउनलोड गर्नुहोस् (यो एप डाउनलोड गर्न एन्ड्रोइडमा यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस्) ।

त्यसैगरी कम्प्युटरका लागि यहाँ क्लिक गरी एप डाउनलोड गर्नुहोस् । एप डाउनलोड गरिसकेपछि  आफ्नो डिभाइसमा पहुँच बनाउन दिन चाहनुहुन्छ भने क्विक सपोर्ट एपमा रहेको आफ्नो आईडी अर्को व्यक्तिलाई दिनुहोस् ।

अथवा अर्काको डिभाइसमा एक्सेस बनाउँदै हुनुहुन्छ भने उक्त डिभाइसमा रहेको आईडी माग्नुहोस् र आफ्नो डिभाइसको एपमा राख्नुहोस् र रिमोट एक्सेस बटनमा दबाउनुहोस् । अनि एक्सेस दिने डिभाइसमा अलाउ गर्नुहोस् ।  

यहाँनिर बिचार गर्नुहोस्, दुवै तर्फको डिभाइसमा एपले काम गर्न खुला हुनुपर्छ । अन्यथा कनेक्सन फेल हुने समस्या देखिन सक्छ । एकपटक कनेक्सन स्थापित भएपछि एपमा स्क्रिन मिररिङ एक्टिभ रहेको जानकारी देख्न सक्नुहुनेछ ।

यति गरेपछि तपाईँको मोबाइलमा अर्को मोबाइलबाट एक्सेस गर्न सकिन्छ । यसमा तपाईँले यतिसम्म अनुभव गर्न सक्नुहुन्छ कि वास्तवमै अर्को ठाउँमा रहेको मोबाइल वा कम्प्युटर स्वयम् आफैँले चलाइरहेको जस्तो हुन्छ ।

तर यहाँनिर विचार गर्नुहोस्, यो प्रविधिको प्रयोग अर्को व्यक्तिको अनुमति वा जानकारीमा मात्रै उपयोग गर्नुहोस् । निजी प्रयोगका लागि टिमभ्युअर एप निःशुल्क रुपमा उपलब्ध छ । यो एपको प्रयोगमा तपाईँले फाइल शेयर गर्न पनि सक्नुहुन्छ । 

एप कत्तिको छ सुरक्षित ? 

यदि तपाईँ आफ्नो गोपनीयताको विषयलाई लिएर चिन्तित हुनुहुन्छ भने एकपटक यसरी आफ्नो डिभाइसमा एक्सेस दिएकै भरमा अर्को व्यक्तिले दोस्रो पटक त्यसैगरी एक्सेस गर्न सक्दैन । हरेक पटक कुनै अन्य डिभाइसलाई कन्ट्रोल गर्न गर्नका लागि रिक्वेस्ट पठाउनु र एसेप्ट गर्नुपर्ने हुन्छ ।

यदि अर्को व्यक्तिले रिक्वेस्ट एसेप्ट गरेन वा अनुमति दिएन भने तपाईँले उक्त डिभाइसमा एक्सेस बनाउन सक्नुहुन्न । अर्को कुरा कनेक्सन स्थापित भइसकेपछि स्क्रिनको तल एउटा सानो कन्ट्रोल प्यानल रहेको हुन्छ । 

अर्को डिभाइसबाट यो सेवा प्रयोग गरी तपाईँको डिभाइसमा पहुँच बनाउने व्यक्तिले तपाईँको डिभाइसमाथि नजर राख्नुका साथै सबै कुरा पहुँचमा लिन सक्छ ।  कम्पनीले आफ्नो नीतिको बारेमा समेत स्पष्ट रुपमा उल्लेख गरेका छन् ।

यद्यपि यी कम्पनीले ब्याकग्राउन्डमा एप पूर्ण रुपमा चल्ने अवस्था नरहेको बताएको छ । यो सेवामा इन्ड टु इन्ड इन्क्रिप्सन समेत रहेको छ । यस्तोमा तपाईँको डिभाइसमा रहेको डेटा सुरक्षित हुने कुरामा विश्वस्त रहन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२