close

सुपर एपको बाटोमा हाम्रोपात्रो

टेकपाना टेकपाना

माघ १०, २०७८ १३:२०

सुपर एपको बाटोमा हाम्रोपात्रो

काठमाडौं । हिजोआज सामान्य व्यक्तिका लागि पनि मोबाइल एपको प्रयोग सामान्य भइसकेको छ । मोबाइल एपको विकास सन् २०१० देखि सुरु भएको देखिन्छ । सुरुका दिनमा एपहरू अहिले जस्तो विस्तारित रुपमा आएका थिएनन् । एउटा एपले एउटा मात्रै काम गर्दथ्यो ।

विस्तारै एपमा उपलब्ध हुने सुविधा थपिँदै गयो । जसको अभ्यास अहिले नेपाली एप हाम्रो पात्रोले पनि सुरु गरेको छ ।

पहिलोपटक चीनले सुपर एपको अवधारणा प्रयोगमा ल्याएको थियो । जसअन्तर्गत म्यासेजिङ एप विच्याटभित्र विभिन्न फिचर उपलब्ध गराउन थालियाे ।

सुपर एप भनेको एउटा एपमा प्रयोगकर्ताले चाहेका विभिन्न फिचर उपलब्ध हुनु हो । सुपर एप आउनुभन्दा पहिला फोटो खिच्न, म्यासेज गर्न, राइड शेयर गर्न र विचार व्यक्त गर्न छुट्टाछुट्टै एपको प्रयोग गर्नुपर्ने बाध्यता थियो । यसरी एउटै एपमा भएको मल्टिपल फिचरलाई सुपर एप भनिन्छ ।

अहिले प्राय एप एउटा सम्पूर्ण प्लेर्टफर्मको रुपमा  प्रस्तुत हुन थालेका छन् । जसले गर्दा प्रयोगकर्तालाई एकै ठाउँमा विविध सुविधा उपलब्ध हुन्छ ।

हाम्रोपात्रोका संस्थापक शंकर उप्रेती भन्छन्, ‘नेपालको सन्दर्भमा राम्रो स्मार्टफोनको कम पहुँच हुने भएकाले पनि सुपर एपको अभ्यास जरुरी छ । मिडरेन्जका स्मार्टफोनमा धेरै एप राख्न समस्या हुन्छ । यसर्थ धेरै सुविधालाई एउटै प्लेटफर्ममा राख्नु प्रयोगकर्ताका लागि लाभदायक हुन्छ ।

सुपर एपमा हुनैपर्ने केही आधारभूत कुरा छन् । जसमा थर्ड पार्टी एपलाई इन्टिग्रेसन गरेर मेन एपमा जोड्नपर्दछ । त्यसैगरी मिनि एपलाई मेन एपसँग रहेर भुक्तानी लगायतका सेवा प्रयोग गर्न अनुमति दिनुपर्छ ।

पछिल्लो समय हाम्रोपात्रोले पनि मिनि एपहरूलाई इन्टिग्रेट गरेर सुपर एपको अवधारणा अभ्यास गरिरहेको छ । हाम्रोपात्रोले मिनि एपलाई समावेश गर्नुका साथै भुक्तानी सेवा पनि समावेश गरिरहेको छ ।

हाम्रो पात्रोले ईकमर्सलाई पनि मिनि एपमा जोडिरहेको छ । जसले गर्दा उनीहरूलाई फरक फरक प्लेटफर्ममा धेरै भुक्तानी गर्नुपर्ने जरूरी हुँदैन ।

हाम्रो पात्रोका सक्रिय प्रयोगकर्ता ८० देखि ९० लाख छन् । स्टार्टअपका लागि पनि मिनि एप प्लेटफर्म उपलब्ध गराएर धेरै प्रयोगकर्तासँग जोडिन मद्दत पुग्ने उनकाे भनाइ छ ।

हाम्रोपात्रोको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा अन्य सहकार्य गर्न इच्छुक पक्षलाई जोडिन उप्रेतीको आग्रह छ ।

हाम्रोपात्रोको सुपर एपमा फुड डेलिभरी, राइड शेयरिङ, अनलाइन शपिङ लगायत सबै किसिमका ईकमर्शलाई समेट्न सकिने उनले बताए । साथै एप तथा अनलाइनको माध्यमबाट सेवा उपलब्ध गराइरहेका कुनै पनि संस्थालाई कानूनी रुपमा जोड्ने समेत सकिने उनले उल्लेख गरे । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२