close

तपाईंको स्मार्टफोनमा कति जीबी र्‍याम चाहिन्छ ? यसरी गर्नुहोस् छनौट

टेकपाना टेकपाना

माघ ११, २०७८ ९:५६

तपाईंको स्मार्टफोनमा कति जीबी र्‍याम चाहिन्छ ? यसरी गर्नुहोस् छनौट

काठमाडौं । हार्डवेयर विकासको सन्दर्भलाई हेर्ने हो भने एन्ड्रोइड स्मार्टफोनले छाेटाे समयमै लामो यात्रा पार गरिसकेको छ । लगभग एक दशक पहिलेको समयलाई नै फर्केर हेरौं न, त्यो बेला स्मार्टफोन ५१२ एमबी र्‍याम र सिंगल-कोर वा डुअल-कोरका साथ पाइन्थ्यो ।

बहुचर्चित ब्राण्ड एप्पलले स्मार्टफोनका लागि १ जीबीभन्दा धेरै र्‍याम आवश्यक ठानेन । साथै र्‍यामको एड्भान्समेन्टलाई समेत बेवास्ता गरिरह्यो । यसैबीच सामसङ जस्ता एन्ड्रोइड डिभाइस निर्माता उच्च क्षमता प्रदर्शन गर्न लागिपरे ।

सन् २०१३ को सेप्टेम्बरमा सार्वजनिक भएको ‘सामसङ ग्यालेक्सी नोट थ्री’ ३ जीबी र्‍यामका साथ बजारमा सार्वजनिक भयो । त्यस समयमा मिडरेन्जका स्मार्टफोनहरू ५१२ एमबीदेखि १ जीबी र्‍यामसम्ममा उपलब्ध थिए । यसैबीच फ्ल्यागशिप डिभाइसमा भने २ जीबीसम्म र्‍याम उपलब्ध थियो ।

‘नोट थ्री’ एन्ड्रोइड स्मार्टफोनमा र्‍याम क्षमताको लागि एक प्रमुख कोशेढुङ्गा नै सावित भयो । तर त्यसपश्चात सीईएस २०१५ मा असुसले आफ्नो ‘जेनफोन टु’ लाई ४ जीबी र्‍यामका साथ नयाँ छलाङ मार्‍याे ।

त्यसपछि ६ जीबी र्‍याम सहितको ‘वान प्लस सिक्स’ ले र्‍यामको दुनियाँमा खास धक्का दिएको मान्न सकिन्छ । किनकि त्यसपछि नै स्मार्टफोनहरूमा उच्च क्षमताको र्‍यामले लोकप्रियता प्राप्त गरेको हो ।

र्‍याममा अर्को महत्वपूर्ण कदम थियो ८ जीबी र १२ जीबीको । पछिल्लो समय त ब्रण्डहरूले १६ जीबी र्‍यामको सिमाना तोडेको देखिन्छ । यो प्रक्रियालाई अझ रोचक बनाउन विभिन्न स्मार्टफोन ब्रान्डहरूले भर्चुअल र्‍यामसमेत ल्याएका छन् ।

अधिकतम र्‍यामले प्रभावशाली हुने सिद्धान्तसहित भर्चुअल र्‍यामको रणनीति अघि सारिएको हो । यद्यपि प्रयोगकर्तामाझ एन्ड्रोइड स्मार्टफोनमा कति र्‍याम आवश्यक छ भन्ने प्रश्न भने जिवितै छ ।

आजभोलि १८ देखि ३० हजार रूपैयाँ मूल्यका स्मार्टफोनमा ४ जीबीदेखि ६ जीबी र्‍याम उपलब्ध छ । जबकि प्रिमियम (महंगा) फाेनहरू सजिलै ८ जीबी र १२ जीबी र्‍याम क्षमतामा सार्वजनिक भइरहेका छन् ।

यसैबीच, गेमिङका लागि १६ जीबी र्‍याम र १८ जीबी र्‍याम लोकप्रिय छ । अब कुरा गरौँ २०२२ मा तपाईंलाई चाहिने र्‍यामको उपयुक्त मात्रा कति हो भन्ने विषयमा ।

धेरै संख्याको र्‍याम खोज्नु अहिलेको प्रवृत्ति नै बनेको छ । झट्ट हेर्दा धेरै जीबी र्‍याम भएको स्मार्टफोन नै हरकोहीको रोजाइमा पर्छ । स्मार्टफोनमा धेरै र्‍याम खोज्नु राम्रो कुरा पनि हो । जे होस् दुई वर्ष या सोभन्दा बढी समय एन्ड्रोइड स्मार्टफोनको मज्जा लिन सकिने र्‍याम त चाहिन्छ नै ।

र्‍याम भनेको एप्लिकेसन प्रोसेसर, तिनीहरूको डेटा, र अपरेटिङ सिस्टमद्वारा प्रयोग हुने मेमोरी हो । हिजोआज ४ जीबी र्‍याम मिडरेन्ज स्मार्टफोनका लागि न्यूनतम मान्न सकिन्छ । यद्यपि, कम मूल्यका केही एन्ड्रोइड स्मार्टफोन २ जीबी र्‍यामका साथ उपलब्ध छन् ।

तपाईंको स्मार्टफोनमा जतिसुकै र्‍याम भएपनि सीमित हुन्छ । र यसलाई निरन्तर रुपमा व्यवस्थापनको आवश्यकता पर्छ । तपाईंले एन्ड्रोइडमा नयाँ एप सुरु गर्दा यसले मेमोरीको एक भाग ओगट्छ । सामान्य एप र गेमले केही सय एमबी अर्थात मेगाबाइट प्रयोग गर्दछन् ।

गत वर्षदेखि स्मार्टफोन ब्रान्डहरू ‘भर्चुअल र्‍याम’ को ट्रेन्डमा गइरहेका छन् । यसले भर्चुअल रूपमै र्‍यामको मात्रा विस्तार गर्दछ । यो पुरानै अवधारणा हो, जुन कम्प्युटरमा वर्षौंदेखि रहिआएको छ ।

यो पुरानो ‘स्वाप’ (SWAP) मेमोरी भएपनि स्मार्टफोनका लागि निकै राम्रो मानिन्छ । जसमा, मेमोरीको सबैभन्दा पुरानो र कम प्रयोग हुने पेजहरू स्वाप स्टोरेजमा लेखिन्छन्, र तिनीहरूले र्‍याममा ओगटेको मेमोरी खाली हुन्छ । एक पटक स्वाप-आउट मेमोरी आवश्यक भएपछि, सुरक्षित मेमोरी पेजहरू स्टोरेजबाट फिर्ता हुन्छ र र्‍याममा कपि गरिन्छ ।

यसले एप र डेटा स्टोरेज गर्न उपलब्ध र्‍यामको मात्रालाई बढाउँछ । यद्यपि, यसको सीमा भनेको यो र्‍यामको तुलनामा धेरै ढिलो हुनु हो । तर फेरि, यहाँ स्मार्टफोनका फाइदामध्ये एक आउँछ- तिनीहरूसँग धेरै कम्प्युटरभन्दा छिटो स्टोर गर्नसक्ने मोड्युल छन् । यो भौतिक र्‍याम जत्तिकै छिटो नभएपनि कम्प्युटरहरू भन्दा छिटो छ ।

तपाईंका लागि कति जीबी र्‍याम भएको स्मार्टफोन उपयुक्त ?

यदि तपाईंले स्मार्टफोनको इतिहास केलाउनुभयो भने १२८ एमबी, ५१२ एमबी, १ जीबी र २ जीबीको र्‍याम हुने गर्दथ्यो । यदि तपाईंले ती दिन सम्झिनु भएको छ भने त्यतिखेर आउने एप्लिकेसनहरु पनि निकै हलुका आकारका हुने गर्दथे ।

समय बदलिँदै गएसँगै प्रविधि पनि विकास हुँदै गयो । र्‍यामको क्षमता बढ्दै गयो । एपहरु अपग्रेड हुँदै गए । पहिले हलुका एप हुने गर्दथे, अब त्यही ठाउँमा भारी एपहरु आउन थालेका छन् ।

तपाईंले ख्याल गर्नुभयो भने आजकलका एपहरु ५० एमबी, १०० एमबी, ५०० एमबीका हुने गर्दछन् । अझ गेमहरु हेर्नुभयो भने त झन् एक जीबी, १.५ जीबी र २ जीबी आकारका हुने गर्दछन् ।

जब कि यी एपहरु सुरुवाति दिनमा केही केबी अथवा एमबी साइजमा हुने गर्दथे । यसरी समयसँगै सबैकुरा बदलिँदै गएको छ ।

त्यसैले अहिलेको समयमा तपाईंले स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने कमसेकम ४ जीबी र्‍याम त हुन जरुरी छ । स्मार्टफोन उद्योगमा ४ जीबी र्‍याम एउटा स्ट्याण्डर्डको रुपमा स्थापित हुँदै गएको छ ।

त्यसैले स्मार्टफोन निर्माता कम्पनीहरु पनि कम्तिमा ४ जीबी र्‍याम भएका स्मार्टफोनहरु ल्याउनेतर्फ जोड दिइरहेका छन् । ता कि एपहरु सहजै ओपन गर्न सकियोस् ।

प्रयोगकर्ताले सहजै मल्टी टास्किङ अर्थात एकसाथ फोनमा दुई वा दुई भन्दा बढी एपहरु प्रयोग गर्न सकुन् । अझ अर्को कुरा गेमिङका लागि प्रयोग गर्न चाहन्छन् भने सामान्य रुपमा त्यसलाई पनि खेल्न सकुन् ।

यसबाट सामान्य प्रयोगकर्ताको अनुभव नराम्रो नहोस् भन्नेतर्फ स्मार्टफोन निर्माता कम्पनीको ध्यान गइरहेको हुन्छ । चाहे त्यो सामान्य एप प्रयोग गर्ने कुरा होस् । 

यदि तपाईंले ख्याल गर्नुभएको छ भने स्मार्टफोन निर्माता कम्पनीले एउटै स्मार्टफोनलाई अलग अलग र्‍याम भेरियन्टका साथ बजारमा ल्याइरहेका हुन्छन् । ता कि प्रयोगकर्ताहरु आफ्नो आवश्यकता र मागको आधारमा आफ्ना लागि उपयुक्त विकल्प छनौट गर्न सकुन् ।

यदि तपाईंले इन्ट्री लेभलका वा भनौं दश हजार आसपासका मोबाइलहरु हेर्नु भयो भने त्यस्ता फोनहरुमा २ जीबी वा ३ जीबी र्‍याम रहेको हुन्छ । र्‍यामको यो आकार त्यस्ता प्रयोगकर्ताका लागि उपयुक्त मानिन्छ, जो फिचर वा बारफोनबाट स्मार्टफोनमा शिफ्ट भइरहेका हुन्छन् ।

उदाहरणका लागि तपाईंका बुबा, आमा वा हजुर आमा तथा हजुर बुबा हुनसक्नुहुन्छ । उहाँहरुका लागि यी स्मार्टफोन उपयुक्त मानिन्छन् ।

यी फोनहरु सामाजिक सञ्जाल, ह्वाट्सएप, युट्युव आदिका लागि पर्याप्त हुन्छन् । तर यहाँनिर हामी तपाईंलाई २ जीबी र्‍यामयुक्त स्मार्टफोन सकेसम्म प्रयोग नगर्न सुझाव दिन्छौं ।

किनभने यस्ता फोनहरुले ह्याङ भएर तपाईंलाई दिक्क पार्न सक्छन् । इन्ट्री लेभलकै स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ भने कम्तिमा ३ जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्नुहोस् ।

२ जीबी र्‍यामलाई बिर्सिदिनुहोस् । यदि तपाईं स्मार्टफोनमा फेसबुक, युट्युव, ट्वीटर, ह्वाट्सएप, इन्स्टाग्राम जस्ता एप्लिकेसनका साथै सामान्य किसिमका गेमिङ एप प्रयोग गर्न चाहुनुहुन्छ भने आजको समयमा कम्तिमा ४ जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्नुहोस् ।

तर तपाईं सामान्य गेमिङभन्दा माथि अर्थात हेभी गेमिङ गर्न चाहनुहुन्छ अथवा भनौं तपाईंलाई गेमिङको निकै शौख छ र एक जीबी/डेढ जीबी साइजका गेम खेल्नुहुन्छ भने फोनमा कमसे कम छ जीबीको र्‍याम हुन जरुरी छ ।

यदि तपाईं त्यसभन्दा पनि झन् हार्डकोर गेमिङमा रुची राख्नुहुन्छ भने तपाईंको रोजाई गेमिङ स्मार्टफोन नै हो । त्यस्तो अवस्थामा ८ जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्ने कोसिस गर्नुहोस् ।

तर कुनै पनि स्मार्टफोनमा र्‍याम मात्रै महत्वपूर्ण र पर्याप्त हिस्सा होइन । अर्थात ठूलो आकारको र्‍याम हुँदैमा मात्र तपाईंले स्मार्टफोनमा फास्ट पर्फर्मेन्स अनुभव गर्न पाउनुहुन्छ भन्ने ग्यारेन्टी छैन ।

त्यसैले तपाईंको फोनमा र्‍यामका अलावा तपाईंको फोनमा पावरफुल प्रोसेसर र अप्टिमाइजेसन समेत हुन जरुरी छ । यी सबैको संयोजनबाटै तपाईंलाई फोनमा राम्रो पर्फर्मेन्स अनुभूत गर्ने मौका मिल्ने गर्दछ ।

उदाहरणको रुपमा यहाँनिर आईफोनलाई नै हेरौं । आईफोनमा ३ वा ४ जीबी र्‍यामको प्रयोग गरिएको हुन्छ । तर यस्ता आईफोनले पर्फर्मेन्सको मामिलामा १० वा १२ जीबी र्‍याम भएका एन्ड्रोइड फोनलाई टक्कर दिने क्षमता राख्दछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२